बैशाख १६, २०८१ आईतबार

जापानकी राजकुमारीले अप्रिलदेखि रेडक्रसमा काम गर्ने



टाेकियाे । जापानका सम्राट् नारुहितोकी एक्ली सन्तान राजकुमारी आइकोले विश्वविद्यालयबाट स्नातक गरेपछि एप्रिल महिनादेखि जापानको रेडक्रस सोसाइटीमा काम सुरु गर्ने भएकी छन्।

नयाँ भूमिकाको विस्तृत विवरण प्रस्ट भइसकेको छैन तर काम गरेका बेला पनि उनले राजपरिवारको औपचारिक भूमिकाहरू भने निर्वाह गरिरहने बताइएको छ।

यी २२ वर्षीया राजकुमारी उत्तराधिकारीको लाइनमा छैनन् किनभने जापानी कानुनले पुरुषलाई मात्रै राजगद्दीमा उत्तराधिकारको अनुमति दिन्छ।

जापानमा संसारकै धेरै वर्ष पुरानो वंश परम्परामा आधारित राजसंस्था छ। एउटा विज्ञप्तिमा राजकुमारी आइकोले रेडक्रसमा उनको “सदैव नै रुचि रहेको” बताएकी छन्।

उनको रोजगारदाता रेडक्रसले “राजकुमारीले सजिलोसँग काम गरून् भनेर आफूले पूर्ण तयारी गर्ने” जनाएको छ।

जापानमा रेडक्रसको शाही परिवारसँग घनिष्ठ सम्बन्ध छ। पहिलेका साम्राज्ञीहरूले मानार्थ अध्यक्षका रूपमा काम गर्दै आएका छन्।

गत अक्टोबरमा रेडक्रसले आयोजना गरेको सन् १९२३ मा टोक्यो भूकम्पपछिको राहत क्रियाकलापमाथिको एक प्रदर्शनीमा राजकुमारी आइकोले आफ्ना आमाबुबासँग रेडक्रसको भ्रमण गरेकी थिइन्।

पछिल्ला वर्षहरूमा उनले जापानमा प्राकृतिक विपदका पीडित र जीवित रहन सफल मानिसहरूप्रति सहानुभूति व्यक्त गरेकी थिइन्।

अहिले उनी गाकुशुइन विश्वविद्यालयमा द फ्याकल्टी अफ लेटर्स मा जापानी भाषा र साहित्यको पढाइको अन्तिम वर्षमा छिन्।

राजकुमारीहरूलाई जापानको आम वृत्तमा निकै सम्मान दिइन्छ र कैयौँले उनको नयाँ भूमिकाको स्वागत गरेका छन्।

‘करिअर महिला’ की छोरी हुन आइको
राजकुमारी आइकोकी आमा साम्राज्ञी मासाकोलाई ‘करिअर महिला’का रूपमा चिनिन्छ। हार्वर्ड र अक्सफर्ड विश्वविद्यालय पढेकी साम्राज्ञी पूर्वकूटनीतिज्ञ हुन् र उनले धेरै भाषा जानेकी छन्।

उनी सन् १९९३ मा जापानी सिंहासनका पहिलो दाबेदारसँग बिहे गर्ने दोस्रो सर्वसाधारण महिला बनेकी थिइन्।

उनीभन्दा अगाडि पूर्व साम्राज्ञी मिचिको पहिलो सर्वसाधारण महिला थिइन्।

तर बिहे भएपछि उनले के पुरुष उत्तराधिकारीलाई जन्म देलिन् त भन्ने अडकलबाजीहरूबारे बहस भएको थियो।

जापानका युवराज नारुहितोकी एक्ली सन्तान राजकुमारी आइको सिंहासनमा बस्न पाउने छैनन् किनभने उनी महिला हुन्।

सन् २००१ मा राजकुमारीको जन्म हुँदा धेरै उत्सव मनाइएको थियो तर उत्तराधिकारको मुद्दा हल हुन सकेन।

जापानी सरकारले त्यसबेलै महिलालाई सिंहासनमा चढाउन अनुमति दिने कानुन बदलिएला कि भन्नेबारे बहस सुरु गरेको थियो।

पाँच वर्षपछि सम्राट् नारुहितोका भाइले एक बालक जन्माए र तिनै राजकुमार हिसाहितोले उत्तराधिकारीको सङ्कट टारे।

तर तत्कालीन युवराज्ञी मासाकोमाथि दबाब परेको प्रस्ट हुन्थ्यो किनभने उनी एक दशकभन्दा बढी समयदेखि सार्वजनिक कार्यक्रममा अनुपस्थित रहने गरेकी थिइन्।

सन् २००४ मा त्यस बेलाका युवराज नारुहितोले पत्रकारहरूलाई असामान्य रूपमा कडा प्रतिक्रिया दिँदै उनकी पत्नीले महलको जीवन अपनाउने कोसिसमा आफैँलाई निकै थकाएकी बताएका थिए।

त्यस बेला दरबारले मासाको “एडजस्टमेन्ट डिसअर्डर”बाट पीडित भएको बतायो जसलाई व्यापक रूपमा मानसिक अवसादको सन्दर्भ ठानिएको थियो।

बीबीसी