बैशाख १०, २०८१ सोमबार

विपन्नको सूचीमा राखेका महिला आयआर्जनमा लागेर सम्पन्न बन्दै



बुटवल – रूपन्देहीको पोखरभिन्डी २, खुरहुरियाकी उषादेवी कोइरीले १५ सय कुखुरा पालेकी छिन् । साँझबिहान चुलोचौकोबाट फुर्सद मिल्नेबित्तिकै कुखुराको स्याहारसुसारमा जुट्छिन् । ‘एकजनाले मात्रै कमाउँदा घरपरिवार चलाउन समस्या भयो । सधैं गरिब भयौं,’ उनले भनिन्, ‘त्यसैले कुखुरा पाल्न थालकी हुँ ।’ घरछेउ आफैं लागेर खोर बनाएकी उषाले अझै ठूलो बनाएर कुखुरा थप्ने योजना बनाएकी छिन् ।

घुम्टो ओढेर दिनभर घरभित्रै बस्ने पजरकट्टी ५ की केतकी राजभरले व्यावसायिक बाख्रापालन थालेकी छिन् । उनको खोरमा २० बाख्रा छन् । २ वर्षअघिबाट बाख्रापालन थालेकी उनले ४० पाठापाठी पुर्‍याउने तयारी गरेको बताइन् । ‘घरखेतमा घाँस छ । चराउने ठाउँ छ ।’ केतकीलेले सुनाइन्, ‘छिटो आम्दानी हुने भएकाले बाख्रापालन थालेकी हुँ ।’
रूपन्दहीका गाविसका अति विपन्न २ सय गृहणी अहिले व्यवसायमा लागेका छन् । जिविस र गाविसले अति विपन्नको सूचीमा राखेका घरपरिवारका महिला अहिले व्यवसायबाटै सम्पन्न बन्ने बाटोमा छन् । गाविसका वडा–वडामा गठन भएका स्वावलम्बन महिला समूहमा आबद्ध भएका उनीहरूले व्यवसायका लागि २० देखि ४० हजारसम्म रकम पाएपछि व्यवसाय थालेका हुन् । रूपन्देही र नवलपरासीमा यस्ता १ सय ६ समूह छन् । जिविस र गाविसले अति विपन्नको सूचीमा राखेका घरपरिवारका महिलालाई सम्बन्धित गाविसको सिफारिसमा एबीसी नेपालले सिड्स परियोजनामार्फत नि:शुल्क बिउ पुँजी दिएको हो । त्यसमा कसैले कुखुरा, बाख्रा, सुँगुर, माछा र भैंसी पालेका छन् । व्यावसायिक तरकारी खेती, फलफूल, च्याउ खेती गर्ने पनि छन् । कसैले घरनजिक चिया, पान, किराना पसल गरेका छन् ।
महिलाले पनि उद्यम गरी कमाउन थालेपछि पारिवारिक अवस्था पनि सुध्रन थालेको छ । त्यसमध्येकी हुन् धकधई परासी झुंगाकी रीता थारू । २ वर्षअघिसम्म चुलोचोकौमै सीमित विपन्नको ८ जनाको परिवार पति एक्लैले धानेका थिए । छोराछोरीको पढाइलेखाइ मात्रै होइन दुई छाक जुटाउन उनीहरूलाई समस्या थियो । ‘मैले चुलोचौको सम्हाल्दै बाख्रा पाल्दै गरेपछि घरखर्चका लागि पतिको कमाइ चलाउनु परेन । २५ बाख्रा पालेकी रीताले भनिन्, ‘छोराछोरीको पढाइ–लेखाइमा निकै सजिलो भएको छ । बचत पनि भएको छ ।’
व्यवसायसँगै तिनको रेखदेख र बजारीकरणमा पनि महिलाहरू नै लागेका छन् । ‘गाउँका दिदीबहिनी छलफल गर्दा सबैको समस्या सुन्ने र सिक्ने मौका पायौं,’ पजरकट्टी सेमराको स्वावलम्बन समूहकी अध्यक्ष सारथि भर भन्छिन्, ‘गरिबीले सबैभन्दा बढी समस्या निम्त्याएपछि हटाउनैका लागि आयआर्जन थालेका हौं ।’
रूपन्देही र नवलपरासीका ग्रामीण भेकका मधेसी समुदायमा महिलाहरूले घरबाहिरको काम गर्नु हुँदैन भन्ने परम्परागत चलन अझै छ । यो तोड्न नसक्दा यहाँका महिलाहरू घरभित्रकै काममा सीमित थिए । घरभित्र घुम्टो ओडेर बस्ने महिला आयआर्जनमा लागेपछि पुरुषहरू पनि दंग परेका छन् । सुरुसुरुमा महिला समूहमा बैठक बस्न नदिनेहरूले सहयोग गर्न थालेका छन् । ‘सुरुमा विश्वास लागेको थिएन । अहिले घरघरका महिलाहरूले चुलोचौको सँगै आयआर्जनमा जुटेका छन् ।’ जिविसका सामाजिक शाखा अधिकृत दुर्गाप्रसाद श्रेष्ठले भने, ‘महिलाले पनि पैसा आउने काम गरेपछि घरव्यवहार चलाउन सजिलो भएको छ ।’ कान्तिपुरबाट