बैशाख १२, २०८१ बुधबार

सौन्दर्य कला व्यवसायमा राम्रो कमाई छ



kamala-shrestha
                                     कमला श्रेष्ठ,अध्यक्ष , नेपाल सौन्दर्य कला व्यवसायी संघ

अहिले सौन्दर्य कला व्यवसायको अवस्था कस्तो छ ?
नेपालमा सौन्दर्य कला व्यवसाय ०३५ देखि सुरु भएको हो । मैले थाइल्यान्डको बैंककबाट तालिम लिई नेपालमा व्यवसाय सुरु गरेकी हुँ । त्यतिवेला काठमाडौंमा चारवटा र ललितपुरमा एउटा ब्युटिपार्लर थिए । चार दशकपछि आज मुलुकभर सौन्दर्य कला व्यवसायको संख्या ३ लाखभन्दा बढी पुगिसकेको छ । हाम्रो संघ नै ६० जिल्लामा पुगेको छ । हामीले लन्डनमा पनि च्याप्टर स्थापना गरेका छौँ । अमेरिका, अस्ट्रेलिया, क्यानडा दुवैमा पनि च्याप्टर खोल्दै छौँ । यसर्थ, सौन्दर्य कलाको व्यावसायिक अवस्था अत्यन्तै राम्रो छ ।

यस क्षेत्रमा लगानी र रोजगारी कति पुगेको छ ?
रोजगारी र लगानीको यकिन तथ्यांक छैन । अहिले नेपालका अत्यन्तै दुर्गम क्षेत्रमा पनि ब्युटिपार्लर खुलेका छन् । यो व्यवसाय मुलुकभर पुगिसकेको छ । एउटा ब्युटिपार्लरले कम्तीमा दुईदेखि १० जनालाई रोजगारी दिन्छ । हरेक ब्युटिपार्लरले ५ जनादेखि ८० जनासम्मलाई तालिम दिन्छ ।

लगानीअनुसारको मार्जिन आउँछ कि आउँदैन ?
लगानी गरेअनुसार मार्जिन आउँछ । जति स्तरीय हुन्छ, त्यति नै राम्रो पैसा कमाउन सकिन्छ । यस क्षेत्रमा पहिला अशिक्षित उद्यमी बढी थिए, अहिले शिक्षित र दक्ष उद्यमी लागिपरेका छन् । उनीहरूले मार्जिन पनि राम्रो लिइरहेका छन् ।

यो व्यवसाय गर्न सुरुमा कति लगानी आवश्यक पर्छ ?
यसमा न्यूनतम ५० हजारदेखि १ लाख रुपैयाँसम्म लगानी गर्नुपर्छ । यस क्षेत्रमा १ करोडभन्दा बढी लगानी गरेका व्यवसाय पनि सञ्चालनमा छन् । आफ्नो क्षमता, अध्ययन र उद्देश्यअनुसार लगानी गर्न सकिन्छ ।

नयाँ लगानीकर्ताले के–कस्तो तयारी गर्नुपर्छ ?
सबैभन्दा पहिला इच्छाशक्ति हुनुपर्छ । अरूको देखेर गर्नुहुँदैन, मनदेखि उद्यमी बन्ने इच्छा राख्नुपर्छ । त्यसपछि तालिम वा अध्ययन गर्नुपर्छ । अनुभव लिनुपर्छ । यो प्रत्यक्ष देखिने काम हो । सीप देखाएर नगद कमाउने हो । डाक्टर पढ्ने पनि यस क्षेत्रमा आउँछन् । उद्यम गर्न चाहन्छन् । क्लिनिक र ब्युटिपार्लर सँगै खोल्ने पनि छन् । यो व्यवसायमा लाग्ने उद्यमी जाँगरिलो, सिर्जनशील, मिजासिलो र सहनशील हुनैपर्छ ।

यस क्षेत्रमा सरकारको सहयोग तथा व्यवहार कस्तो छ ?
मुलुकको अर्थतन्त्रमा यस क्षेत्रको ठूलो योगदान छ । तर, यो व्यवसाय ओझेल परेको छ । पछिल्लो समय हाम्रो लामो प्रयत्न र संघर्षपछि राज्यले यो व्यवसायलाई पहिचान दिन थालेको छ । यसलाई सेवामूलक उद्योगको मान्यता दिएको छ । हामीले यसलाई पाठ्यक्रममा समेत राख्नुपर्छ भन्ने माग ग-यौैँ । अब ९ र १० कक्षाको पाठ्यक्रममा समेत आउँदै छ । यो नक्कल पार्ने मात्रै होइन, व्यक्तित्व विकासदेखि स्फूर्ति र स्वास्थ्य पार्ने माध्यम पनि हो । त्यसैले यो व्यवसायलाई इज्जत गर्नुपर्छ । सरकारले यो व्यवसायको गुणस्तर कायम राख्न स्तर कायम गर्ने गरी नीति–नियम बनाउनुपर्छ ।