बैशाख १७, २०८१ सोमबार

क्यान्सर पीडित गाउँपालिकाकी उपाध्यक्ष जोशीको निधन



बझाङ — बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष मैना जोशीको निधन भएको छ । उनको बुधबार राति बाजुराको वाइस्थित आफ्नै निवासमा मृत्यु भएको पालिकाले जनाएको छ ।

२०७४ सालमा उनको पाठेघरको क्यान्सरको अपरेसन भएको थियो । गत भदौमा विरामी भएकी उनको सुरुमा किड्नीमा क्यान्सर देखिएको थियो । किड्नीको शल्यक्रिया गरे पनि क्यान्सरको संक्रमण अन्य अंगमा फैलिएका कारण उनको उपचार सम्भव नभएको गाउँपालिका अध्यक्ष भरत रोकायाले बताए ।

स्वामीकार्तिक खापर गाउँपालिका –४ वाइ निवासी जोशी २०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन । मृतक जोशीका श्रीमान्, दुई छोरी र दुई छोरा छन् । जोशीको निधनले गाउँपालिकामा अपुरणीय क्षति पुगेको बताउँदै बाजुरा जिल्लाले नै जुझारु महिला नेतृ गुमाएको अध्यक्ष रोकायाले बताए ।