बैशाख २३, २०८१ आईतबार

हराउँदा यूवति, भेटिँदा आमा



रोल्पा – आर्थिक वर्ष २०७४/७५ मा मात्रै रोल्पा जिल्लाबाट ३१ जना हराएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाअन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रका अनुसार यसरी हराउनेमा धेरै महिला तथा बालबालिका छन्।

सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक दिलकुमारी बुढामगरले दिएको जानकारी अनुसार हराएका मध्ये एक बालक र तीन महिला फेला परेको भए पनि अन्य चार बालकसहित २७ जनाको अवस्थाका बारेमा परिवार तथा तिनका आफन्त र प्रहरीलाई कुनै किसिमको जानकारी छैन।

यसरी छुट्टाछुट्टै स्थानबाट हराएका बालकहरु क्रमशः १०, १३, १५ र १६ वर्षका रहेका छन् भने महिला २० देखि ३५ वर्ष उमेर समूहका छन्।

आव २०७३/७४ मा ५६ महिला, २२ बालक र नौजना बालिका जिल्लाबाट हराएका थिए। तीमध्ये चार महिला, २० बालक र ६ बालिका फेला परिसकेका छन् भने अन्यको अवस्थाका बारेमा आजसम्म पनि कसैलाई कुनै किसिमको जानकारी छैन।

यस्तै आव ०७२÷७३ मा पनि महिला तथा बालबालिका गरी ८० जना हराएका थिए। यसरी परिवारलाई जानकारी नदिई घर, विद्यालय, पसल, धारा, पँधेरा तथा घाँसदाउरा गर्न गएका परिवारका सदस्य एकाएक सम्पर्कविहीन हुँदा परिवारलाई मानसिक तथा शारीरिक तनाव हुने हराएका आफन्तले जनाएका छन्।

थबाङ गाउँपालिकाका ७० वर्षीय एक अभिभावकका अनुसार करिब ४ वर्षअघि दाउरा लिन जंगल गएकी १५ वर्षीया छोरी बाटोबाटै हराइन्। उनी हराएपछि परिवारमा निकै चिन्ता भयो। खोजतलास गरियो, तर उनको पत्ता लागेन। तर दुई सन्तानकी आमा बनेर केही दिनअघि मात्र छोरी सम्पर्कमा आएपछि सन्तानको चिन्ताबाट छुटकारा पाएको ती अविभावकले बताए।

यसरी हराएका अधिकांश महिला वैवाहिक सम्बन्ध स्थापित गर्न आफूखुशी हिँड्ने गरेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए। फुयाँलका अनुसार बालबालिका पारिवारिक बेमेलका कारण आफूखुशी हिँडेका हुन्छन्। यसरी हिँडेका बालकहरु कोही इँटाभट्टा, कोही होटेल तथा कोही नेपाल बाहिरका विभिन्न स्थानमा रोगजारीका लागि पुग्ने गरेका छन्।

नागरिकले परिवारको सदस्य तथा आफन्तमा नआउँदा प्रहरीलाई खबर गर्ने तर सम्पर्कमा आइसके पनि जानकारी नदिने भएको हुँदा प्रहरीको तथ्यांकमा हराउनेको संख्या अधिक हुने गरेको छ। साथै, प्रहरीलाई यही काममा अल्झिनुपर्ने बाध्यता छ।

नागरिकले आफ्नो कर्तव्यबोध गर्दै आफ्नो मान्छे फेला परे प्रहरीलाई जानकारी गराउन सके सही तथ्यांक आउनाका साथै काम गर्नसमेत सहज हुने फुयाँलले बताए।