असार ६, २०८२ शुक्रबार

रेडक्रसले दियाे फागुको सन्देश: लैङ्गिक समानताको लागि कदम चाल



काठमाडाैं – लैङ्गिक लगायत विविध क्षेत्रमा समानताका लागि सोच, व्यवहार र योजनाको लागि रेडक्रसले आव्हान गरेको छ ।

फागु पूर्णिमाको अवसरमा होली शुभकामना दिँदै ह्यासट्याग ब्यालेन्सफरबेटर विषयमा रेडक्रसको अन्तर्राष्ट्रिय महासँघ तथा नेपाल रेडक्रस सोसाइटीले अन्तरक्रिया कार्यक्रम, प्रतिवद्धता र फोटो अभियान आयोजना गरेको छ ।

“लैङ्गिक, उमेर, भौगोलिक, स्वास्थ्य अवस्था जस्ता क्षेत्रमा विद्यमान असन्तुलित अवस्थाको अन्तको लागि सोँचमा परिवर्तन जरुरी छ ।” होलीको अवसरमा नेपाल रेडक्रसको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले भने।

“यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) को समानताको सन्देश हाम्रोलागि वर्षभरी नै उपयुक्त छ ।”

लैङ्गिक समानता अझै पनि वास्तविकता भन्दा टाढा रहेको तथ्याँक प्रस्तुत गर्दै रेडक्रसको अन्तर्राष्ट्रिय महासँघका नेपाल प्रमुख जुजा किमले एशिया प्रशान्त क्षेत्रमा लैङ्गिक असमानताले जरो गाडेको र संकटमा महिला नै वढी पर्ने अवस्था औँल्याए ।

उनले भने “रेडक्रस आफैले पनि लैँगिक समानताको लागि थप कार्य गर्न नेतृत्वको समूहले मनिला घोषणा जारी गरेको छ । विभिन्न ३६ वटा देशको सर्वेक्षण गर्दा रेडक्रसको निर्णायक मण्डलमा ७ सय ३८ मध्ये २०६ जना अर्थात् २८ प्रतिशत मात्र महिला रहेका छन् ।

त्यसमा ५० देखि ५९ वर्षसमूहको बाहुल्यता छ र ३० वर्षभन्दा मुनिका युवाहरुको सँख्या न्यून रहेको छ । तर, अर्कोतर्फ रेडक्रसको लाभान्वित सूचीमा महिलाहरुको सँख्या अधिक रहेको र ५६ प्रतिशत कर्मचारी महिला रहेको अवस्था छ ।”

कार्यक्रममा सन् २०१९ मा नीति, योजना निर्माण र सहयोग क्षेत्रमा फरक तरिकाले काम गर्न नेपालमा कार्यरत रेडक्रस अभियानका अंगहरुका प्रतिनिधिहरुले विविधताको प्रवर्धन र लैङ्गिक समानताको लागि चित्र, सामुहिक र व्यक्तिगत फोटोमार्फत सन्देश दिए।

सामुहिक फोटोमा महिलाहरुको प्रगतिमा उत्सव मनाउने, कुरितिहरु अन्त गर्ने प्रतिवद्धता देखाइएको छ ।

कार्यक्रममा होलीको रंग लगाउँदै नेपाल रेडक्रसका सञ्चार निर्देशक दिव्य राज पौडेलले घर, कार्यस्थल र समुदायमा महिला तथा युवा समानताको लागि पैरवी गर्ने फोटो प्रदर्शन गरे ।

उनले भने, शुरक्षित र समावेशी बातावरणमा मात्र छलफल र पैरवीहरु प्रभावकारी हुने भएकाले विभिन्न सामाजिक सञ्जालमा ह्यासट्याग ब्यालेन्सफरबेटर राखी सन्तुलित अवस्थाको पक्षमा सन्देश दिन होलीको अवसरमा रेडक्रस सवैलाई आव्हान गर्दछ ।

समुह छलफल तथा प्रदर्शनीलाई नेपाल रेडक्रसका जीइएसआइ निर्देशक विपुल न्यौपाने, अष्ट्रेलियन रेडक्रसका मुकेश सिँ, तथा रेडक्रसको अन्तर्राष्ट्रिय महासँघका कार्यक्रम सँयोजक हारभे गजेयूले सहजीकरण गरेका थिए ।