बैशाख २४, २०८१ सोमबार

अब भारतीय दूतावासको सहयोगमा बाँदर व्यवस्थापन : सभापति राणा



काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले बाँदर व्यवस्थापनका लागि भेटेरेनरी डाक्टरहरूलाई तालिम दिइने बताएकी छन्।

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधबारको बैठकमा बोल्दै सभापति राणाले बाँदरले किसानहरूलाई सताइरहेको पनि बताइन्।

किसानहरुको बाली नष्ट गर्ने बाँदरलाई कसरी व्यवस्थापन गर्ने भनेर भारतीय राजदूतलाई पत्र लेखेको पनि बताएकी छन्।

‘नेपालका १० जना भेटेरेनरी डाक्टरहरुलाई तालीम र स्काउटहरुलाई तालीमको लागि तयारी गर्छौं,’ उनले भनिन्, ‘तालिमका लागि भारतको हिमाचल प्रदेशमा पठाउने तयारी छ।’

उनले भारतीय दूतावासको सहयोगमा बाँदर व्यवस्थापनका लागि १० जना भेटेरेनरी डाक्टरहरुलाई तालीम दिने तयारी भइरहेको जानकारी दिइन्।

उनले कृषिमा सरकारले ५ प्रतिशत बजेटको व्यवस्था गर्नुपर्ने बताइन्।

‘सरकारले कृषिमा ५ प्रतिशत बजेट दिनुपर्छ भनेर समितिबाट प्रयास गर्छौं,’ उनले भनिन्, ‘बाँझो जमिनको विषयमा केही गर्न सकिन्छ कि भनेर गाँजामा अनुसन्धान गर्नेहरुले प्रस्ताव गरिरहेका छन्, समितिमा त्यसको लागि समय दिन्छौं।’

(न्युज एजेन्सी नेपाल)