बैशाख ११, २०८१ मंगलबार

‘नेपालकी तेरिया भनेर चिनिन चाहन्छु’



teriya

काठमाडौं- भारतीय सिनियर डान्स स्टारबीचको ठूलो प्रतियोगिता ‘झलक दिखला जा’ जितेकी तेरिया फौजामगरले आफू नेपालकी तेरिया बन्न चाहेको बताएकी छन् । यसका लागि केही समय भारतमै बसेर करिअर बनाउने पनि उनको योजना छ ।

‘नेपालीको साथ र माया लिएर त्यहाँ काम गर्नेछु,’ मंगलबार यहाँ आयोजित सम्मान कार्यक्रममा उनले भनिन्, ‘किनभने म तेरिया मात्र नभई नेपालकी तेरिया भनेर देशको नाम उचो बनाउन चाहन्छु ।’

१४ वर्षे तेरियाको भविष्यमा कोरियोग्राफी र अभिनयमा लाग्ने सोच छ । भारतमै बसेर यसको जग बसाउने उल्लेख गर्दै उनले थपिन्, ‘त्यहाँको प्लेटफर्मबाट नेपालको लागि काम गर्नेछु ।’

आफूलाई पटकपटक जिताउन सहयोग गर्ने नेपाली दाजुभाइ–दिदीबहिनीको गुन तिर्न पनि यसो गर्ने उनले बताइन् । ‘यसअगाडि डीआईडी लिटिल मास्टर जितेपछि पनि नेपाली झन्डासहित देश–विदेशमा नृत्य देखाएँ,’ उनले सुनाइ, ‘यसलाई अब पनि निरन्तरता दिनेछु ।

म जहाँ जाँदा पनि जे गर्दा पनि नेपाल सम्झन्छु, नेपाली हुँ भन्छु । मलाई सबै नेपालीले वाच गरिरहनुभएको छ जस्तो लाग्छ ।’

रुपन्देहीको रुद्रपुरकी १४ वर्षीया तेरिया ठूलो भएपछि भने देशका लागि आफ्नो सीप र कमाइ खर्चने सोचमा छिन् । त्यसकै लागि तेरिया मगर फाउन्डेसन खोलेकी छन् ।

‘मैले कमाएको केही रकम अहिले पनि फाउन्डेसनमा लगाएकी छु,’ उनले भनिन्, ‘यसबाट केही साथीले सहयोग पाउनुभएको छ । अभिभावक गुमाएका र पढ्न नपाएकालाई पढाइनेछ । प्रतिभा भएका तर देखाउने अवसर नपाएकालाई प्रतिभा देखाउन सहयोग हुनेछ ।’

भारतीय टीभी च्यानल कलर्सको डान्स सो ‘झलक दिखला जा’ जितेपछि उनी पहिलोपटक यहाँ आएकी हुन् । यही मौका पारेर फाउन्डेसन र बागेश्वरी संगीतालयले सम्मान तथा बधाइ कार्यक्रम गरेका हुन् ।

तेरियाले डान्स करिअर सुरु गरेको बागेश्वरी संगीतालयका निर्देशक सुरेश सेन्चुरीले पनि उनलाई सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारीलगायतले पनि सम्मान गरे । उनका समर्थकले खुसी साटासाट गरे ।

‘झलक दिखला जा’ विजेता बनेपछि तेरियाले ३० लाख भारु ९करिब ४८ लाख रुपैयाँ० पाएकी थिइन् । आजको कान्तिपुरमा खबर छ ।