काठमाडौं – बलात्कारपछि हत्या हुनेमा बढी दलित बालबालिका तथा युवती रहेकाे देखिएको छ ।
दलित महिला संघले गरेको अध्ययनअनुसार गत वैशाखदेखि माघसम्म सात सय २९ घटनामध्ये एक सय ५४ घटना दलित समुदायका बालबालिका तथा युवतीमाथि भएका छन् ।
तथ्यांकअनुसार बलात्कारका घटनामध्ये झण्डै ८० प्रतिशत दलित समुदायमाथि भएकाे हाे ।
संघले १०९ औँ अन्तर्राष्ट्रिय नारी दिवस (८ मार्च)को सन्दर्भमा गत सोमबार आयोजना गरेको अन्तरक्रियामा सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनअनुसार २१ प्रतिशत दलित युवती तथा बालिका बलात्कृत भएका छन् ।
कूल जनसङ्ख्याको १३ प्रतिशत दलित समुदायको छ । जसमा आधा सङ्ख्या महिलाको छ । अन्य जातजातिका महिलामाथि करिब बराबरी जसाे बलात्कारका घटना भएका छन् भने दलित समुदायमा दोब्बर रहेको देखिन्छ ।
प्रतिनिधिसभाका सांसद अञ्जना विशङ्खेले दलित समुदायका युवतीलाई जे गरे पनि हुन्छ भन्ने मानसिकताले दलित युवतीमाथि बलात्कारका घटना बढेको बताइन् । नेपाल प्रहरी महिला तथा बालबालिका सेलका अनुसार २०१८ को सर्वेक्षणअनुसार ३७ प्रतिशतले महिलामाथि घरेलु हिंसा बढेको छ ।
अधिवक्ता मीरा ढुङ्गानाले महिलामाथि हुने हिंसाका घटनाको न्यूनीकरणका लागि ऐनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।
दलित महिला संघकी पूर्वअध्यक्ष दुर्गा सोवले न्यायमा विभेद छ भन्दै दलित तथा कमजोर वर्गले सहजै न्याय पाउने अवस्था नरहेको बताइन् ।
प्रतिक्रिया दिनुहोस्