बैशाख ८, २०८१ शनिबार

क्याम्पस पढ्ने छात्रा रात्रिबसमा परिचारिका : मुस्कान सहित स्वागत



म्याग्दी — रात्रिबसमा महिला कर्मचारीले चिया–कफी र पानी सोध्छिन् । ल्याइदिन्छिन् । यात्रा बसकै हो ! बेनी–काठमाडौं बसमा दुइटी साहसिला र स्वावलम्बी परिचारिका छन् ।

अन्नपूर्ण गाउँपालिका–५, पाउद्वार घर भई राजधानीको त्रिचन्द्र कलेजमा बीएस्सी दोस्रो वर्षकी छात्रा कुसुम राना र बेनीको माउन्ट एभरेस्ट माविबाट १२ कक्षा उत्तीर्ण अन्नपूर्ण–१, दोबाकी राशु राम्जाली ।

सार्वजनिक यातायातमा थोत्रा गाडी र फोहोरी गालीमा हुर्केका चालक, सहचालक र साहुको ठालु व्यवहार भोग्ने धेरै छन् । महिला अझ बढी प्रताडित छन् । केही सुधार भने हुँदै छ । रात्रिबसमा महिलालाई यात्रा पनि सजिलो लाग्दैन ।

बेनी–काठमाडाैं चल्ने म्याग्दी–कोरला यातायातमा कफी बाँड्दै राशु राम्जाली । तस्बिर : घनश्याम खड्का

बसका कर्मचारी पढे–लेखेका महिला हुँदा भने यात्रा नै सहज भएको छ । राना र राम्जालीले बसमा काम गर्दा आत्मविश्वास बढेको अनुभव सुनाए । राम्जालीका पिता वैदेशिक रोजगारीमा बहराइन छन् भने रानाका पिता शिक्षक हुन् ।

राम्जालीको अनुभवमा कलेजका साथीभन्दा रात्रिबसका ड्राइभर, खलाँसीका शब्द सभ्य छन् । त्यही भएर उनलाई काम सुरक्षित र स्वाभाविक लागेको छ । ‘सञ्चालक र स्टाफहरू सभ्य भए व्यवसाय सभ्य बन्छ, सभ्य संस्कृति बने यात्रु आफै सम्हालिने रहेछन्,’ उनले भनिन् ।

महिला परिचारिका देखेर महिला यात्रु खुसी हुने गरेको रानाले पनि देखिन् । ‘अन्त काम नपाएर म बसमा बसेकी होइन,’ उनले भनिन्, ‘विचार राम्रो लाग्यो । सबैको व्यवहार पनि राम्रो छ ।’

राना र राम्जाली म्याग्दी–कोरला यातायात प्रालिले सञ्चालन गरेका सुविधायुक्त बसमा मुस्कानसहित यात्रुको स्वागत र सहयोग गर्छन् ।

काठमाडौंबाट बेनी आएका रघुगंगा गाउँपालिका–५, पाखापानीका असुन पाइजाले रात्रिबसमा महिला कर्मचारीको सत्कार पहिलो पटक अनुभव गरे । भने, ‘हाम्रा पहाडी सडकमा यस्ता सुविधायुक्त गाडी र परिचारिकाको सत्कार पाइएला भन्ने कल्पना थिइनँ ।’

बेनी–पोखरा–काठमाडाैं सुविधायुक्त बस सञ्चालनको होडबाजी जस्तै छ । बस प्राय: नयाँ छन् । वातानुकूलित बसभित्र फ्रिज छ । २१ यात्रु सिट छ । फ्लस सिस्टमको शौचालय, डिजिटल लकर, मिनी रेस्टुरेन्ट, सिटमा मोबाइल, ल्यापटप तथा आइप्याड चार्जर र कफी राख्ने ट्रे । यात्रुलाई टिकटमै जोडिएको खर्चमा नास्ता र चिसो–तातो पेय पदार्थ वितरण गरिन्छ ।

‘मर्यादित सेवा, गुणस्तरीय सुविधा र न्यायोचित मूल्य आवश्यक छ,’ कम्पनीका अध्यक्ष सुरज केसी भन्छन्, ‘यात्रुको आधारभूत सुविधा, सन्तुष्टि र विश्वास कायम राख्न महिला कर्मचारीले मद्दत पुर्‍याएका छन् ।’ कान्तिपुरबाट