असार १३, २०८२ शुक्रबार

जिल्ला प्रशासन कार्यालयमा स्तनपान कक्ष, महिलामैत्री बन्दै कार्यालयहरु



पर्वत – बच्चा लिएर सेवा लिन पुगेकाआमाहरुलाई सजिलोको लागि जिल्ला प्रशासन कार्यालय पर्वतले प्रशासन हाताभित्र स्तनपान कक्षको व्यवस्था गरेको छ ।

महिला सेवाग्राहीलाई आवश्यकतालाई ध्यानमा राख्दै महिलामैत्री सेवा प्रवाहका लागि स्तनपान कक्षको व्यवस्था गरीएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए ।

कार्यालयमा सेवा लिन आउने महिला केही समय कुर्नुपर्ने अवस्थामा सहजरूपमा आफ्ना बालबालिकाको हेरचाह गर्न सकुन् र सुरक्षित स्थानमा स्तनपान गराउन सकुन् भन्ने उेद्दश्यले स्तनपान कक्ष सञ्चालनमा ल्याइएको हो ।

गण्डकी प्रदेश सरकारअन्तर्गत शहरी विकास तथा भवन डिभिजन कार्यालयको झण्डै रु नौ लाखको लागतमा भवन निर्माण गरी स्तनपान कक्ष बनाइएको हो ।

कार्यालयले ज्येष्ठ नागरिक, फरक क्षमता भएकाहरुका लागि समेत विशेष व्यवस्था गरेको छ, जसले गर्दा उनीहरुको काम छिट्टै सम्पन्न हुन थालेको छ ।

यसअघि गत साउनमा जिल्ला प्रशासन कार्यालय लमजुङले पनि छुट्टै स्तनपानकक्ष निर्माण गरेको छ ।

‘अब प्रशासनमा सेवा लिन आउने सुत्केरी महिलाले स्तनपानका लागि झन्झट तथा लाज मान्नुपदैन’, प्रजिअ झंकनाथ ढकालले भने, ‘स्तनपानका लागि छुट्टै कोठा व्यवस्था गरेका छौं ।’

महिला सेवाग्राहीलाई सहजताका लागि स्वास्थ्य सेवा विभाग, जिल्ला अस्पताल रोल्पा, जिल्ला हुलाक कार्यालय सल्यान, जिल्ला प्रशासन कार्यालय रसुवाले पनि स्तनपान कक्ष स्थापना गरेका छन् ।

स्थानीय तहमा गत भदौमा तुलसीपुर उपमहानगरपालिकामा स्तनपान कक्ष स्थापना गरेको थियो। त्यस्तै रुकुम पूर्वको सिस्ने गाउँपालिकाले पनि कार्यालयमा स्तनपान कक्ष स्थापना गरेको छ ।