असार १२, २०८२ बिहीबार

संयुक्त राष्ट्रसंघमा राष्ट्रपतिको मत्व्य : ‘नारी नेत्रीले ‘विश्वलाई कसरी परिवर्तन गर्छन् ?’



राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्रसङ्घमा आज ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने भएकी छन् ।
महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू) को ६३औँ अधिवेशनमा भाग लिन न्यूयाेर्क पुगेकी राष्ट्रपति भण्डारीले आज उक्त बैठकलाइ सम्बाेधन गर्ने भएकी हुन् ।

राष्ट्रसङ्घको प्रधान कार्यालयमा सोमबारदेखि शुरु भएको अधिवेशनका क्रममा राष्ट्रपति भण्डारीले ‘नारी नेत्रीले ‘विश्वलाई कसरी परिवर्तन गर्छन्’ भन्ने विषयमा पनि मन्तव्य दिने कार्यक्रम छ ।

समसामयिक विश्वका चुनौतीलाई सामना गर्न नारी नेतृत्वको महत्व र आवश्यकतामा केन्द्रीत रहेर मन्तव्य दिने कार्यक्रम रहेको संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साेमबार न्यूयोर्क पुगेकी राष्ट्रपति भण्डारीलाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका उच्च अधिकारीले स्वागत गरेका थिए ।

साेमबार नै राष्ट्रपति भण्डारी संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले आयोजना गरेको रात्रिभोजमा सहभागी भएकी थिइन् ।

प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयका विज्ञ लक्ष्मीकुमारी कार्की, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपतिको कार्यालयका सचिव विनोद केसी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडा तथा राष्ट्रपतिको कार्यालय, परराष्ट्र मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका वरिष्ठ अधिकारीहरु छन् ।