असार १७, २०८२ मंगलबार

होम आइसोलेसनमा बस्नुस– सरकार, साइलेन्स न्यूमोनिया हुन सक्छ, बचाउन मुस्किल- डक्टर



काठमाडाैं – गत ४ भदौमा बसेको मन्त्रीपरिषद्को बैठकले लक्षण नदेखिएका कोराना भाइरसबाट संक्रमित बिरामीलाई होम आईसोलेसनमा राख्ने निर्णय गर्‍याे । त्यसपछि सरकारले पटक पटक आग्रह गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका तत्कालिन प्रवक्ता डा. युवराज खतिवडाले भनेका थिए, ‘विधिक विश्लेषणले पनि लक्षण नदेखिएका कोरोना संक्रमित होम आइसोलेसनमा रहँदा चाँडो निको हुने देखिएको छ। अर्कोतर्फ संक्रमण बढ्दै जाँदा अस्पतालमा पनि ठाउँ नहुन सक्छ। त्यस्तो अवस्थामा लक्षण देखिएका संक्रमितलाई अस्पतालमा ल्याएर उपचार गर्नुपर्ने हुन्छ।’

त्यसअघि पनि स्वास्थ्य मन्त्रालयले जेठ महिनामा आइसोलेसन सम्बन्धी निर्देशिका जारी गर्दै कोरोना संक्रमणको लक्षण नदेखिएका र हल्का लक्षण देखिएकाहरु घरमै आइसोलेसनमा बस्न सक्ने निर्णय गरेको थियो । कोरोना संक्रमणको महामारीको जानकारी दिन सकारको तर्फबाट गरिने नियमित पत्रकार सम्मेलनमार्फत स्वास्थ्य मन्त्रालका प्रवक्ताले पनि पटक पटक होम आइसोलेनसमा बस्न प्रेरीत गरिरहे । सोही बमोजिम धेरै मानिस होम आइसोलेनमा बसेपनि ।

तर सरकारको निर्देशन पालना गरेर होम आइसोलेनमा बसेका तर समस्या बढेपछि अस्पताल पुगेका १२ जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मृत्यु भयो । अस्पतालका अनुुसार उनीहरु सबै होम आइसोलेनमा बसेका कारण साइलेन्स निमोनिया भइसकेर अस्पताल पुग्नेहरु थिए । किस्ट अस्पतालमा पनि निमोनिया भइसकेर अस्पताल पुगेका ४ जनालाई आईसीयुमा उपचार गर्दागर्दै बचाउन नसकेको अस्पताल बताउँछ ।

पाटन अस्पतालका कोभिड संयोजक डाक्टर विमल पाण्डेका अनुसार कतिपय संक्रमितहरु निमोनिया भइसकेपछि अस्पताल पुगेकाले बचाउन सकिएको छैन ।

यस्तो समस्या कसरी आयो त ? टेकु अस्पतालका चिकित्सक शेरबहादुर पुन भन्छन् – सामान्य खोकी र ज्वरोले केही असर गर्दैन् भनेर घरमै बसेकाहरुलाई पछिल्लो समय ‘साइलेन्ट निमोनिया’ देखिएको छ । यसले बिरामीले थाहा नपाउँदै फोक्सोमा क्षति गर्ने उनको कथन छ र पछिलो समय मृत्यु हुने अधिकांश संक्रमित यही अवस्थाबाट गुज्रिएका छन् ।

अहिले देशभर २९ हजार १९७ संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको तथ्यांक छ । तर यसरी अनुसार होम आइसोलेसनमा बस्ने संक्रमितहरु ढिलो अस्पताल पुग्दा निमोनिया विकास भइसकेको हुन्छ र उपचार गर्न समस्या परेको चिकित्सकहरुको भनाई छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका कोभिड संयोजक तथा छाती रोग विशेषज्ञ डाक्टर सन्तकुमार दासका अनुसार निमोनिया भएकाहरुको उपचार प्रकिया लम्बिनुका साथै बचाउन सकिने सम्भावना अत्यन्तै कम हुन्छ ।

कसरी आउँछ यस्तो समस्या ?

कोरोना भाइरसको संक्रमणका कारण फोक्सोमा पहिले नै असर गरिसकेको हुन्छ । तर, कतिपय अवस्थामा निमोनिया विकास भइसक्दा पनि खोकी लाग्ने या ज्वरो आउँदैन । कतिपयको निमोनिया पत्ता लगाउन सिटी स्क्यान, रगत र शरीरमा अक्सिजनको मात्रा जाँच गर्नुपर्छ । त्यसैले कोरोना संक्रमितलाई सामान्य खोकी लागेर ज्वरो आएको छ भने तत्काल अस्पताल जानुपर्ने किस्ट अस्पतालका श्वासप्रश्वास रोग विशेषज्ञ प्राध्यापक डाक्टर मिलेशजंग सिजापती बताउँछन् । ‘होम आइसोलेसनमा बस्नेले लगातार अक्सिजको लेभल नापिरहनुपर्छ, आफूलाई सास फेर्न असहज हुनासाथ डाक्टरसँग सल्लाह लिनुपर्छ’ डा। सिजापती भन्छन्, ‘अझ दीर्घरोगी र वृद्धवृद्धा त धेरै नै सतर्क हुनपर्छ ।’

संक्रमितमा अक्सिजनको लेभल घट्नु भनेको निमोनिया देखिएको संकेत हो । डा. सिँजापतिका अनुसार शरीरमा अक्सिजनको लेभल घट्न थालेपछि २ देखि ५ घण्टाभित्रै फोक्सोमा गम्भीर असर गर्न थाल्छ । त्योबेला ‘हाइ फ्लो अक्सिजन’सहितका आईसीयू उपचार मिलेन भने मृत्यु पनि हुन सक्छ । ‘त्योबेला घरमा अक्सिजन लगाएर मात्र हुन्न’ उनी भन्छन्, ‘चिकित्सकको विशेष निगरानीमा उपचार गराउन ढिला गराउनुहुन्न।’

‘संक्रमितहरु निमोनिया भइसकेपछि अस्पताल आउँदा मृत्यु बढेको टेकु अस्पतालका चिकित्सक डाक्टर अनुप बास्तोलाको भनाई छ । ‘निमोनिया भएर भेन्टिलेटरमा पुगेका संक्रमितहरुको उपचार गर्न धेरै गाह्रो छ’, उनी भन्छन् ।
उनका अनुसार ज्वरो र खोकी लाग्दासमेत मानिसहरु अस्पताल नआएकाले यस्तो किसिमको दुर्घटना बढेको छ । भन्छन्, ‘समयमै अस्पताल आए त धेरै मृत्युदर घटाउन सकिन्थ्यो ।’

पछिल्लो समय सिकिस्त भएकाहरुले बेड नपाएको समाचार सुन्दा र सरकारले होम आइसोलेनमा बस्ने र आफ्नो उपचार आफै गर्ने भनेको कारण पनि संक्रमितहरु अस्पताल पुग्न ढिलो गरेका छन् ।

त्यसैले होम आइसोलेसनमा बसेपनि उपचारका लागि अस्पतालकै सम्पर्कमा रहने र अक्सिजनको लेभल घटेर ९४ भन्दा कम हुन थालेको छ र सास फेर्न गाह्रो भएको छ अस्पताल गइहाल्नुपर्ने चिकित्सकहरुको सल्लाह छ । त्यसमा पनि खोकी र ज्वरो पनि आएको छ भने ढिला गर्नु हुँदैन ।

चिकित्सकका अनुसार दुई दिनदेखि खोकी र ज्वरो आएको छ, सास फेर्न पनि गाह्रो भएको छ भने तुरुन्त अस्पताल जानुपर्छ । चिकित्सकका अनुसार होम आइसोलेसनमा बस्नेले लगातार अक्सिजको लेभल नापिरहनुपर्छ, आफूलाई सास फेर्न असहज हुनासाथ डाक्टरसँग सल्लाह लिनुपर्छ । तथ्य, तथ्यांक स्रोत : स्वास्थ्य मन्त्रालय,अनलाइनखबर र अन्य मिडियाबाटबाट