बैशाख १५, २०८१ शनिबार

समाजसेवाले कहलिएकी सबैकी साझा ‘विष्णु दिदी’, अब राष्ट्रिय सभा सदस्य



काठमाडाैं । ‘विष्णु दिदी’ गुल्मेली महिलाहरुको साझा दिदी । महिला हिँसाको घटना भयो झ्याप्प सम्झना आउँछ ‘विष्णु दिदी’ । कोही महिला न्यायका लागि सदरमुकाम पुगे, सरोकारवालाले पहिला सम्झन्छन् ‘विष्णु दिदी’ । महिला बालबालिकाका कुनै कार्यक्रम आयोजना हुने भए, ‘विष्णु दिदी’ । महिला हिँसा बिरुद्धका अभियान कार्यक्रमहरु हुँदैछन्, सोधिन्छ, ‘कहाँ छिन विष्णु दिदी’ ?

न्याय र महिला हिँसा बिरुद्ध सबैकी ‘विष्णु दिदी’ उनको कर्मले भएकी हुन् । कारण, न्यायका लागि प्रहरी प्रशासनमा पुग्ने उनै, महिला हिँसा बिरुद्ध बोल्ने उनै, न्यायका लागि महिलाको हात समाएर अड्डा अदालत पुरयाउने उनै, न्यायका लागि मेलमिलापकर्ता उनै।

केही समय पहिला गुल्मी सदरमुकाममा महिला हिँसा बिरुद्धका कुनै छलफल र कार्यक्रम हुँदैनथे, जहाँ ‘विष्णु दिदी’को उपस्थिती नभएको होस् । पछिल्लो पटक राजनीतिक सक्रियता र स्वास्थ्यका कारण पनि जब उपस्थिती पातलियो, ‘विष्णु दिदी’को अभाव महसुस भयो । जिल्लामा महिला हिँसा बिरुद्धकी खम्बा उनै ‘विष्णु दिदी’ अर्थात विष्णुकुमारी सापकोटा अहिले नीति निर्माण गर्ने थलो राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी छन् ।

सत्ता गठबन्धनकाे तर्फबाट महिला काेटामा उम्मेदवारी दिएकी नेपाली काँग्रेसकी सापकोटाले ५४३५ मत भार प्राप्त गरी विजयी हुँदा नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरेकी थिइन् ।  सरल जीवनशैली अपनाउन रुचाउने सापकोटा कांग्रेसभित्र मात्र होइन बाहिर पनि बौद्धिक र क्षमतावानको पहिचान बनाएकी नेतृ हुन् ।

र, अब फरक भूमिकामा रहेपनि हिँसा र अन्याय बिरुद्ध दिदीबहिनीहरुलाई न्याय दिलाउने मात्रै होइन, नीति निर्माण गरेर सहयोग पुरयाउने छिन् । जुन भूमिकामा रहेपनि महिलाहरुलाई आफ्नो अभाव हुन नदिने प्रतिवद्धता जनाउँछिन् । ‘भूमिका फरक भएपनि म दिदीबहिनीहरूसँगै छु र अझै सक्रियताका साथ सँगै हुने छु’, उनी भन्छिन् ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ मा विसं २०२३ असार १० गते मुसिकोट नगरपालिका–८ मा जन्मिएकी सापकोटा महेन्द्र आर्दश माध्यमिक विद्यालयका कक्षा ८ मा पढ्दै गर्दा नेविसंघको सदस्य बनेर राजनिति प्रबेश गरेकी थिइन् । २०३६ साल मा नेविसंघको गुल्मी जिल्ला सदस्य भएकी उनी निरन्तर रुपमा २०४६ सालसम्म जिल्ला सदस्य भएर काम गरेकी थिइन्।  उनी पद्मकन्या क्याम्पसमा नेविसंघ सदस्य, पाटन संयुक्त क्याम्पसको इकाई समापति हुँदै २०५५ सालमा सोही क्याम्पसकीे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्यमा निर्वाचित भएकी थिइन् ।

२०५८ सालमा नेविसंघको छात्रा विभागअन्तर्गत केन्द्रीय सदस्य भएकी उनी ०६३ सालपछि भने जिल्ला फर्केर  राजनीति गरेकी हुन् । ०६३ देखि ०७४ सम्म जिल्लामा महिला संघको सभापति, ०७४ सालमै नेपाली कांग्रेसको १३ महाधिवेशनबाट जिल्ला सचिव बनेकी सापकोटा १४ औं महाधिवेशनबाट कांग्रेस लुम्बिनी प्रदेशको कार्यसम्पादन समिति सदस्य छन् ।

परिवर्तनका पक्षमा ०४६ साल, ०६२/०६३ सालमा चलेको आन्दोलनमा सक्रियताका साथ होमिएकी उनी जिल्लामा महिलाको निस्वार्थ समाजसेवीका रुपमा पनि पहिचान बनाइन् ।

महिलाहरुले बिबाह गरेर पुरुषको घरमा जाने र उनीहरुले भनेको मान्नुपर्छ भन्ने समयमा महिलाहरुलाई राजनिति गर्न निकै कठिन अवस्था थियो । सबै त्यागेर राजनीतिमा सक्रिय सापकोटाले निरन्तर महिला र पुरुष बिचको बिभेद र हिँसा बिरुद्ध बुलन्द आबाज उठाउँदै आइन् ।

राजनीतिका अलाबा जिल्लामा रहेका एक दर्जन सामाजिक संघ संस्थमा आवद्ध सापकोटा आफनो निहित स्वार्थमा भन्दा पनि आम नागरिकको हितमा हुनुपर्छ भन्ने मान्यता राख्छिन् ।

नेपाली काँग्रेसले ०७४ को स्थानीय तह निर्वाचनमा मुसिकोट नगरपालिकाबाट उपप्रमुखमा उम्मेदवारी दिएर पराजित बनेकी सापकोटालाई त्यसपछिका चुनावहरुमा धेरैले जनप्रतिनिधीको रुपमा देख्ने अपेक्षा गरेका थिए । तर उम्मेदवारी नपाएपछि विष्णु दिदीमाथी अन्याय भएको आवाज समेत उठ्यो । तर राजनीतिमा सक्रिय भएपछि एक दिन पालो आउँदो रहेछ, यसपटक नेपाली काँग्रेसले सापकोटालाई राष्ट्रिय सभा सदस्य बनाएर न्याय गरेकाे छ ।

याे पनि पढ्नुहाेस् : गुल्मेली महिलाकी साझा ‘विष्णु दिदी’ : राष्ट्रिय सभाकी उम्मेदवार