बैशाख १२, २०८१ बुधबार

स्वदेशमा उत्पादित वस्तुहरुको प्रयोग बढाउन मन्त्री गुरुङकाे जाेड



काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले स्वदेशमै उत्पादित वस्तुहरुको प्रयोग बढाउनुपर्नेमा जोड दिएकी छन् । शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नवौं नेपाल वुड अन्तर्राष्ट्रिय एक्स्पोको उद्घाटन गर्दै मन्त्री गुरुङले नेपालमा हुने विकास निर्माणका कार्यमा स्वदेशमै उत्पादित वस्तुहरुको प्रयोग बढाउनुपर्ने बताएकी हुन् ।

उनले नेपालमै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको विभिन्न काष्ठसम्बन्धी सामग्रीहरुको उत्पादन बढीरहेको र नेपालमै काष्ठ सम्बन्धी उद्योगहरु बढाउनुपर्ने बताइन् । काष्ठसम्बन्धी उद्योग र यस्ता मेलाहरुलाई सहुलियत दिइरहेको पनि बताइन् ।

उनले नेपालमा काष्ठसम्बन्धी बनेका सामग्रीहरुको प्रचार नेपालमा हुन नसकेकाले आगामी दिनमा यसको प्रचार बढाउँदै लैजानुपर्ने बताइन् ।

‘हामीले चाहने हो भने असम्भव केही छैन भन्नेकुरा यहाँबाट प्रमाणित हुन्छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसारको डिजाइन,तयारी गर्न सकिन्छ भन्नेकुरा देखिन्छ । इण्डस्ट्रीहरु नेपालमा पनि खडा गर्नुपर्छ भन्नेकुराको राज्यले गर्नुपर्ने सहयोग गरिरहेको छ । तर पनि प्रभावकारी भने भइसकेको अवस्था होइन । आगामी दिनको लागि यस्ता इण्डस्ट्रीहरुलाई केही सहुलियत, सुविधा दिनुपर्छ भने पनि पहिलो चरणमा दिनुपर्छ । पूर्वाधार विकासको काममा स्वदेशमै उत्पादित वस्तुहरुको प्रयोग बढाउनुपर्छ । निर्णय पनि गरेका छौँ’, उनले भनिन्, ‘तर अहिले नै प्रचारमा पनि र सूचनामा पनि नजिक पुग्न सकिएको छैन । नेपालमै उत्पादन भएको वस्तुको विश्वसनियतामा आम मानिसमा पुर्याउन सकेका छैनौँ । अन्तर्राष्ट्रिय सामग्री नै बढी खोज्ने कुराले यहाँका उत्पादित वस्तुमा बढी बजार र पहिचान पाउन सकेको छैन । भवन निर्माण गर्दा सकेसम्म नेपालमै उत्पादित वस्तु सामग्रीहरुको प्रयोग गर्नुपर्ने नीति बनाएका छाँै ।’

मन्त्री गुरुङले नेपाली बजारमा अन्तर्राष्ट्रिय सामग्री नै बढी खोज्ने कुराले स्वदेशमा उत्पादित वस्तुमा बढी बजार र पहिचान पाउन नसकेको बताइन् । मेला तीन दिनसम्म सञ्चालन हुनेछ ।