बैशाख १६, २०८१ आईतबार

प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट विभुषित अधिकृतलाई ६ महिना कैद



काठमाडौं । घुससहित रंगेहात पक्राउ परेकी मालपोत अधिकृत लेखा पनेरु महत घुस प्रकरणमा दोषी ठहर भएकी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएकी ताप्लेजुङ मालपोतकी तत्कालीन अधिकृत लेखालाई विशेष अदालतले दाेषी ठहर गरेकाे हाे ।

विशेष अदालतले शुक्रबार लेखालाई ६ महिना कैद, एक लाख ५० हजार रुपैयाँ बिगो र बिगोबमोजिम जरिवाना हुने सजाय सुनाएको छ ।

पक्राउ पर्नुअघि महतलाई २०७९ बैशाख १ गते संविधान दिवशका दिन राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट विभुषित गरेकी थिइन् । महतले बाबुका नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिएबापत सेवाग्राहीबाट घूस रकम लिएकाे अभियाेग लागेकाे थियाे ।