असार ३२, २०८१ सोमबार

तरकारी खेतीले फर्कायो विदेशीएका श्रीमान्



गुल्मी । थोरै खेतबारी, आम्दानीको स्रोत केही थिएन । घरखर्च चलाउन र छोराहरुलाई पढाउनकै लागि परदेश पस्नु होमनाथ ढकालको बाध्यता थियो । विदेशबाट धेरथोर धन कमाएर घरधान्ने उहाँको सोँच थियो । तर, अर्काको देश न हो भनेजस्तो राम्रो भएन ।

यता घरमा श्रीमती लक्ष्मीलाई पनि उस्तै समस्या । घरमा छोराहरु हुर्काउन एक्लै, त्यसमाथि विदेश गएका श्रीमान्को कमाइले घरधान्न धौ धौ भएपछि खर्च चलाउनकै लागि तरकारी खेती गरेर बेच्न थाल्नुभयो । व्यवसायिक पनि के भन्नु, विवाह भएर आएदेखि नै लक्ष्मी घरमै उब्जाएको तरकारी मात्र खानुहुन्थ्यो । त्यही तरकारी अलि धेरै उब्जाएर बिक्री पनि गर्न थाल्नुभयो ।

त्यही उत्पादन बृद्धि हुँदै गएर अहिले लक्ष्मी व्यवसायिक तरकारी कृषक बन्नुभएको छ भने उहाँका श्रीमान् विदेशबाट फर्केर लक्ष्मीलाई सघाइरहनुभएको छ । यो कथा होइन, वास्तविकता हो सत्यवती ५ नेटाका लक्ष्मी ढकालको । अहिले ८ रोपनी खेतबारीमा लटरम्म तरकारी फलेको छ । २५ घार माहुरी छ । लक्ष्मीलाई बिक्रीका लागि भ्याई नभ्याई छ ।
‘श्रीमान् विदेश हुँदा घरमा एक्लै हुँदा पनि भैंसीबाख्रा तरकारीखेती गर्ने गर्थें, ४ वर्ष भयो व्यवसायिक गर्न थालेको’, लक्ष्मी भन्नुहुन्छ, ‘अर्काको देशमा कति गर्नुहुन्छ, घरमै आउनुस्, आफ्नै देशमा केही हुन्छ भनेर अहिले श्रीमान्लाई पनि बोलाएँ । राम्रै छ ।’

तरकारी खेतीबाट मात्रै अहिले सबै खर्च कटाएर मासिक ५० हजार भन्दा धेरै बचत हुने गरेको उहाँको भनाई छ । ‘गाउँमा खर्च पनि हुन्छ, कटाउनु पर्यो । छोराहरुले पढ्नु पनि पर्‍याे’, उहाँले भन्नुभयो, ‘अहिले राम्रो हुँदै छ । ६ लाख जति वार्षिक बचत हुन्छ ।’

ढकालले उत्पादन गरेको टमाटर, बन्दा, काउली, सिमी, आलु लगाएतको सबै मौसमी र बेमौसमी तरकारी भार्षे, जुनियाँ, हँसरा, खैरेनी लगाएतका बजारमा जान्छ । त्यो पनि फुटकरमा होइन, होलसेल । ‘हामीकहाँ अर्डर आउँछ अनि हामी गाडीमा पठाउँछौं,’ उहाँ भन्नुहुन्छ, ‘यो सिजनमा टमाटरको माग धेरै भयो, पु¥याउनै मुस्किल परिरहेको छ ।’

पहिला पनि करेसाबारीमा तरकारी खेती गर्ने लक्ष्मी विवाह गरेर आएदेखि आफूले कहिल्यै तरकारी किनेर खानु नपरेको र त्यसैलाई अहिले व्यवसायिक रुप दिएको बताउनुहुन्छ । ‘१६ वर्षमा यो घरमा विवाह गरेर आएँ त्यो दिनदेखि तरकारी किनेर खाइएन, अहिले त्यसैलाई व्यवसायिक रुपमा गरेकी हुँ’, उमेरले ४० टेकेकी लक्ष्मी भन्नुहुन्छ, ‘अहिले आफैले खानका लागि गरेको तरकारीबाट राम्रो आम्दानी हुँदा खुसी छु ।’

लक्ष्मीका श्रीमान् पहिला मलेसिया र पछि दुवई बस्नुभयो । ठीकठीकै कमाइ भएपनि घरपरिवार टाढाटाढा हुँदा निकै नरमाईलो भयो । विदेशमा राम्रो कमाइ पनि भएन । त्यसपछि लक्ष्मीले गरेको धेरथोर तरकारी खेती बढाउने बिचार गर्नुभयो । ‘श्रीमान् पहिला मलेसिया हुनुहुन्थ्यो । पछि उहाँ दुवई जानुभयो तर कमाइ भएन, उहाँ बिरामी पनि पर्नुभयो’, लक्ष्मी भन्नुहुन्छ, ‘श्रीमान् विदेशमा दुःख पाउने आफूले घरमा दुःख बिमार हुँदा समस्या भोग्ने भएपछि व्यवसायिक तरकारी खेती सुरु गरे र श्रीमान्लाई पनि बोलाएँ । आम्दानी पनि बढेको छ, खुसी छु ।’

व्यवसायिक खेती त गर्ने, तर नयाँ प्रविधि, रोग, किरा, मल बिउको बारेमा जानकारी कसरी लिने कुनै अत्तोपत्तो थिएन । सामान्य साक्षर लक्ष्मी व्यवसायिक तरकारी खेतीको कुनै तालिम लिएर यसमा दक्ष हुनुभएको भने होइन । तर
जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ भयो, सिक्ने ठाउँ भेटियो युट्युब । आफ्नो ठाउँको हावापानीसँग मिल्दोजुल्दो भारतका ग्रामीण क्षेत्रहरुको व्यवसायिक खेती युट्युबमा हेरेर नयाँ प्रविधि सिकेको उहाँको भनाई छ ।

रोगकिरा लाग्दा, नयाँ नयाँ बीउबिजनको लागि भने गाउँपालिकाको पशुसेवा शाखामा परामर्श लिनुहुन्छ । ‘हामीले कुनै समस्या आयो भने पालिकामा नारायण सरसँग सल्लाह लिन्छौं,’ उहाँले भन्नुभयो, ‘कहिलेकाहीँ उहाँहरु आउन नभ्याउँदा, हामी पालिकामा जाने काम परेको बेला रोग लागेको बिरुवाको पातहरु टिपेर आफै लैजान्छौं उहाँले बताइदिनुहुन्छ ।’ तरकारीसँगै उहाँहरु माहुरी पालन पनि गर्नुभएको छ । औषधीका लागि पहिलादेखि घरमा रहेका १/२ घार माहुरी
बढाएर श्रीमान् विदेशबाट फर्केपछि २५ घार पुगेको छ । त्यो पनि परम्परागत मुढे घारमा पालिएको छ । ‘औषधी खानका लागि मह खोज्नेहरुले आधुनिक घारको महको त्यति विश्वास पनि नगर्ने, फेरी हाम्रो माहुरी आधुनिक घारमा बस्न पनि मानेन’, उहाँ भन्नुहुन्छ, ‘त्यसैले मुढेघारमै पालेको, राम्रो भएको छ ।’

उहाँहरुलाई महको बजारको पनि चिन्ता छैन । किनकी उत्पादित मह थाइल्याण्ड जान्छ । ‘एकजना छिमेकी थाइल्याण्ड हुनुहुन्थ्यो, उहाँले मह कतै नबेच्नु यहाँ बिक्री गर्ने व्यवस्था मैले मिलाउँछु भनेर उतै लैजान सुरु गर्नुभएको छ’, लक्ष्मीले भन्नुभयो, ‘अहिले सुरुको वर्ष ३० किलो उत्पादन भयो र उतै पठायौँ, अब उत्पादन पनि बढ्ला नि ।’ अहिले लक्ष्मी तरकारी खेती र श्रीमान् माहुरीको रेखदेख गर्नुहुन्छ ।

धेरै वर्ष विदेश भोगेर फर्केका लक्ष्मीका श्रीमान् होमनाथ पनि अहिले निकै खुसी हुनुहुन्छ । नबुझेर, नजानेर विदेश पस्नुपरेको तर बुझेपछि आफ्नै गाउँठाउँमा बसेर राम्रो आम्दानी गर्न सकिने उहाँको भनाई छ । ‘विदेशमा त सारै दुःख पाएको हो सर मैले । बिरामी भइयो । भनेको बेला घर आउन छुट्टी पनि पाइँदैन । मालिकको दवावमा बस्नुपर्ने अर्काको देशमा गएपनि हामी गुलामी गर्ने हो’, उहाँ भन्नुहुन्छ, ‘त्यहाँ जति खटेर मिहिनेत गर्ने हो भने, विदेशको भन्दा दुगुना होइन चौगुना कमाइ यहाँ हुने रहेछ ।’

ढकाल परिवारका दुईभाई छोराहरुमध्ये एकजना स्नातक र अर्को कक्षा १२ पढ्दै छन् । अध्ययन सकेपछि छोराहरुलाई पनि राम्रो सँग बुझेर व्यवसायिक तरकारी खेतीमै लगाउने उहाँको सोँच छ । ‘हाम्रो इच्छा त हो सँगै बस्न पाइथ्यो, कमाइ पनि राम्रो हुन्थ्यो । तर, हामीले भनेर मात्र पनि भएर उनीहरुको इच्छाको कुरा हो’, लक्ष्मी भन्नुहुन्छ, ‘जे भएपनि विदेश भन्नेकुरा मलाई राम्रो लाग्दैन ।’

आफ्नै इच्छाशक्ति र मिहिनेत भएपछि उहाँलाई अहिले सरकारी अनुदान सहयोगको त्यती खाँचो पनि परेको छैन । आफ्नो रोजीरोटीको बाध्यताले सुरु गरेको व्यवसायिक कृषि हो, त्यसैले जता खाँचो पर्छ टर्दै जान्छ । तर कृषि फर्म अलि ठूलो हुँदै जाँदा किसानका लागि अनिवार्य औजार र प्रवृधिमा सरकारले पनि ख्याल गरे थप सुबिधा पुग्ने गरेको उहाँको अनुभव छ । ‘पोहोर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर परेको हो । अहिले काम गर्ने मान्छे नपाइने समयमा त्यो हाते ट्याक्टर बरदानै भएको छ हामीलाई’, उहाँ भन्नुहुन्छ, ‘ठूलो सहयोग भन्दा पनि कामलाई सजिलो बनाउने र बढी उत्पादन लिने प्रविधि बेला बेला सरकारले दियो भने राम्रो हुँदो रहेछ, त्यसमा पक्कै हेर्नुहुन्छ भन्ने आशा छ ।’

गाउँमा पानीको समस्या नभएकोले अहिलेसम्म पिउनका लागि ल्याएको पानीबाट सिँचाई हुँदै आएको छ । कुलो पनि ल्याउन सकिने भएकोले त्यो व्यवस्थित भयो भने पानी प्रसस्तै हुने हुँदा त्यसका लागि गाउँलेहरुले सामुहिक रुपमा निवेदन दिएका छन् ।

देश परदेश सबै भोगेका ४४ वर्षीय होमनाथ र दुःख बिमारमा एक्लै संघर्ष गरेकी लक्ष्मीका लागि श्रीमान्श्रीमती सँगै बसेर आफ्नै खेतबारीमा तरकारी खेतीबाट राम्रो आम्दानी गरेमा निकै खुसी लागेको छ । ‘धेरै दिदीबहिनीहरु बुढाको विदेशको कमाइ देखेर शहरतिर लागेका छन् तर त्यो त कतिञ्जेल हो टुंगो नहुँदो रहेछ’, लक्ष्मी भन्नुहुन्छ, ‘एक्लाएक्लै हुँदा मान्छेहरु कोरोना लागेको बेला कति विदेशै मर्नुपर्‍याे, कतिले गाउँमै सहयोग पाएनन्, त्यसैले सकेसम्म सँगै बसेर व्यवसाय गर्नुस भन्ने म सबैलाई सुझाब दिन चाहन्छु ।