बैशाख १६, २०८१ आईतबार

गुल्मेली महिलाकी साझा ‘विष्णु दिदी’ : राष्ट्रिय सभाकी उम्मेदवार



काठमाडाैं । ‘विष्णु दिदी’ गुल्मेली महिलाहरुको साझा दिदी । महिला हिँसाको घटना भयो झ्याप्प सम्झना आउँछ ‘विष्णु दिदी’ । कोही महिला न्यायका लागि सदरमुकाम पुगे, सरोकारवालाले पहिला सम्झन्छन् ‘विष्णु दिदी’ । महिला बालबालिकाका कुनै कार्यक्रम आयोजना हुने भए, ‘विष्णु दिदी’ । महिला हिँसा बिरुद्धका अभियान कार्यक्रमहरु हुँदैछन्, सोधिन्छ, ‘कहाँ छिन विष्णु दिदी’ ?

न्याय र महिला हिँसा बिरुद्ध सबैकी ‘विष्णु दिदी’ उनको कर्मले भएकी हुन् । कारण, न्यायका लागि प्रहरी प्रशासनमा पुग्ने उनै, महिला हिँसा बिरुद्ध बोल्ने उनै, न्यायका लागि महिलाको हात समाएर अड्डा अदालत पुर्याउने उनै, न्यायका लागि मेलमिलापकर्ता पनि उनै।

केही समय पहिला गुल्मी सदरमुकाममा महिला हिँसा बिरुद्धका कुनै छलफल र कार्यक्रम हुँदैनथे, जहाँ ‘विष्णु दिदी’को उपस्थिती नभएको होस् । पछिल्लो पटक राजनीतिक सक्रियता र स्वास्थ्यका कारण पनि जब उपस्थिती पातलियो, ‘विष्णु दिदी’को अभाव महसुस भयो । जिल्लामा महिला हिँसा बिरुद्धकी खम्बा उनै ‘विष्णु दिदी’ अर्थात विष्णु सापकोटा अहिले नीति निर्माण गर्ने थलाे राष्ट्रिय सभा सदस्यको लागि निर्वाचनमा होमिएकी छन् । र, अब फरक भूमिकामा रहेपनि साथ खोज्ने दिदीबहिनीहरुलाई आफ्नो अभाव हुन नदिने प्रतिवद्धता जनाउँछिन् । ‘भूमिका फरक भएपनि म दिदीबहिनीहरूसँगै छु र अझै सक्रियताका साथ सँगै हुने छु’, उनी भन्छिन्।

नेपाली कांग्रेसबाट टिकट पाएकी सापकोटा सत्ता गठबन्धनको  साझा उम्मेदवार हुन् । गुल्मीकाे मुसिकोट नगरपालिका वडा नम्बर ७ मा जन्मेकी सापकोटा २०३६ सालमा महेन्द्र आर्दश माध्यमिक विद्यालयका कक्षा ८ मा पढ्दै गर्दा नेविसंघको सदस्य बनेर राजनिति प्रबेश गरेकी थिइन् । २०४२ सालदेखि नेविसंघको सक्रिय सदस्य बनेर राजनीतिमा क्रियाशिल रहेकी सापकोटा नेविसंघको इकाइ सदस्य हुँदै ०४८ मा जिल्ला सदस्य बनेकी थिइन ।

गाउँमै कक्षा १० सम्मकोअध्ययन सकेर उच्च शिक्षा अध्ययन गर्न काठमाडौंमा पुगेकी उनी ०५३ मा पाटन संयुक्त क्याम्पस इकाइ सभापति, ०५५ मा स्ववियू सदस्य बनेकी थिइन । ०५८ सालमा नेविसंघको केन्द्रिय सदस्य बनेकी उनी ०६३ सालपछि भने जिल्ला फर्केर नेपाल महिला संघको जिल्ला अध्यक्ष बनीन । परिवर्तनका पक्षमा ०४६ साल, ०६२/०६३ सालमा चलेको आन्दोलनमा सक्रियताका साथ होमिएकी उनी जिल्लामा महिलाको निस्वार्थ समाजसेवीका रुपमा पनि पहिचान बनाइन् ।

महिलाहरुले बिबाह गरेर पुरुषको घरमा जाने र उनीहरुले भनेको मान्नुपर्छ भन्ने समयमा महिलाहरुलाई राजनिति गर्न निकै कठिन अवस्था थियो । सबै त्यागेर राजनीतिमा सक्रिय सापकोटाले निरन्तर महिला र पुरुष बिचको बिभेद र हिँसा बिरुद्ध बुलन्द आबाज उठाउँदै आइन् । नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि हुँदै ०७४ सालमा गुल्मीको पार्टी सचिव बनेकी सापकोटा हाल हाल नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य हुन्।

राजनीतिका अलाबा जिल्लामा रहेका एक दर्जन सामाजिक संघ संस्थमा आवद्ध सापकोटा आफनो निहित स्वार्थमा भन्दा पनि आम नागरिकको हितमा हुनुपर्छ भन्ने मान्यता राख्छिन् ।

नेपाली काँग्रेसले ०७४ को स्थानीय तह निर्वाचनमा मुसिकोट नगरपालिकाबाट उपप्रमुखमा उम्मेदवारी दिएर पराजित बनेकी सापकोटालाई त्यसपछिका चुनावहरुमा धेरैले जनप्रतिनिधीको रुपमा देख्ने अपेक्षा गरेका थिए । तर उम्मेदवारी नपाएपछि विष्णु दिदीमाथी अन्याय भएको आवाज समेत उठ्यो । तर राजनीतिमा सक्रिय भएपछि एक दिन पालो आउँदो रहेछ, यसपटक नेपाली काँग्रेसले राष्ट्रिय सभा सदस्यको लागि टिकट दियाे । राजनीतिमा इमान्दारहरूकाे पालाे

माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रचारमा लुम्बिनी प्रदेशका जिल्लाहरुमा प्रचारमा रहेकी सापकोटा सबैको साझा जनप्रतिनिधी बनेर हरेर नागरिकको पक्षमा काम गर्ने बताउँछिन् ।