बैशाख १४, २०८१ शुक्रबार

युवाले राज्यमाथि हस्तक्षेप गर्न सक्नुपर्छ– नविना लामा



अनेरास्ववियुकी अध्यक्ष नविना लामा कुशल नेतृत्व र क्षमताका कारण सधै चर्चामा आइरहन्छिन् । पछिल्लो समय युवा पुस्तामा उनको लोकप्रियता बढ्दो छ । युवाले सधै सपना देख्नुपर्छ र त्यसलाई पछ्याउँदै अघि बढ्नुपर्छ भन्ने भावना बोकेर अघि बढ्ने लामासँग गरीएको कुराकानीः 

nabina-lama

संगठनको नेतृत्व गर्न कत्तिको सजिलो रहेछ त ?
गर्न सक्छु भन्ने आँट, जिम्मेवारी बोध गर्नसक्ने क्षमता, परिस्थितिको सामना गर्न सक्ने हिम्मत, निर्णय लिनसक्ने कुशलता भएमा नेतृत्व जसले पनि गर्न सक्छ । महिला र पुरुष भनेर कसैको तह, क्षमता छुट्याउन मिल्दैन ।

भनेपछि तपाई पार्टीको नेतृत्व गर्न पनि तयार हुनुहुन्छ ?
त्यो समय र परिस्थितिले देखाउला । तर, म सधै सपना देख्ने र त्यसलाई साकार पार्न डटेर लाग्ने केटी हुँ । अनेरास्ववियुको महामन्त्री, उपाध्यक्ष हुँदै अध्यक्ष बनेकी छु । यो मेरो एउटा सपना थियो । आखिर लागिपरेपछि सफल भइदोरहेछ नि । भोलि पार्टी अध्यक्ष हुँदै प्रधानमन्त्री बन्ने सपना छ । पहिले यो बन्छु, हुन्छु, यस्तो गर्न सक्छु भन्ने विश्वास हुनुपर्छ अफ्ट्याराहरुको सामाना गर्ने त त्यसपछि हो नि ।

यसको मतलव सबै युवाले कुनै न कुनै सपना देख्नुपर्छ भन्न खोज्नु भएको हो ?
हो, सबैले एउटा न एउटा सपना देख्नैपर्ने हुन्छ । युवामा म यो गर्छु, यो बन्छु, सबै कुराको नेतृत्व गर्नसक्छु भन्ने भावना हुनुपर्छ । यसलाई एउटा सपना बनाएर त्यसलाई कसरी पुरा गर्न सकिन्छ भन्ने बाटोमा हिँड्नुपर्छ । लक्ष्यबिनाको यात्रा गन्तब्यबिहीन हुने भएकाले सपनाले लक्ष्य प्राप्त गर्न मार्ग निर्देश गर्छ । सपना आफ्नो इच्छा, चाहना, क्षमता, कुसलता र ज्ञानका आधारमा देख्नुपर्छ । र, अर्को कुरा सपना पुरा गर्ने क्रममा विभिन्न बाधा, अवरोध आउन सक्छन् । त्यसबाट पछि हट्नु भएन । निरन्तर मेहनत र परिश्रम गरेर अघि बढीरहने हो भने एकदिन पक्कै सफल भइन्छ ।

हाम्रा देशका युवा त विदेश पलायन हुने सपना देख्छन् नि ?
युवा शक्ति देश विकासको मेरुदण्ड हो । उनीहरुको ज्ञान, सिप, क्षमता राज्यको विकासमा खर्चिन सक्नुपर्छ र राज्यले त्यसको वातावरण बनाउनुपर्छ । स्वतन्त्र, सर्वभौम देशको रुपमा नेपाललाई कायम राख्नका लागि युवाले सबैसँग मैत्री सम्बन्ध स्थापना गर्न दबाब दिनुपर्छ । आन्दोलनमार्फत होस् या वैचारिक ढंगले पातलिदो राजनीतिक गुणस्तर र वैचारिकतालाई परिवर्तन गर्न सक्ने भनेको युवाले नै हो । हामी राज्यलाई दोष दिएर बस्छौँ । सरकारले यो गरेन, त्यो गरेन भन्छौँ । तर, हामीले हाम्रो स्थानबाट के गर्न सक्छौँ, हाम्रो जिम्मेवारी, कर्तव्य र भूमिका के भन्ने कहिल्यै सोच्दैनौँ । पहिले त आफै स्वरोजगार हुन खोज्नुप¥यो । कामलाई सानो र ठूलोको दर्जा दिनु भएन नि । राजनीतिलाई फोहोरी भन्ने, कृषिलाई हेप्ने अनि विदेश गएर अरुको खेतमा गोडमेल गर्ने, भेडा, बाख्रा चराउने जस्ता काम गर्ने ! नेतालाई गाली गर्ने अनि चुनावका बेला तिनै नेताको पछि लागेर मोटरसाइकलमा झण्डा फहराउँदै हिँड्ने । पहिले हामीले हाम्रो मानसिकता बदल्नु जरुरी छ । संघर्ष नगरी फल कसरी प्राप्त हुन्छ ? त्यसैले हामीले राज्यको दयनीय अवस्थालाई परिवर्तन गर्दै भोलि सवल र सक्षम राज्य निर्माण गर्ने बाटो रोज्नुपर्छ । हामीले राज्यलाई गाली गर्ने होइन कि ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार, कालोबजारी आदीविरुद्ध हस्तक्षेप गर्ने हो ।

त्यो कसरी सम्भव होला त ?
देश हाँक्ने भनेको राजनीति र राजनीतिक दलका नेताले हो । हामीले पटक–पटक गर्ने आलोचना भनेको खत्तम राजनीति र असक्षम नेतृत्वका कारण देश बनेन भन्ने हो । यदि यसो हो भने नेतृत्वमा युवा आउनुप¥यो नि । म गर्छु देशको विकास, बनेर देखाउँछु सक्षम नेतृत्व, परिवर्तन गर्छु राजनीति परिपाटी, अन्त्य गर्छु अस्थिरता र अनियमितता, रोक्छु भ्रष्टचार र ढिलासुस्ती भन्ने भावनामा दृढ भएर अघि बढ्ने हो भने ऊ अवश्य सफल हुनेछ । राजनीतिबाट प्रभावित हुने होइन कि राजनीति र नेतृत्वलाई प्रभावित पार्न सक्ने हुनुपर्छ युवा । काम गरे पोस्ट र पोजिसन अवश्य पाइन्छ । हनुमान बनेर हिँड्ने हो भने भन्न सकिन्न ।

युवाले चाहेमा रातौँरात देशले कायापलट फेर्छ भन्न खोज्नुभएको हो ?
मैले त्यसो भनेकै होइन । विकास र परिवर्तन भन्ने कुरा आफ्नै गतिमा अघि बढ्ने कुरा हो । आजका शक्तिशाली राष्ट्रहरु रातारात विकसित भएका होइनन् । त्यसका लागि देशप्रति उत्तरदायी हुनुपर्छ राजनीतिक नेतृत्व । अर्को महत्वपूर्ण कुरा भनेको भीजन हो । भीजन युवामा हुन्छ, शिक्षित जनशक्तिमा हुन्छ । त्यसको प्रयोग कहाँ र कसरी गर्ने भन्ने दायित्व त राज्यको हो नि ।

प्रशंग बदलौँ, अब त बिहे गर्ने बेला भयो होला नि । ढिला भयो जस्तो लाग्दैन ?
बिहे भन्ने कुरा गर्ने चाहनाले मात्र हुने होइन । त्यसक ालागि सबै वातावरण मिल्नुपर्छ । अझै ढिला भएको छैन, विस्तारै गरौला नि ।

खोजिसक्नु भयो कि खोजीमा हुनुहुन्छ ?
त्यो अहिले नभनौँ । बिहे पछि नै थाहा होला ।

राजनीति गर्ने सँग नै जीवन बिताउने विचार छ कि, अन्य कुनै क्षेत्रको भए हुन्थ्यो जस्तो लाग्छ ?
म आफै राजनीतिमा छु । हुनेवाला पनि राजनीति गर्ने भयो भने परिवार कसरी चलाउने ? ऊ कुनै पेशा व्यवसायमा आवद्ध भएको हुनुपर्छ । दुवै राजनीति गर्ने भयो भने घर चलाउन गाह्रो हुन्छ नि ।