
आगामी वैशाख ७ गतेदेखि विराटनगरमा हुने एनसिएल वोमन्स टी–२० क्रिकेट लिग प्रतियोगिताको विजेताले १० लाख रूपैयाँ नगद पुरस्कार पाउने भएका छन्।
विराटनगरस्थित बैजनाथपुर क्रिकेट मैदानमा हुने खेलमा ४ फ्रेन्चाइज टोलीको सहभागिता रहने छ।
राजधानीमा सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक एनसिएल स्पोट्र्स प्राईभेट लिमिटेडले प्रतियोगिता बारे सम्पूर्ण जानकारी गराएको हो।
प्रतियोगितामा विराटनगर रोअरिङ लायोनेस, भैरहवा क्विन्स, धनगढी वन्डर वुमन र काठमाडौं सुपर च्याम्पियन्स गरि चार टोलीको सहभागिता रहने जानकारी गराइयो।
नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री (भैरहवा), सीता रानामगर (धनगढी ), नेरी थापा (काठमाडौं),करूणा भन्डारी (विराटनगर) टोलीको मार्की खेलाडीका रुपमा छन् ।
सहभागी टोलीका मालिकमा अनुप सक्सेना (विराटनगर रोअरिङ्ग लायोनेस), दीपक सुवेदी र अनिल भण्डारी (भैरहवा क्विन्स), हरि खनाल (धनगढी वन्डर वोमेन) र नायिका रेखा थापा (काठमाडौं सुपर च्याम्पियन्स) रहेका छन्।
टोलीको खेलाडी छनोटका लागि केही दिनमा अक्सन हुने जनाईएको छ।
प्रतियोगितामा ग्रेड ए, बी र सी गरि तीन तहमा विभाजन गरिएको छ। अक्सनमा ग्रेड ए अन्तर्गतका खेलाडीको न्युनतम मूल्य ४० हजार र अधिकतम मूल्य ७५ हजार रूपैयाँ रहनेछ ।
बी ग्रेडका खेलाडीको न्यूनतम मूल्य रु २५ हजार र अधिकतम मूल्य रु ५० हजार रुपैयाँ रहनेछ । त्यस्तै सी ग्रेडका खेलाडीको न्युनतम मूल्य १५ हजार र अधिकतम मूल्य रु २५ हजार रुपैयाँ रहनेछ।
प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित १० लाख रूपैयाँ र उप विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
हरेक खेलको प्लयेर अफ द म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै विधागत उत्कृष्ट खेलाडीलेसमेत नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।
एनसिएल स्पोट्र्सले एसियाकै पहिलो महिला फ्रेन्चाइज्ड लिग हुन लागेको दाबी पनि गरेको छ। यसभन्दा अघि चैत १ गते हुने भनिएको यस प्रतियोगिता मुख्यमन्त्री कप र यसै महिना प्रदेश ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका कारण चैत १ देखि ९ सम्मका लागि तय भएको क्रिकेट निर्धारित मितिमा हुन नसकेको आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्