बैशाख ८, २०८१ शनिबार

बागलुङको ईमेज सहकारीकी कोषाध्यक्ष लक्ष्मी पक्राउ, अध्यक्ष ढोरपाटनका मेयरबिरूद्ध पक्राउ पुर्जी



काठमाडौँ — बचतकर्ताको रकम हिनामिना गरेर सञ्चालकहरु फरार रहेको बाग्लुङ्गको ईमेज वचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिकी कोषाध्यक्ष २७ वर्षीया लक्ष्मी सेन सुनार पक्राउ परेकी छिन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले निसीखोला गाउँपालिका-३ स्थायी घर रहेकी कोषाध्यक्ष सुनारलाई बिहीबार ललितपुरको धोबीघाटबाट पक्राउ गरेको हो ।

सहकारीमा एक हजार पाँच सय ५० भन्दा धेरै बचतकर्ताको १ अर्ब ६० करोड र विभिन्न बैंकहरुको ३५ करोड गरी करिब २ अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा अदालतमा मुद्दा परेपछि सहकारीका अध्यक्ष ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सहित केही सञ्चालकहरू फरार छन् ।

पीडित बचतकर्ताले १ हजार ५ सय ५० जना सर्वसाधारणले दायर गरेको मुद्दामा बागलुङ जिल्ला अदालतले गत जेठ २४ गते नै पक्राउ पुर्जी जारी गरेको थियो । उक्त जाहेरीको आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा संगठित ठगीको मुद्दा दायर गरेका छन् । उनीहरुविरुद्ध अदालतले जेठमै पक्राउ पुर्जी जारी गरेको थियो । मुद्दाकै आधारमा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् भने अध्यक्ष नेपाली सहितका ८ जना बैसाख ६ गतेदेखि नै तरलता अभावले बन्द भएको भन्दै सूचना टाँसेर फरार भएका थिए ।

सीआइबीले कोषाध्यक्ष सुनारलाई बिहीबार पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको सीआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

यसैबीच सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीलाई पक्राउ गर्न प्रहरीले ‘रेड कर्नर नोटिस’ निकालेको छ ।

सहकारीको रकम हिनामिनामा नेपाली र उनकी श्रीमतीसहित ८ जनाविरुद्ध मुद्दा चलिरहेको छ । तर अध्यक्ष नेपाली भने गत बैशाखदेखि नै फरार छन् । उनै नेपाली र उनकी श्रीमती छेला नेपालीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले संसारभरका प्रहरीहरुको अन्तरराष्ट्रिय प्रहरी सञ्जाल ९इन्टरपोल०मार्फत् ुरेड कर्नर नोटिसु जारी गरेको हो ।

अध्यक्ष नेपाली विदेशमा लुकेर बसेको आशंका भएको भन्दै सहकारीका पीडितहरुले रेड कर्नर नोटिस जारी गर्नुपर्ने माग गरेका थिए । बागलुङका डिएसपी मदन केसीले नेपाली दम्पत्तीलाई पक्राउ गर्न इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको बताए । ‘अब उनी कुन देशमा छन् भन्ने थाहा भयो भने त्यही देशको प्रहरीले खोजी गरेर नेपाललाई सुर्पुदगी गर्छ,ु डिएसपी केसीले भने, ‘उनको लोकेसन ट्रयाक गर्नुपर्ने आवस्यक छ ।’

सहकारीका बचतकर्ताको १ अर्ब ६० करोड रुपैयाँ नेपालीले हिनामिना गरेका छन् । त्यस बाहेक नेपालीले ग्लोबल आइएमई बैक, राष्ट्रिय सहकारी बैंक र गरिमा बिकास बैंकको गरी झण्डै ३५ करोड ऋण समेत लिएको देखिएको छ ।