काठमाडौं। प्रधानमन्त्री शुसिला कार्कीले बाराको सिमरामा देखिएको तनाव र हिंसा दुःखद भएको बताएकी छन् । कार्कीले लोकतन्त्रमा यस्ता खालका अराजकता स्वीकार्य हुन नसक्ने धारणा व्यक्त गरेकी छन् ।
उनले भनिन् ‘म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन।’
उनले युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई वर्तमान सरकारले गम्भीरतापूर्वक लिएको बताइन् ।
अभिव्यक्ति स्वतन्त्रताको सम्मान हाम्रो प्रतिबद्धता हो। तर यसको अर्थ सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट होइन।
मैले गृह प्रशासन र सुरक्षा निकायलाई शान्ति तथा सुव्यवस्था कायम गर्न, सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र निर्वाचनको निष्पक्ष तथा भयमुक्त वातावरण बनाउन उच्च संयम र पूर्ण तयारीका साथ काम गर्न निर्देशन दिएको छु।
लोकतान्त्रिक प्रणालीको माध्यमबाट मात्रै युवाहरूको वास्तविक अपेक्षा पूरा गर्न सकिन्छ। त्यसैले म सबै पक्षलाई अवाञ्छित राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न हार्दिक अपिल गर्दछु।

प्रतिक्रिया दिनुहोस्