पटक-पटक महिला हुनुको परिक्षा दिइरहनुपर्छ !

संगिता खड्का / फाल्गुन २४, २०७४ - बिहिबार


सपनाका लागि बाँचेको मान्छे !

खै ! कस्तो सपना देखियो आफैलाई थाहा छैन !
त्यहि सपना प्राप्तिका लागि शिखर चढ्न खोज्दा
पलपल मर्दै ,मुर्छदै अघि बढ्न खोज्ने म मान्छे !
समाजले कोरिदिएको मेरो पहिचान घरको भात भान्छा देखि
घरका सबै सदस्यको हेरचाह गर्ने जिम्मा !
ति सबै जिम्मेवारीलाई पनि सम्हाल्दै
म मेरो सपनाका खातिर अघि बढ्न खोज्ने मान्छे !
मेरो सहकर्मी पुरुष साथीको दैनिकी सुरु हुन्छ
ओछ्यानबाट चियाको चुस्की लिदैं
मेरो दैनिकी सुरु हुन्छ सबैलाई चिया टक्राउदै !
मेरो पुरुष सहकर्मीको दैनिकी अघि बढ्छ
चिया पसलमा पत्रिका पढ्दै, विष्व राजनीतिको बहस गर्दै !
मेरो दैनिकी अघि बढ्छ हतार हतार बच्चाको स्कुल , श्रीमानको अफिस अनि आफ्नै अफिस छिटो पुग्नका लागि असिन पसिन हुदै !
हतार हतार घरको जिम्मेवारी सकेर मेरो दैनिकी अघि बढ्दै गर्दा
मेरो सहकर्मी पुरुष साथी दौडका लागि शक्ति संचय गरेर अघि बढ्न खोजे जस्तै
अनि म उठे.देखि दौडदै आधा शक्ति सिध्याए जस्तै हुन्छु ।
तरपनि म संग संगै दौडन्छु । यो दौडमा म कहिल्यै पछि पर्दिन ।
संभवत समाजले दिएको मेरो पहिचानमा सिमित भएर
घरकै चौघेरामा बस्ने छुट मलाई पनि नभएको होइन ।
तर म मेरो स्वतन्त्रता र स्वाभिमानका खातिर अघि बढ्न खोज्ने मान्छे ।
पुरुष र नारी विचको विभेद हटाउदै
समानताको सपना खोज्दै हिडेको मान्छे
थाहा छ यो सपनाका लागि मैले प्रत्येक पल मरिरहनुपर्छ ।
अफिसको जिम्मेवारी सम्हालिरहदा जति राम्रो काम गरेपनि
पटक पटक महिला हुनुको परिक्षा दिइरहनुपर्छ ।
अफिसमा पुरुष सहकर्मीहरुसंग काधमा काध मिलाएर हिडे वापत मैले मेरो सतित्व माथी उठ्ने तिखो वाणको जवाफदिइरहनुपर्छ ।
म मेरो सपनाका खातिर अघि बढ्न खोज्ने मान्छे ।
घरदेखि अफिस सम्मको यात्रामा पुरै इमान्दारिता र वफादारिता
पूर्वक जिम्मेवारी निभाउँदा पनि
म माथि नै प्रश्नै प्रश्नको वाण तेर्सिन्छ ।
मेरो पुरुष सहकर्मीले एउटा जिम्मेवारी निभाउँदा , मैले मेरा चार जिम्मेवारी निभाउँछु ।
बाटामा भेटिने विषालु सर्पहरुसंग पनि जोगिएरै
आफ्नो रक्षा गरेकै छु ।
वरिपरि भेटिने गिद्धहरु बाट पनि म जोगिनु नै छ ।

लाग्छ मेरोयात्रा ढुगेंबगरमा नांगा खुट्टाले हिड्नुसरह छ ।
कहिले कता ठेस लाग्छ , कहिले कता चसक्क घोच्छ !
ठेस लागेर खुट्टा रगत पक्ष हुँदा दुखाइको पीडा मुटु सम्मै पुग्छ !
बाटामा भेटिने काँडाहरुले घोच्दा मन निक्कै अमिलिन्छ र विचलित हुन्छु ।
चारैतिरको प्रतिकुलता हेर्दा अघि बढ्ने हिम्मत नै बाँकी रहदैन
आखिर म पनि त मान्छे हुँ ! मलाई पनि त दुख्छ !
जिन्दगीका यि उकालीहरु चढ्दै गर्दा उत्साह थप्ने साथहरु भए
अझै यात्रा कत्ति सहज बन्थ्यो होला ! मनमनै कल्पन्छु तर यात्रामा उत्साह थप्ने भन्दा खुट्टा तान्नेहरुको हुल नै ठुलो हुन्छ । जीन्दगिका यि संघर्षमय यात्रामा कसैले हतोत्साही बनाउँदा शुरु शुरुमा त विचलित हुन्थ्ये तर आजभोलि खुट्टा तान्न खोज्नेहरुको हुल देखेपछि त झन् यात्रा अझ तेज बनाउन हिम्मत जुट्छ !
चौतर्फी  प्रतिकुलतारुपि बादल छाउँदा , कहिले काँही उठ्नै नसक्ने गरि ढल्ने गर्छु ।
तरपनि मलाई मेरा सपनाहरुले ढल्न दिदैन ।
पटक पटक मरेर पनि फेरी म मेरा सपनाका लागि बाँँचेको मान्छे ।


प्रतिक्रिया दिनुहोस


सब्य र भब्य तरिका ले आफ्नो धारणा राख्नुहोस।

error: Content is protected !!