बैशाख १५, २०८१ शनिबार

यी हुन राष्ट्रिय सभामा निर्वाचित ७ महिला, कसको संर्घर्ष कति ?



राष्ट्रिय सभा सदस्यमा ७ जना महिला निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनबाट महिला कोटामा ७ जना महिला सदस्य निर्वाचित भएका हुन् ।

कोशी प्रदेशबाट नेकपा (एमालेकी) रुक्मिणी कोइराला, मधेशबाट जनता समाजवादी पार्टी (जसपा)की पूजा चौधरी, वाग्मतीमा काँग्रेसकी विष्णु देवी पुडासैनी, गण्डकीबाट माओवादीकी मनरूपा शर्मा, लुम्बिनीमा काँग्रेसकी विष्णु देवी सापकोटा, कर्णालीबाट नेकपा एसकी सावित्री मल्ल र सुदूरपश्चिमबाट माओवादीकी रेणु चन्द विजयी भएका हुन् ।

उपमेयरकाे टिकट नपाएकी रूक्मिणीकाे राष्ट्रिय सभा सदस्यमा सरप्राइज जीत 
नेकपा एमालेको पुरानो कार्यकर्ता रुक्मिणी कोइराला खेती किसानी गर्दागर्दै एकैपटक साँसद बनेकी छन् । पार्टीको कामसँगै उनी गर्छिन् । जिल्ला हुँदै प्रदेश कमिटीले उम्मेदवारको रुपमा सिफारिस गर्दा उनलाई राष्ट्रियसभामा उम्मेदवार बन्ने पत्यार नै लागेको थिएन । तर केन्द्रबाट एक्कासी नागरिकता माग भएपछि उनले सोधीखोजी गरिन् ।

उम्मेदवार बनाउने निर्णय भएपछि उनी उत्साहित भइन् । पार्टीले न्याय गरेको अनुभूति गरिन् । ‘केन्द्रबाट नागरिकता मागेपछि उम्मेदवार हुने जानकारी पाएँ’, निर्वाचित भएपछि उनले भनिन्, ‘सुरुदेखि निरन्तर लागेको लाग्यै थिएँ, बल्ल मेरो पालो आएछ जस्तै लाग्यो ।’

सत्तारुढ गठबन्धन दल भन्दा मतभार कमजोर भएका कारण नेताहरुले जित्ने आकलन गरेका थिएनन् । तर उनले चुनाव जितिन् । चुनाव जितेपछि कोइरालाले राष्ट्रिय सभामा महिलाका मुद्दालाई उठान गर्ने बताइन् ।

‘२०३२–३३ सालदेखि सिकेका कुरा त्यसका अनुभवका आधारमा राष्ट्रिय सभामा आवाज उठाउँछु’, उनले भनिन्,‘त्यहाँका मुद्दाहरु अध्ययन गरेर आवाज उठाउँछु ।’

राष्ट्रिय सभा उम्मेदवार बनेपछि एकाएक चर्चामा आएकी कोइरालाको परिवार तत्कालिन मालेसँग जोडिएको छ । उनका जेठाजू स्वर्गीय ओम कोइराला जननेता मदन भण्डारीका नजिकका सहकर्मी थिए ।

भूमिगतकालमा उनको घर पार्टीको सेल्टर थियो । उनको घरमा नेताहरुको आउजाउ बाक्लो हुन्थ्यो । ‘भूमिगत कालमा उहाँको घर पार्टीका नेता बस्ने सेल्टर थियो’, नेकपा एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारी भन्छन् ,‘उहाँहरुले २०३३ तिरदेखि नै पार्टी राजनीतिमा निरन्तर हुनुहुन्थ्यो ।’ पार्टीमा निरन्तर जोडिएर संघर्ष गरेका कारण जिल्ला र प्रदेश कमिटीको सिफारिसका आधारमा कोइरालाले टिकट पाएकी थिइन्।

२०७९ को स्थानीय तह निर्वाचनमा उनी इटहरी उपमहानगरपालिकाको उपप्रमुखको दाबेदार थिइन् । तर पार्टीले क्लस्टर मिलाउन भन्दै संगीता चौधरीलाई टिकट दियो । चौधरी उपमेयरमा निर्वाचित भइन् । टिकट नपाएपनि कोइराला पार्टी अभियानमा लागिरहिन् । स्थानीय तह निर्वाचनमा उनका देवर माधव कोइरालाले इटहरी उपमहानगरपालिका–२ को वडा अध्यक्ष जिते ।

कोइराला गत असोजमा सम्पन्न एमाले कोशी प्रदेश अधिवेशनमा प्रदेश सदस्यको उम्मेदवार पनि थिइन्, तर पराजित भइन् । पराजित कोइरालालाई प्रदेश कमिटीले प्रदेशको सल्लाहकार बनाएको थियो । अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज पनि हुन् । उनका दुई छोरा र दुई छोरी छन् ।

प्रदेशमा पराजित चौधरी राष्ट्रिय सभा सदस्य 
मधेशबाट जनता समाजवादी पार्टी (जसपा)की पूजा चौधरी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी छन् । चौधरीलाई प्रदेशसभाका ७६ सांसद र पालिकाका २०५ प्रमुखरउपप्रमुखले मतदान गरेका थिए ।

गएको मङ्सिर ४ गते भएको प्रदेश सभा सदस्य चुनावमा रौतहट निर्वाचन क्षेत्र नम्बर–३ ९क० बाट उम्मेदवार बन्नुभएको चौधरी पराजित भएकी थिइन ।
रौतहटकी चौधरी जसपाका कार्यकारिणी सदस्य गोविन्द चौधरीकी छोरी हुन् ।

पञ्यायतबिराेधी हुँदा गाविस अध्यक्ष छाडेकी पुडासैनीकाे राष्ट्रिय सभामा पाइला
वागमती प्रदेशबाट महिला क्लस्टरमा कांग्रेसकी विष्णुदेवी पुडासैनीले ६६२२ मतभार पाएर निर्वाचित भएकी छन् । कागेश्वरी नगरपालिका वडा नंं ३ भद्रवास स्थानीय घर भएकी पुडासैनी सानैदेखि सामाजिक क्षेत्रमा अग्रसर छिन् । अंगुरबाबु जोशीको प्रेरणाले आफू सामाजिक कार्यमा लागेको उनको भनाई छ । उनले पञ्चायतकालदेखि नै आफूलाई सामाजसेवामा समर्पित गर्दै आएकी छन ।

वि।सं। २०३३ सालमा गाउँफर्क अभियानमा वडा नंं ९ को वडाध्यक्ष रहेर काम गरेकी उनी वि।सं। २०४९ सालमा गाविस अध्यक्ष रही काम गरिसकेकी छन । तर पञ्चायती व्यवस्थाको विरोधी भएकै कारणले उनले आफ्नो वडाअध्यक्ष पदबाट राजीनामा दिएकी थिइन ।

६८ वर्षीय विष्णुदेवी पुडासैनीले धुम्रपान र मदिरारहित समाज हेर्न चाहन्छिन् । असल शासन अमनचैनको प्रत्याभूति दिलाउने कार्यमा सदैव सबैलाई उत्प्रेरित गर्दै आएकी छन ।

जनयुद्धदेखि राष्ट्रियसभासम्म शहीद पत्नी मनरूपाको यात्रा

सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार मनरूपा शर्मा गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी छन्। बिहीबार अपराह्न सकिएको मतगणनामा शर्मा ३६६० मतभारसहित निर्वाचित भएकी हुन्। विसं २०६४ को संविधानसभा चुनावमा नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीसँग झिनो मतले पराजित पर्वतकी मनरुपा शर्मा त्यसयताका हरेक चुनावमा समानुपातिकतर्फ बन्दसूचीमा परे पनि ‘सांसद’ बन्ने अवसर मिलेन ।

कुश्मा नगरपालिका-१० की शर्मालाई पार्टीले विसं २०७० को दोस्रो संविधानसभा चुनाव, विसं २०७४ र विसं २०७९ को प्रदेशसभा चुनावमा उनलाई समानुपातिकतर्फ बन्दसूचीमा राखेको थियो । तर जनप्रतिनिधिका रुपमा संसद् छिर्ने सपना १६ वर्ष बित्दासमेत पूरा हुन सकेन । गत वर्षको चुनावमा शर्मा समानुपातिकबाट गण्डकी प्रदेशसभा सदस्य बन्ने चर्चा चले पनि पार्टीले अर्को जिल्लाबाट महिला उम्मेदवारलाई छनोट गरेको थियो । पटकपटकको प्रयासका बाबजुद संसदीय यात्रा तय गर्न नसके पनि उनी निराश भने भइनन् ।

विसं २०६० देखि पार्टी र सङ्गठनका विभिन्न जिम्मेवारी सम्हाल्दै हाल माओवादी केन्द्र पर्वतको जिल्ला संयोजक रहेकी शर्मा यसपटक भने पार्टीले राष्ट्रियसभा सदस्य निर्वाचित भएकी छन् ।

एक त महिला अर्कातिर सहिद परिवारको सदस्यका हिसाबले राष्ट्रियसभामा सदस्य बन्न पाउनु आफ्ना लागि गौरवको विषय भएको बताइन् । ‘हिजो जनयुद्धका कठिन र सङ्घर्षपूर्ण दिनमा जसरी समाज रुपान्तरणको अभियानमा लागियो, अब त्यस्तै ऊर्जाका साथ नयाँ भूमिकामा आफूलाई उभ्याउने प्रण गरेकी छु ’, उनले भनिन् ।

शर्माका श्रीमान् विजय सुवेदी ‘विकास’को तत्कालीन जनयुद्धका क्रममा २०६१ मङ्सिर १७ गते हत्या भएको थियो । सुवेदी तत्कालीन माओवादीको सांस्कृतिक फाँटमा क्रियाशील थिए । ४३ वर्षीया शर्मा यसअघि अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको जिल्ला अध्यक्ष हुँदै पार्टीको जिल्ला तहको नेतृत्वमा आएकी हुन् । उनी २०७४ अघि माओवादी केन्द्रको केन्द्रीय महाधिवेशन आयोजक कमिटिको सदस्यसमेत थिइन् ।

महिला हिँसा बिरुद्ध सशक्त ‘विष्णु दिदी’
राष्ट्रिय सभा सदस्यमा लुम्बिनीबाट महिलातर्क कांग्रेसकी विष्णुकुमारी सापकोटा निर्वाचित भएकी छन् । सापकोटाले ५४३५ मत भार प्राप्त गरी विजयी हुँदा नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरेकी थिइन् ।

सापकोटा न्याय र महिला हिँसा बिरुद्ध गुल्मीमा सबैकी ‘विष्णु दिदी’ भनेर चिनिन्छिन् । कारण, न्यायका लागि प्रहरी प्रशासनमा पुग्ने उनै, महिला हिँसा बिरुद्ध बोल्ने उनै, न्यायका लागि महिलाको हात समाएर अड्डा अदालत पु्रयाने उनै, न्यायका लागि मेलमिलापकर्ता पनि उनै।

केही समय पहिला गुल्मी सदरमुकाममा महिला हिँसा बिरुद्धका कुनै छलफल र कार्यक्रम हुँदैनथे, जहाँ ‘विष्णु दिदी’को उपस्थिती नभएको होस् । पछिल्लो पटक राजनीतिक सक्रियता र स्वास्थ्यका कारण पनि जब उपस्थिती पातलियो, ‘विष्णु दिदी’को अभाव महसुस भयो । जिल्लामा महिला हिँसा बिरुद्धकी खम्बा उनै ‘विष्णु दिदी’ अर्थात विष्णु सापकोटा अहिले नीति निर्माण गर्ने थलो राष्ट्रिय सभा सदस्यको लागि निर्वाचनमा होमिएकी छन् । र, अब फरक भूमिकामा रहेपनि साथ खोज्ने दिदीबहिनीहरुलाई आफ्नो अभाव हुन नदिने प्रतिवद्धता जनाउँछिन् । ‘भूमिका फरक भएपनि म दिदीबहिनीहरूसँगै छु र अझै सक्रियताका साथ सँगै हुने छु’, उनी भन्छिन्।

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ मा विसं २०२३ असार १० गते मुसिकोट नगरपालिका–८ मा जन्मिएकी सापकोटा महेन्द्र आर्दश माध्यमिक विद्यालयका कक्षा ८ मा पढ्दै गर्दा नेविसंघको सदस्य बनेर राजनिति प्रबेश गरेकी थिइन् । २०४२ सालदेखि नेविसंघको सक्रिय सदस्य बनेर राजनीतिमा क्रियाशिल हुँदै नेपाली काँग्रेसकाे राजनीतिमा हाेमिएकी हुन् । उनी पद्मकन्या क्याम्पसमा नेविसंघ सदस्य, पाटन संयुक्त क्याम्पसको इकाई समापति हुँदै २०५५ सालमा सोही क्याम्पसकीे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्यमा निर्वाचित भएकी थिइन् ।

२०५८ सालमा नेविसंघको छात्रा विभागअन्तर्गत केन्द्रीय सदस्य भएकी उनी ०६३ सालपछि भने जिल्ला फर्केर  राजनीति गरेकी हुन् । ०६३ देखि ०७४ सम्म जिल्लामा महिला संघको सभापति, ०७४ सालमै नेपाली कांग्रेसको १३ महाधिवेशनबाट जिल्ला सचिव बनेकी सापकोटा १४ औं महाधिवेशनबाट कांग्रेस लुम्बिनी प्रदेशको कार्यसम्पादन समिति सदस्य छन् ।

परिवर्तनका पक्षमा ०४६ साल, ०६२/०६३ सालमा चलेको आन्दोलनमा सक्रियताका साथ होमिएकी उनी जिल्लामा महिलाको निस्वार्थ समाजसेवीका रुपमा पनि पहिचान बनाइन् ।

महिलाहरुले बिबाह गरेर पुरुषको घरमा जाने र उनीहरुले भनेको मान्नुपर्छ भन्ने समयमा महिलाहरुलाई राजनिति गर्न निकै कठिन अवस्था थियो । सबै त्यागेर राजनीतिमा सक्रिय सापकोटाले निरन्तर महिला र पुरुष बिचको बिभेद र हिँसा बिरुद्ध बुलन्द आबाज उठाउँदै आइन् ।

राजनीतिका अलाबा जिल्लामा रहेका एक दर्जन सामाजिक संघ संस्थमा आवद्ध सापकोटा आफनो निहित स्वार्थमा भन्दा पनि आम नागरिकको हितमा हुनुपर्छ भन्ने मान्यता राख्छिन् ।

नेपाली काँग्रेसले ०७४ को स्थानीय तह निर्वाचनमा मुसिकोट नगरपालिकाबाट उपप्रमुखमा उम्मेदवारी दिएर पराजित बनेकी सापकोटालाई त्यसपछिका चुनावहरुमा धेरैले जनप्रतिनिधीको रुपमा देख्ने अपेक्षा गरेका थिए । तर उम्मेदवारी नपाएपछि विष्णु दिदीमाथी अन्याय भएको आवाज समेत उठ्यो । तर राजनीतिमा सक्रिय भएपछि एक दिन पालो आउँदो रहेछ, यसपटक नेपाली काँग्रेसले राष्ट्रिय सभा सदस्यको लागि टिकट दियो र विजयी भइन् ।

संविधानसभा सदस्यदेखि राष्ट्रियसभा सदस्यसम्म चन्दको यात्रा
सुदूरपश्चिम प्रदेशको बैतडीकी रेणु चन्द केन्द्रीय सदस्य हुन् । उनी अखिल नेपाल महिला संघ क्रान्तिकारीकी उपाध्यक्ष समेत हुन् ।

२०५२ सालदेखि माओवादीको पार्टी राजनीतिमा सक्रिय चन्द २०५७ सालदेखि सशस्त्र विद्रोहमा लागिन् । २०५८ सालमा माओवादी केन्द्र जिल्ला कमिटी बैतडीको सदस्य बनेकी चन्दले २०६४ सालमा बैतडीबाट संविधानसभा सदस्यमा प्रत्यक्ष निर्वाचन जितेकी थिइन् ।

२०७० सालमा समेत बैतडीबाट चुनाव लडेकी चन्द कांग्रेसका नरबहादुर चन्दसँग पराजित भइन् । २०७९ को चुनावमा पनि उनको नाम समानुपातिक पद्धतिको सूचीमा थियो । त्यही नाम फिर्ता लिएर उनी राष्ट्रियसभाको उम्मेदवार बन्न पुगिन् ।

अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष समेत रहेकी उनी सुदूरपश्चिम प्रदेश इन्चार्ज पनि हुन् । राष्ट्रियसभा सदस्यमा पहिलो नम्बरमा नाम सिफारिस भएकी चन्दले गठबन्धनमा भागबण्डाका क्रममा माओवादीलाई महिला कोटा पर्दा राष्ट्रियसभाको स्थान सुरक्षित भएको ठानेकी थिइन् ।

राष्ट्रियसभा सदस्यमा विजयी भएपछि चन्दले आफ्नो जितलाई गठबन्धन र संविधान बचाउने शक्तिको जितको रुपमा लिएको बताएकी छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचित भएपछि चन्दले भनिन्, ‘नीति, निर्माणमा भएका कमीकमजोरी सच्याउने, निगरानी गर्ने र सुदूरपश्चिम प्रदेशसँग सम्बन्धित विकास, निर्माणका कुरा उठाउनेछौं ।’ चन्दले समानुपातिक निर्वाचन प्रणालीबाट फेरि संसद छिर्ने प्रयास असफल भएपछि राष्ट्रियसभामा जाने योजना बनाएकी नेताहरु बताउँछन् ।

नेकपा एसबाट राष्ट्रियसभामा एक्ली महिला सदस्य
राष्ट्रियसभा चुनावमा कर्णाली प्रदेशबाट सत्ता गठबन्धन समर्थित नेकपा एकीकृत समाजवादीकी उम्मेदवार सावित्री मल्ल निर्वाचित भएकी छिन् । उनले ३७२२ मतभार प्राप्त गरेकी छिन् ।

दैलेखकै नारायण नगरपालिकाका उपप्रमुख सावित्री गत स्थानीय तहको निर्वाचनमा नगर प्रमुखमा उठ्ने तयारीमा थिइन् । पहिलो स्थानीय चुनावमा नेकपा ‐एमाले० बाट उपप्रमुख बनेकी मल्ल हाल नेकपा ‐एकीकृत समाजवादी० मा आवद्ध छिन् ।

महिला भएकै कारण सकभर कार्यकारी भूमिका नपाउने र पाएको जिम्मेवारी तथा क्षेत्राअधिकारबाट पनि वञ्चित हुनुपर्ने अवस्था रहेको उनको भनाइ छ । ‘यसको अन्त्यका लागि आगामी चुनावमा महिलाहरूले प्रमुख पदमै उम्मेदवारी दिनुपर्ने छ’, उनी भन्छिन् ।