असार ११, २०८२ बुधबार

मेलम्चीबाट नाजायज फाइदा लिन कसैलाई नदिइने मन्त्री मगरको दृढता



काठमाडौं–खानेपानी मन्त्री विना मगरले सरकार मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान गर्न संयमित भएर लागि परेको बताएकी छिन् । 

मन्त्री मगरले सफलताको मुखैमा पुगेको मेलम्ची खानेपानी आयोजनामा देखिएको पछिल्लो समस्या विज्ञहरुको परामर्शको आधारमा समाधान गर्ने योजना पनि अघि सारिन् । 

वास मिडिया फोरम, नेपालको सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले इटालियन ठेकेदार कम्पनी ‘सिएमसी’बाटै सो आयोजनाको काम सम्पन्न गर्न तयार रहेको उल्लेख गर्दै त्यसका लागि कम्पनीले विस्वासको वातावरण तयार गर्नुपर्ने बताइन् । 

 सिएसी कम्पनीको अविश्वासका कारण सो आयोजनाको काम पछिल्लो समयमा आएर अघि बढन नसकेको मन्त्री मगरको तर्क छ ।

 मन्त्री मगरले मुखैमा आइसकेको सो आयोजनाको बाँकी काम सम्पन्न गर्न सरकार लालायित रहेको पनि उल्लेख गरिन् । 

मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाबाट नाजायज फाइदा लिन कसैलाई नदिइने दृढता पनि व्यक्त गरिन् । 

इटालियन ठेकेदार कम्पनी ‘सिएमसी’ले बजेट अपुग हुनेभन्दै सो आयोजनाको काम पूरा गर्ने दायित्वबाट पछि हटन थालेपछि मन्त्री मगरले सो कम्पनीको विश्वसनीयतामाथि प्रश्न उठाएकी हुन् ।