बैशाख ११, २०८१ मंगलबार

दुईजना पुरुषलाई खुकुरीले हानेर भिरबाट फ्याक्ने महिला २० वर्षपछि पक्राउ



सङ्खुवासभा। खुकुरी प्रहारबाट दुई जना पुरुषको हत्या गरेको अभियोगमा अदालतबाट कैद सजाय भएकी एक महिला २० वर्षपछि पक्राउ परेकी छन् । २० वर्षको सजाय तोकिएपछि फरार रहेकी संखुवासभाकाे साबिक सिद्धकाली गाविस–२ बस्ने ३५ वर्षीया कैली तामाङलाई इलाका प्रहरी कार्यालय केराबारी मोरङले पक्राउ गरेकाे हो ।

तामाङले २०६० फागुन १० गते स्थानीय मङ्गल लिम्बु र योगेन्द्र दाहाललाई खुकुरी प्रहार गरेर हत्या गरी गाउँ नजिकैको बतासे भन्ने भिरबाट फ्याकेर फरार रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।  कर्तव्य ज्यान कसुरमा सङ्खुवासभा जिल्ला अदालतले २०६६ साल फागुन १२ गते  २० वर्ष कैद सजाय ठहर गरेको थियो ।

घटनापछि फरार भएका तामाङ विभिन्न समयमा विभिन्न ठाउँमा लुकीछिपी बस्दै आएकोमा पछिल्लो समय मोरङको केराबारीमा रहेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

तामाङलाई बिहीबार जिल्ला अदालत चैनपुरमा उपस्थित गराइएपछि कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय खाँदबारी पठाइएको प्रनाउ श्रेष्ठले जानकारी दिए ।