बैशाख १२, २०८१ बुधबार

त्रिशूलीमा बिहान खसेको गाडी भेटियो, मान्छे फेला परेनन्



चितवन । त्रिशूली नदीमा खसेको गाडी फेला परेको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट खसेको बीआर९जीसी१४३० नम्बरको सेतो रङको सिंगल क्याब बोलेरो जीप त्रिशूलीमा फेला परेको हो ।

आज बिहान पौने पाँच बजेको समयमा स्थानीले पानीभित्र बत्ति बलेको देखेपछि दुर्घटना भएको हुन सक्ने भन्दै प्रहरीलाई खबर गरेका थिए । त्यसपछि खोजीका लागि खटेको प्रहरी टोलीले सडकबाट करिब ८५ मिटर तल त्रिशूली नदिभित्र जीप फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले बताए ।

त्रिशूली नदीमा जीप खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारको गोताखोरको टोली परिचालन गरिएको छ ।

उक्त जीपमा कति यात्रु सवार थिए भन्ने यकिन हुन नसकेको उनले बताए ।