बैशाख २४, २०८१ सोमबार

‘लिटिल बुद्ध’को नामले चिनीने तपस्वी रामबहादुर बम्जन पक्राउ, दुईतलाबाट हाम फालेर पनि भाग्न पाएनन्



काठमाडाैं । आनीहरुलाई यौन शोषण र बेपत्ता बनाएको आरोपमा ‘लिटिल बुद्ध’को नामले चिनीने तपस्वी रामबहादुर बम्जन पक्राउ परेका छन्। लामो समयदेखि सम्पर्कविहीन भएका उनलाई काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको सिआइबी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन्।

बम्जनले पूर्वी नेपालका विभिन्न ठाउँमा आश्रम खोल्ने र त्यहाँ पुगेका आनीहरुलाई बलात्कार गर्ने तथा बेपत्ता बनाएको आरोप छ । उनीविरूद्ध पाँच परिवारले उजुरी दिएका थिए।

आफ्नो आश्रममा बस्दै आएका तीन जना युवती र दुई युवालाई बेपत्ता पारेको उजुरी विभिन्न प्रहरी कार्यालयमा दर्ता भएको थियो। तीमध्ये एक जनालाई उनले सिन्धुपाल्चोकस्थित आश्रममा हत्या गरी शवसम्म बेपत्ता पारेको थियो।

उनीविरूद्ध परेको बलात्कारको जाहेरी सर्लाही जिल्ला अदालतमा विचाराधीन छ। बमजनले आफ्नो विभिन्न आश्रममा हत्या, हिंसाको दुष्चक्र चलाएको समेत आरोप लाग्ने गरेको छ।

भाग्दा भाग्दै यसरी परे पक्राउ :

बमजन केही समयदेखि काठमाडौंमा बस्दै आएको भन्ने सूचना प्राप्त भएपछि डिएसपी धर्मराज भण्डारीको नेतृत्वको टोली बमजनलाई पक्राउ गर्न खटिएको थियो।

उक्त टोलीले अनुसन्धान र निगरानी गरी मंगलबार बुढानिलकण्ठको हात्तीगौडास्थित घरमा रहेको तथ्य प्रहरीले पत्ता लगायो। त्यसपछि बुढानिलकण्ठस्थित रहेको एक घरमा डिएसपी भण्डारीको टोली पुग्यो।

जसै टोली पुग्यो बमजनले आफूलाई पक्राउ गर्न आएको भेउ पाए। उनी उक्त घरमा आफ्नी श्रीमती र छोराछोरीसँग बस्दै आएका थिए। उनकी श्रीमती लगायतले पनि प्रहरीलाई रोक्न कोसिस गरे।

बमजन घरको दोस्रो तलामाथि बसिरहेका थिए। प्रहरी आएको थाहा पाएपछि बमजनले बरण्डाबाट हामफालेको सिआइबी स्रोतले जानकारी दियो।

उनी भाग्न लागेपछि प्रहरीले उनलाई बाहिरै पक्राउ गरेको स्रोतले जनाएको छ।