असार ७, २०८२ शनिबार

सांसद रामकुमारीको प्रश्नले नेकपा संसदीय दलमा हंगामा



काठमाडौं – सांसद रामकुमारी झाँक्रीले संसदीय परम्परामा राष्ट्रपतिले मेरो सरकार भन्नुको अर्थ प्रष्ट पार्न माग गरेपछि नेकपा संसदीय दलको बैठकमा हंगामा मच्चिएको छ ।

शनिबार बसेको नेकपाको संसदीय दलको बैठकमा झाँक्री सहितका सांसदहरुले मेरो सरकार भन्नुको उदेश्य र आधार प्रस्ट पार्न माग गरेका थिए ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा धेरेपटक ‘मेरो सरकार’ भनेकी थिइन् । सो विषयलाई लिएर साँसद झाँक्रीले शनिबारको नेकपा संसदीय दलको बैठकमा प्रष्ट पार्न माग गरेकी थिइन् ।

बैठकमा पूर्व सभामुख समेत रहेका सुवासचन्द्र नेम्वाङले २४ गते पास गर्ने गरी तयारी भएको नीति तथा कार्यक्रमको विषयमा जानकारी गराएपछि मेरो सरकारको विषयले बैठकमा प्रवेश पाएको थियो।

त्यसपछि सांसद रामकुमारी झाँक्री सहित जनार्दन शर्मा र सुरेन्द्र पाण्डेले प्रस्न उठाउँदै यसबारे प्रस्ट पार्न शीर्ष नेतासँग माग गरेका थिए। बैठकमा यस विषयमा चर्काचर्की पर्न थालेपछि सञ्चारकर्मीहरुलाई बैठक हलबाट बाहिर निकालिएको थियो।

तर, विषय चर्किन थालेपछि र शीर्ष नेताबाट प्रस्ट जवाफ आउनु पर्ने माग उठेपछि अध्यक्ष पुष्पकमल दाहालले विषयलाई थामथुम पार्न खोजेका थिए। तर सांसद झाँक्रीले जहिले पनि निर्देशन नदिन र विषयमा पर्याप्त छलफल गर्ने समय दिन माग गरेकी थिइन्।

उनले संसदीय परम्परामा मेरो सरकार भनेको के हो रु भनेर प्रश्न गरेकी थिइन्। विषयले गम्भीर रुप लिन थालेपछि प्रचण्डले भने, ‘‘मैले यति गम्भीर रुपमा लिएको थिइनँ। अगाडि हेर्दाखेरि यो भएजस्तो मलाई लागेन । तर अब यसलाई पास गरौं।’

ओलीले मेरो सरकारको बचाउ गर्दै यो जहाँ पनि हुने र यूट्युवमा अन्य देशको प्रचलन हेर्न सांसदहरुलाई सुझाएका थिए।

भारत र बेलायतमा पनि यस्तो परम्परा रहेको ओलीले सांसदहरुलाई सुनाए। ओलीले बैठकमा हाम्रो राष्ट्रपति पनि बेलायतको महारानी जस्तै भएको र यो देश राष्ट्रपतिको भएको बताएका थिए।

शुक्रबार राष्ट्रपतिले एक घण्टा ४५ मिनेटको भाषणमा ४२ पटक मेरो सरकार भनेकी थिइन्।