बैशाख १५, २०८१ शनिबार

दुर्गा प्रसाईंलाई भेट्न निवासमै पुगिन् मनिषा कोइराला, भयाे राजनीतिक छलफल



काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले हिन्दू राष्ट्र र राजसंस्था फर्काउने आन्दोलनमा लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भेटेकी छन् । कोइरालाले आइतबार दिउँसो प्रसाईँको निवासमै पुगेर उनलाई भेटेकी हुन ।

शनिबारमात्रै नेपाली नेतृत्व गलत बाटोमा हिँडिरहेको अभिव्यक्ति दिएकी कोइरालाले भेटेपछि हिन्दू राष्ट्र र राजसंस्था फर्काउनुपर्छ भन्दै आन्दोलनमा रहेका प्रसाईँ उत्साही देखिएका छन् । मनिषाले देशको दुरावस्थाप्रति चिन्ता प्रकट गर्दै आफ्नो राष्ट्र बचाउ महाअभियानप्रति नैतिक समर्थन देखाएको प्रसाईँले बताए ।

बीपी कोइरालाको नातिनी, कोइराला परिवारको सदस्य भएका कारण पनि मनिषामा राजनीतिक चरित्र रहेको प्रसाईंको भनाइ छ । आफूसितको कुराकानीमा मनिषामा वैदिक सनातन धर्म संस्कृति, राष्ट्रियता र राजसंस्थाप्रतिको रुझान पाएको उनले बताए ।

भेटमा मनिषाले देश निकै अप्ठेरो अवस्थामा रहेकाले सबै मिलेर समाधान खोज्नुपर्नेमा जोड दिएकी थिइन् । प्रसाईले आफ्नो अभियानमा सक्रिय साथ दिन मनिषासँग अनुरोध गरेका थिए ।

कोइराला परिवारकी भएपनि आफ्नो जीवनको अधिकांश समय भारतीय सिनेमा क्षेत्रमा बिताएकी मनिषाको राजनीतिप्रति त्यति चाँसो थिएन । तर पछिल्लो समय एकाएक राष्ट्रवादी अभिव्यक्ति दिँदै हिँडेकी छन् ।

मनिषा नेपाली भाषाको ‘फेरि भेटौँला’ बाट सिनेमा क्षेत्रमा प्रवेश गरेकी हुन् ।