बैशाख १२, २०८१ बुधबार

दाजुभाइ नहुने नेपाली अभिनेत्री, कसरी मनाउँछन् तिहार ?



१० कार्तिक, काठमाडौं – दसैँको १५ दिनपछि आउने अर्को ठूलो पर्व हो तिहार ।  तिहार कात्तिक कृष्णपक्ष त्रयोदशीका दिन काग तिहारबाट सुरु भएर  कात्तिक शुक्लपक्षको द्धितिया तिथीको भाइटीकासम्म पाँच दिन मनाइन्छ । यो पर्वलाई दाजुभाइ र दिदीबहिनीको प्रेमको पर्वका रुपमा लिइन्छ । दाजुभाइ र दिदीबहिनीहरुको विशेष पर्व तिहार नजिँकिदै गर्दा हामीले दाजुभाइ नहुने नेपाली अभिनेत्रीहरुको बारेमा एक सामाग्री तयार पारेका छौं । दाजुभाइ नभएपनि कोही आफ्नै दिदीबहिनीलाई टिका लगाएर तिहार मनाउँछन् त कोही रानीपोखरीमा गएर तिहार मनाउने गरेको बताउँछन् । जान्नुहोस् को को हुन् ती अभिनेत्री ।

संचिता लुईंटेल

अभिनेत्री संचिता लुईंटेल घरको जेठो सन्तान हुन् । उनका दाजुभाइ छैनन् । तर दुई जना बहिनीहरु भने छन् । दाजुभाइ नभएको हुँदा तिहारमा के गर्नुहुन्छ, कसरी मनाउनु हुन्छ भन्ने प्रश्नमा उनले जवाफ दिइन् – हामी दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाउँछौ अनि तिहार मनाउँछौँ  । एकदमै रमाइलो हुन्छ । दिदीबहिनीहरुले नै एकले अर्कालाई टिका लगाएर तिहार मनाउनुको मज्जा बेग्लै हुने संचिताको भनाई छ ।

रजनी केसी

नायिका रजनी केसी परिवारको एक्लो सन्तान हुन् । दाजुभाइ नभए पनि रजनीका लागि तिहार त्यति खल्लो भने हुने गरेको छैन ।सानैदेखि नै छोरा जसरी हुर्केको हो म भन्ने रजनीलाई उनको परिवारले पनि छोरोको नामले सम्बोधन गर्ने गर्दछ । उनी आफू छोरी भएर जन्मे पनि घरमा भने छोराको रुपमा रहेको बताउँछिन् ।

पूजा शर्मा

भिजे र मोडलपछि नायिका बनेकी अभिनेत्री पूजा शर्मा पनि घरकी एक्ली छोरी हुन् । उनका पनि दाजुभाइ छैनन् । पूजाले आफू परिवारको एक्लो सन्तान भएका कारण पनि हुनसक्छ सानैदेखि निकै पुलपुल्लिएर हुर्केको बताउँछिन् । तिहारको समयमा उनी रानीपोखरी जान्छिन् ।  रानीपोखरीमा गएर तिहार मनाउने उनी पोहोर साल भूकम्प आएपछि भने त्यहाँ नगएको बताएकी छिन् ।

शिल्पा पोख्रेल

अभिनेत्री शिल्पा पोख्रेल पनि दाजुभाइ नहुने अभिनेत्रीमा पर्छिन् । घरको जेठो सन्तानको रुपमा जन्मेकी उनकी एक बहिनी छिन् सोनिया । शिल्पा दाजुभाइ नभए पनि तिहारमा खाली हात बस्नु पर्दैन ।

उनले निर्देशक विकाश रौनीयारलाई दाइ मानेकी छिन् । उनी तिहारमा उनैलाई टिका लगाउने गर्छिन् ।

श्रेया कार्की

अभिनेत्री श्रेया कार्की पनि दाजुभाइ नहुने अभिनेत्री हुन् । उनका एक दिदी शितल र एक बहिनी श्रेयुत्ता छन् । तिहारमा आफूहरु एकअर्कालाई टीका लगाएर रमाइलो तरिकाले मनाउने गरेको श्रेयाले बताइन् ।

source : ujyaloonline.com