तानसेन– शनिबार शहर–बजारमा धूमधामसँग अन्तर्राष्ट्रिय महिला दिवसका कार्यक्रम चल्दै थिए। बगनासकाली गाउँपालिका–२ घोरबन्दकी सुन्तली कुमाल भने बालुवा बोक्न व्यस्त थिइन्। उनलाई दिवसबारे थाहा थिएन। काम सक्ने चटरो मात्र थियो।
उनको हरेक दिन यसरी ज्याला मजदुरीमै बित्ने गर्छ। अकाशिएको महँगीसँगै छोराछोरीको पढाइ खर्च र बिहानबेलुकाको हातमुख जोड्ने जोहो गर्न दैनिक रूपमा काममा निस्कनु उनको बाध्यता हो। झिसमिसेमा उठेर घरको काम र त्यसपछि ज्यालादारीमा निस्किन्छिन्। बिहान र दिउँसोको चर्को घाममा इँटा, ढुंगा, बालुवा र माटोको काममा व्यस्त हुन्छिन्।
दैनिक ज्यालादारीमा काम गर्ने र त्यही ज्यालाले बिहानबेलुकाको गर्जो टार्दै आएको उनले सुनाइन्। तानसेनको भगवती टोलमा घर निर्माणका लागि बालुवा उठाउँदै गरेको अवस्थामा भेटिएकी कुमालले भनिन्, “महिला दिवस हामीजस्ता दुःखीका लागि कागलाई बेल पाक्यो, हर्ष न विस्मात। यो त राम्रो कमाउने र रमाउनेका लागि होला।”
यस्तै डुम्रेकी रमिता विकको पनि उस्तै दैनिकी छ। तानसेनमा तरकारी र फलफूल बेचेर उनले दैनिकी चलाइरहेकी छन्। “बिहानै गाउँमा गई तरकारी ल्याउँछिन्। खाना पकाएर छोरालाई खुवाउँछिन्। अनि डोको बोकेर निस्किन्छु,” शनिबार नारायणस्थानमा तरकारी बेच्दै उनले भनिन्, “दिनभरि बजार डुलाएर तरकारी, फलफूल बेच्छु। त्यही कमाइले छोराको पढाइ खर्च र बिहानबेलुका हातमुख जोड्छु।”
तानसेनको बजारमा भारी बोकेर दैनिकी चलाउँदै आएकी घोरबण्डाकी ४९ वर्षीया मीना कुमाल सधैँजस्तै शनिबार पनि हातमा नाम्लो लिएर काम गर्न निस्किइन्। कुमाल तानसेनका किराना पसलमा भारी बोक्ने काम गर्छिन्। “भारी नबोकी खान पुग्दैन। छाक टार्न काम गर्नैपर्छ,” उनले भनिन्।
यस्तै, तानसेन अर्चेलेकी सुमित्रा पुन पनि तानसेनमै ज्याला मजदुरी गर्दै आएकी छन्। कैलाशनगरमा बारी खन्दै गर्दा भेटिएकी उनले महिला दिवसबारे सुनेकी छैनन्। “हामीलाई त कामबारे मात्रै थाहा छ,” उनले भनिन्। उनले महिलाको हक, अधिकारका बारेमा विभिन्न दलहरूको वकालत सुन्दै आएकी छन्। “महिला दिवसमा सबैले मीठो मसिना खाने र रमाइलो गरेर मनाउँछन् होला, खै हाम्रो त कमाइ केही छैन, के खानु के रमाउनु? काम नगरे साँझ चुलो बल्दैन,” उनले भनिन्।
जिल्लामा सयौँ महिला मजदुर दैनिक मजदुरी गर्दै आएका छन्। शनिबार देशैभर विभिन्न कार्यक्रम गरी ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा जिल्लाका अधिकांश मजदुरी गर्ने महिलालाई भने यसले छोएन। श्रमिक महिला सधैँजस्तै भारी बोकिरहेका छन्। एक दिन काम नगर्दा उनीहरूलाई हातमुख जोर्न मुस्किल पर्छ।
प्रतिक्रिया दिनुहोस्