असार ७, २०८२ शनिबार

डेढ वर्षदेखि खोरमा थुनिएकी महिलाको उद्धार



खोटाङ – डेढ वर्षदेखि खोरमा थुनिएकी महिलाको गाउँपालिकाका अध्यक्षको पहलमा उद्धार भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीकी ३३ वर्षीया रमिला तामाङको मङ्गलबार गाउँपालिकाले उद्धार गरेको हो ।

२०७४ असार १४ गतेदेखि मानसिक सन्तुलन गुमाएको आरोपमा बन्धक बनाएर राखिएकी तामाङलाई उद्धारपछि श्रीमानसँगै थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

विवाहको सात वर्षपछि मानसिक सन्तुलन गुमाएको भन्दै उनलाई बन्धक बनाइएको हो । तामाङलाई गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले प्रहरीको सहयोगमा उद्धार गरेका हुन् ।

‘तामाङको अवस्था हेर्दा उनलाई बन्धक बनाउनुपर्ने कारण देखिँदैन,’ अध्यक्ष राईले भने । काठको टाँड बनाएर चारैतिर जाली राखेको अवस्थामा तामाङलाई उद्धार गरिएको हो । तामाङको उपचार गाउँपालिकाले गर्ने गरी उद्धार गरिएको हो । उनको उपचार धरानमा सम्भव नभएपछि घरमा ल्याई बन्धक बनाइएको तामाङका छिमेकीले बताएका छन् ।

खोरमा थुनिएकी महिलाको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि गाउँपालिकाले उद्धारमा चासो देखाएको हो ।

तामाङको उपचारका लागि तत्काल १० हजार सहयोग गरिएको अध्यक्ष राईले बताए । तामाङका एक छोरी र एक छोरा छन् । तामाङका श्रीमान खेती किसानी गर्दै आएका छन् ।