बैशाख १०, २०८१ सोमबार

बिद्रोही कल्याणी:मलाई तिमी भन्ने ? तिमी चाँही को ?



काठमाडौं – केटाकेटी हुँदा स्कूल नै जानु नपरेपछि कति खुसी लाग्छ ? ५ कक्षाको परीक्षा दिएकी कल्याणीलाई पनि त्यस्तै भयो । कारण थियो छोरीले अक्षर चिन्न सकेपछि स्कूल जान नपर्ने ।
त्यतीबेला सिन्धुलीको जिम्दार खड्का परिवारमा छोरी पढाउने चलन त थियो तर ज्वाँईलाई चिठी लेख्न सक्ने गरी मात्र । अर्थात् ४/५ कक्षा पढाउने अनि बिहे गरीदिने ।

तर जब उनका भाई ६ कक्षामा राम्रो अंक ल्याएर एकैपटक ८ कक्षा भर्ना भए त्यसपछि उनलाई पढ्ने लोभ लाग्यो । ५ कक्षामा पढाई छोडेकी मान्छे, जिद्धि गरेर उनीपनि एकैपटक ७ कक्षामा भर्ना भईन । उनी भन्छिन् -‘ मैले ६ कक्षा पढेको छैन,पाँच कक्षा पढेपछि एकैपटक ७ कक्षामा भर्ना भएकी हुँ । ’ त्यसरी सानो उमेरमै बिद्रोह गरेर पढेकी उनी स्वभावैले क्रान्तिकारी भईन् ।

क्रान्तिकारी पनि कस्तो भने पञ्चायत कालमा जमिन्दार परीवारको नातिनी, प्रधानपञ्चको छोरी, तर संगठीत भईन् कम्युनिष्ट पार्टीमा । कुरो २०३७ सालतिरको हो । आठ कक्षा पढ्दै गर्दा नै उनी अनेरास्ववियूको विद्यार्थी नेता बनिन् स्कूलमा । उनै हुन अहिले संसदको विकास समितिकी सभापति कल्याणी खड्का ।

प्रधानपञ्च बुबाले आफ्नै असामीको तमसुक च्यातेपछि ….
उनको पारिवारिक पृष्ठभुमी राजनिति । यस्तो कि अहिले पनि पारिवारिक सदस्य र आफन्तहरु समन्वय समितिको संयोजक, मेयर, विद्यायक, माननीय सम्म । बुवा राम बहादुर खड्का त्यो बेलाका प्रधानपञ्च । तर त्यो हुँदा पनि बुवा चाँही अली जनपक्षिय हिसाबले हिड्ने । परीवारको राजनीतिक पृष्ठभूमि र बुबाकै प्रेरणामा उनी राजनतिमा लागिन् ।

‘पञ्चायतकालमा जिम्दार परिवारको भएपनि बुवाले चाँही स्वतःजेठो छोराले पाउने जिम्दार पद म लिईदिँन भनेर माइलो भाइलाई दिनुभएको रहेछ । आफू चाहिँ सानै उमेरमा प्रधानपञ्च भइसकेपछि तमसुकहरु म उठाइदिन्छु पैसा भनेर आसामी हुने ठाउँमा लगेर च्याती दिनु भएछ । त्यति गरेपछि आफन्तहरुले नै प्रहरी बोलाएछन् । मलाई सम्झना छ, त्यतिबेला प्रहरीलाई डोर-डोर भन्थे । बुवा अर्को गाउँमा जंगलको बाटो हुदै लुक्न जानुभयो । हामी रोएका छौँ, अब बुवालाई डोरले समाउछ भनेर’ उनी सम्झन्छिन ‘त्यसकारण म राजनितिमा आउनको लागि प्रभाव चाँही बुबाकै हो । त्यसमाथी बुवालाई पुष्पलालको प्रभाव थियो रे । दाइ प्रेम कुमार खड्का र काका मनोज खड्का चाँही संगठनमा लाग्नुभएका कारण मलाई त्यसले पनि प्रभाव पार्यो ।’ अहिले उनका दुई जना भाइहरु योगेन्द्र खड्का र भुपेन्द्र खड्का पनि नेकपाको महत्वपुर्ण जिम्मेवारीमा छन् ।

उनको बिद्रोहले खड्का परीवारका छोरीले धेरै पढे…
तीन दाजुभाई र आफू लगभग बरावर जस्तै तर परीवारमा छोराहरुलाई पढाएर माथिल्लो तहमा पुर्‍याउनुपर्छ भन्ने मान्यता थियो । यता छोरीहरुको हकमा भने ज्वाँइलाई चिठी लेख्न सक्ने कति सम्म पढ्दा हुन्छन्, अक्षर चिनायो त्यसपछि पढाइ छोडाइदिने । त्यति मात्र होईन घरको काम पनि छोरीले गर्नुपर्ने छोराहरु चाहिँ पढ्ने मात्र ।

सानै छँदा रमाईलो लागेपनि बुझ्ने भएपछि चाहिँ यो देखेर उनलाई खपिसक्नु भएन । ‘अनि मलाई चाँही पढ्न रोक्ने उता भाइहरुलाई चाँही ट्युसन पनि पढाउने, उनीहरुलाई त घरको मसिनो काम पनि नलगाउने, तँ छोरीमान्छे होस त्यसैले घरको काम तैले गर्नुपर्छ भन्ने’ उनी भन्छिन् ‘तर म चाँही काम नगरी भागेर हजुर आमा भाका ठाउँमा जान्थे क्या । तिनिहरुलाई चाँही गर्न नपर्ने, मैले गर्नुपर्ने ? म पहिला देखी त्यस्तो ।’

उनलाई पाँच कक्षा पढेपछि विद्यालय छुटाउँदा केटाकेटीमा रमाईलो पनि भयो । तर जब भाईलाई पढाएको देखिन्, फेरी ६ कक्षा नपढीकन सात कक्षामा भर्ना भईन् । पछि पहाडमा ७ कक्षामात्र भएकोले ८ कक्षा पढ्न दाजुले जनकपुर ल्याएर कन्या स्कूलमा भर्ना गरीदिए । तर भाई र आफूलाई फरक-फरक विद्यालयमा । उनलाई लाग्यो – परीवारले नपढाउन खोजेको त्यसैले नपढ्ने खालको स्कूलमा भर्ना गरीदिए ।

‘यस्तो छाप परेछ कि यो नपढ्ने खालको स्कूलमा किन भर्ना गरीदिएको भनेर दाईलाई नै भने’ उनले भनिन – ‘तर पछि चन्द्रनिगाहपुर बसाई सरेपछि त्यहिँ पढियो ।’
यसरी बिद्रोह गरेरै खड्का परीवारमा छोरीले पनि धेरै पढ्ने बाटो खोलेको कल्याणी बताउँछिन् । ‘त्यसैले खड्का परीवारको छोरीमा पहिलो पटक एस.एलसी गर्ने म नै हो, सुरुमा मैले बाटो खोलेँ, त्यसपछि बहिनीहरुलाई पढ्न सजिलो भयो’ गर्व गर्दै कल्याणी भन्छिन् ‘अब त अहिले बहिनीहरु कोही डिग्री गरेका छन्, कोही पिएचडी गरेका छन्, कोही डाक्टर छन् । तर पहिलो पटक चाँही मैले नै एस.एलसी गरेँ ।’

आई.ए पढ्ने बेलामा कान्छो भाई अलिकति बुझ्ने भईसकेको थियो । दिदी १ वर्ष म १ वर्ष पढ्ने हो भन्यो । मलाई त कानुन पढ्न ईच्छा थियो । तर बुबाले पढ्ने भए दाजु संगै बसेर पढ भनेपछि कानुन पढ्न पाईएन । त्यो पनि टिम्बर कर्पोरेसनमा काम गर्ने ठूलोदाजुले बुबासंग यसको जिम्मेबारी म लिन्छु भनेको कारण बुबाले देखाएपछि उनले दाजुसंग बसेर पढ्न पाईन ।

पहिला दाजुसंग बस्दा र दाजु बिराटनगर सरुवा भएपछि काकासंग बसेर पढ्दा सबै कुरामा सहयोग गरेको उनी बताउँछिन् । ‘ईभन दाजु त मिटिङ्गमा जानुपर्ने भयो तिम्रो भनेर भन्नुहुन्थ्यो, मैले पनि ब्यवहारिक रुपले विश्वास दिलाएको थिएँ’ उनि भन्छिन् ‘तर जनकपुर छाडेर बाहिर जाने भनेपछि दाई र काकाले मात्र छोडेर हुँदैनथ्यो । त्यसैले धेरै कठिनाई पर्‍यो ।’

पार्टी संगठन गर्न जाँदा घुमुवा महिलाहरु भनेर हेप्ने गर्थे
स्कूल पढ्दा शुरुमा विद्यार्थी आन्दोलनबाट शुरु गरेकी उनले २०३७ सालमा सञ्जिता रावल बाट अखिल नेपाल महिला संघको सदस्यता प्राप्त गरे संगै अनेरास्ववियुको पनि सदस्य भईन । अनेरास्वीयुमा जिल्ला कमिटी सचिव भएर छोडेकी उनी अनेम संघमा केद्रिय सचिवालय सदस्य सम्म भएपछि फेरी पार्टीतर्फ जोडिईन् । ‘२०५५ मा मैले अनेमसंघले राजनीतिक कार्यकर्ता उत्पादन गरेर पार्टीमा पठाउने नीति अन्तर्गत म पार्टीमा काम गर्न थालेँ’ खड्का भन्छिन् ।

निकै संघर्षपूर्ण यात्राबाट अहिले यो उचाईमा पुगेको उनी बताउँछिन । पहाडमा बस्दा सामान्य लागेपनि कक्षा ८ पढ्नको लागि जनकपुरको कन्या स्कूलमा भर्ना भएसंगै उनी अनेमसंघको ईलाका कमिटिमा बसिन । त्यतिबेला भने संगठनका काममा लाग्दा निकै समस्या भयो ।

‘केटाकेटी मान्छे पिकनिक जान्छु भनेर दिनभरी कमिटीका बैठक प्रशिक्षणमा भाग लिने अनि घरमा भोकै आउँदा पनि पिकनिकमा खाएर आएको भनेर भोकै सुत्नुपर्ने अवस्था थियो’ राजनीतिमा पाईला टेक्दादेखि नै शुरुभएको संघर्षबारे उनी भन्छिन् – ‘मेरो आमा त अझै ठूलो सामन्तको छोरी, आमाको धेरै बन्देज पनि थियो ।’

प्रजातान्त्रिक समर्थकका शिक्षकहरुले बाबुआमासंग तिम्रो छोरी त मिटिङ्गमा गई, पढ्दिन भनेर कुरा लगाईदिन्थे । उनी भन्छिन् – ‘तर मैले लडाई गरेरै पढेको हुनाले बुबालाई अलिकति विश्वास के थियो भने झगडा गरेर पढेकी छ यस्तो कहाँ गर्छे भन्ने विश्वास थियो ।’

राजनीतिमा नलागोस् भनेर घरभित्रको बन्देज मात्र होईन अगाडी नबढोस् भनेर घरबाहिर पनि उस्तै समस्या । कहिले गाउँलेले त कहिले केटा साथीहरुले अप्ठयारोमा पार्ने सम्मका समस्यासंग उनी राम्रैसित जुधिन् ।

‘त्यो बेला संगठनको सदस्य बनाउन केटाहरुलाई पनि बोलाउनुपर्‍यो, भेट्नुपर्‍यो , कुराकानी गर्नुपर्‍यो तर बोलचाल भएपछि लेटर पठाउने, बुकहरुमा लेखिदिने त्यस्तो हुन्थ्यो’, त्यसताकाको कुरा संझदै उनि भन्छिन् ‘राजनीतिमा अगाडी नबढोस् भनेर पनि कतिपय टिचरहरुले केटाहरुलाई सल्काईदिने, लगाईदिने, अप्ठ्यारो पार्ने यस्तो त कति भयो कति । बाटो हिँड्दा खेरी, गाडीहरुमा चढ्दाखेरी, अहिले त महिला दिदिबहिनीहरुले हिँसा सहनुपर्छ भनेपछि त्यो बेला त हामीले धेरै भोग्नुपर्‍यो ।’ तर पनि कम्युनिष्टको फलामे अनुशासनले आफूँ जोगिन सफल भएको उनी बताउँछिन । ‘त्यतिबेला पार्टी संगठनभित्र कडा अनुशासन थियो । कसैले पनि कसैलाई कुदृष्टिले हेर्न पाउने थिएन, कार्वाहीको विषय बनाउने भएकोले हिम्मत पनि गर्दैनथ्यो, असाध्यै धेरै अनुशासित हुनु
पर्‍यो ’, खड्काले भनिन् ‘अहिले त्यो हराउँदै गयो ।’

पछि घुम्ने महिलाहरु भनेर पूर्णकालिन महिलाहरुलाई हेप्ने पनि गरीयो । तर उनी खुलेर प्रतिवाद गर्थिन् ।

३२ वर्ष अगाडीको त्यो बिहे,जहाँ उनले गोडा धुन दिइनन्
घरमा थाहा दिन नहुने भएकै कारण भुमिगत काल शुरु भएपछि उनी अनेरास्ववियूको राष्ट्रिय भेलामा नाईटबस चढेर पुग्ने अनि दिनभरी बसेर फेरी भोली नाईटमा घर पुग्ने सम्म गरीन् । त्यो बेला दाजुभाइहरुको भने राम्रो सहयोग पाईन उनले ।

‘तर समाजका मान्छे कहीकतैबाट थाहा पाईहाल्ने अनि कुरा काट्ने – फलानोले त छोरीलाई यता पठायो उता पठायो, बिहे पनि गर्नु पर्दैन आफै जान्छन भन्ने’, त्यो समाजको प्रबृत्तिलाई चुनौती दिन आफूले गरेको अठोट सम्झँदै उनी भन्छिन् – ‘त्यसैले म एउटै कुरामा ढुक्क के थिएँ भने म भागेर बिहे चाहिँ गर्दिन, मैले आफै छाने भने पनि घर राखेर देखाउँछु भन्ने ईगो थियो । त्यो भएर पनि होला त्यही समझदारीमा बिवाह गरीयो ।’

बिवाहको पनि उनको रोचक प्रसंग छ । त्यो बेला महिलाहरु केही समय संघर्ष गरेर क्षमता विकास गर्ने तर बिबाह गरेर हिँड्ने अनि निश्क्रिय हुने अवस्था थियो ।

एकदिन पार्टीका नेता विनोद घिमीरे ‘जयन्त’ ले उनलाई बोलाएर प्रस्ताव राखे – ‘संघर्ष गरेका महिलाहरु बिबाह पछि निश्क्रिय हुने अबस्थाले पार्टीमा महिला कामरेडको खडेरी पर्ने भयो, तपाईको कार्यकर्तासंगै बिबाह गर्ने सोँचेका छौँ भनेर । छलफलको क्रममा उनले को संग त भनेर प्रश्न राखिन् तर जवाफ पाउँदा छक्क परीन । ‘मान्छे त मेरै घर नजिकको, हामीले कुमार दाई भन्ने (रामकुमार भट्टराई) अनि मलाई त हत्तेरीका, लौ समाजले के भन्ला भन्ने भयो’ उनले भनिन् ‘तर उहाँले धेरै तरीकाले कन्भिन्स गर्नुभयो र पार्टीले ठेगान गरेपछि म जनकपुर गएँ पढ्न उहाँ चितवन जानुभयो ।’

२०३९ सालमा कुरा टुंग्याएका उनीहरुबिच २०४३ सालमा बिवाह भयो । तर बिवाह गर्ने समय पनि उनलाई समस्या पर्‍यो । आर्मीको पृष्ठभूमिको परीवारको मान्छे । जागिर छैन कसरी पाल्छ होला भनेर परिवारले अविश्वास गर्‍यो । तर त्यसका लागि उनको दाजुले ठूलो समन्वय र सहयोग गरेपछि मात्र बिवाह सफल भयो । धेरै प्रयासले परीवारलाई कन्भिन्स गरेका उनीहरुले ३२ वर्ष अघि पनि गोडा नधोईकनै बिबाह गरे ।

‘ससुरा आर्मी भएको कारणले प्रगतिशिल बिबाह त गर्न सकिएन, बाबाले पनि बाजा सम्म बजाउनुपर्छ नत्र मलाई अप्ठ्यारो पर्छ भन्नुभयो’ उनले भनिन् ‘बिबाहमा हजुरबुबा आमाले गोडा नधोई मान्नुभएन, पछि ज्वाईँले नै मलाई आजको दिनमा तपाइहरुले खुसी पार्ने होईन ? हो भने टिका लगाईदिनुभयो भने खुसी हुन्छु, गोडा धुनुभयो भने दुःखी हुन्छु भनेर सहमतिमा ल्याउनुभयो र गोडा नधोई बिबाह गर्‍यौँ ।’

मण्डलेको सदस्यता लिन भनेपछि स्थायी जागिरै खाईनन
बिहेपछि श्रीमान भूमिगत भए, पर्सा जिल्लामा । उनी आफ्नो कार्यक्षेत्र फर्किन् । दुबै जना राजनीतिमा हुँदा आर्थिक रुपमा समस्या भने भयो । अनि फेरी पढाउन थालिन् ।

केही समय अस्थाई शिक्षकको रुपमा पढाएपछि शिक्षक सेवा आयोगको लिखित परीक्षा पास गरीन् । तर मौखिक परीक्षाको बेला उनलाई संघको सदस्यता लिएमा मात्र पास गराउने शर्त राखियो । ‘त्यो बेला मण्डलेको सदस्यता लिनुपर्छ भने तेरो जागिर तैँ खा भनेर म हिँडे अनि बोर्डिङ्गमा पढाएँ केही समय’ – उनी भन्छिन् ।

श्रीमान श्रीमति दुबै राजनीतिमा लागेकोले खुला रानीतिमा आएपछि पनि आर्थिक समस्या उस्तै नै रह्यो । त्यसैले उनले एनजिओमा काम गर्न पनि शुरु गरीन् । तर पछि पार्टीले सुकुम्बासी आयोगको अध्यक्ष बनाएपछि भने उनलाई पार्टीले मूयांकन गर्ने रहेछ भनेर पार्टीको माया लाग्यो ।

‘२०५१ सालमा सुकुम्बासी आयोगको अध्यक्ष दिँदा म चाहिँ पार्टटाईम मात्र काम गर्छु भनेर जागिर खान हिँडेको थिएँ एनजिओमा’ उनी सम्झन्छिन ‘तर पार्टीले तानेर अध्यक्ष बनाए पछि मैले के सोचेँ भने अव पार्टीले जिम्मेबारी दियो । दुःख भएपनि गाह्रो भएपनि जागिर खान जान्न भनेर म त्यहाँपछि जागिर खाईन ।’

मलाई तिमी भन्ने ? तिमी को ?
एकपटक विद्यालयमा सरस्वती पूजा थियो । जिल्लाबाट पनि धेरै अतिथी आएका । भूमिका नबाँधेको भन्दै तिमी भनेर बोलेपछि उनले किन तिमी भनेको भनेर हंगामा नै मच्चाईन । भएको के थियो भने उनलाई प्रगतिशित गीत मन पर्ने तर रेडियो नेपालका गीत आफूलाई त्यति रुचि नलाग्ने भएकोले भूमिका बाँधिनन् ।

‘त्यसपछि जिसिअले ए नानी के गरेकी हँ त्यो ? त्यसरी भूमिका बाँध्ने यसको चाहिँ बाँध्नु पर्दैन भनेपछि त्यसको छलफल गर्नुभन्दा अगाडी मैले मलाई तिमी भन्ने तिमी चाहिँ को भनेर झगडा भो’ उनी भन्छिन ‘त्यसपछि सिडियोले आएर माफी माग्नु भो र त्यसपछि काम शुरु भएको छ ।

पार्टीले विश्वास गरेर जिम्मेबारी दियो, जनताले सँधै साथ दिए
२०४७ सालमा रामकुमार भट्टराईबाट पार्टी सदस्यता लिएकी उनी विभिन्न संगठनमा काम गर्दागर्दै बिहेपछि शिक्षण पेशामा लागीन् । तर २०४७ सालमा पार्टीले जागिर छाडेर जिल्लामा राजनीति गर्न भनेपछि उनी अनेमसंघको सचिव, अध्यक्ष हुँदै पार्टी जिल्ला पार्टीको सदस्य, सचिवालय सदस्य हुँदै कार्यालय सचिव भईन् । त्यसपछि अनेम संघको केन्द्रिय सचिवालय सदस्य हुँदै पार्टीको आठौँ महाधिबेशन पछि केन्द्रिय कमिटी सम्म पुगेकी उनलाई पार्टीले निकै विश्वास गरेर जिम्मेबारी दिएको बताउँछिन् ।

२०५१ मा सुकुम्बासी आयोगको अध्यक्ष भईन्, राज्यमन्त्री सरहको । २०६८ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा जनसम्पर्क सल्लाहकार भईन् । ४८ मै पार्टीले टिकट दिएको थियो तर ४ महिना उमेर पुगेन । फेरी ५६ मा पार्टी केन्द्रले निर्णय गरेर टिकट दियो । त्यो बेला पनि जिल्लामा मिलाउनुपर्ने भएकोले उनले छाडिन् । त्यसपछि उनी २०७४ मा संघिय संसदको समानुपातिक सांसद भएपछि संसदको विकास समितिको सभापति भईन् ।

उनलाई हरेक अप्ठ्याराहरुमा अगाडी बढ्न श्रीमान रामकुमारको साथ र सहयोग विर्षिनसक्नु छ । रौतहट जिल्लाको सबैभन्दा सिनियर नेता सिनीयर व्यक्ति भएपनि भट्टराई भने पछि परेकोमा उनलाई दुःख छ । ‘म उहाँले सदस्यता दिएको मान्छे पार्टीको केन्द्रिय कमिटी सदस्य सहित यहाँ छु तर रामकुमार भट्टराईले चाहिँ वास्तबमा कुनै पनि अवसर पाउनुभएन’ उनी भन्छिन् ‘उहाँ खोज्न पनि नजाने । टिकट ल्याउँन धाउने, मलाई चाहियो भन्ने त्यो खालको प्रबृत्ति नभएपछि अवसर पनि पाउनुभएन । पार्टीले आफै मुल्याँकन गरेको पनि छैन ।’

२०७० मा चुनाव लडेर सभाषद भएका भट्टराइलाई जिल्लामा कार्यकर्ताले खुबै माया गर्ने उनको भनाई छ । ‘गर्व मलाई के लाग्छ भने जिल्लाका नेता कार्यकर्ताले २ जनालाई किन भनेर अहिलेसम्म भन्नुभएन । महिलाको कुरा आयो भने १ नम्बरमा मलाई नै र १ नम्बरमा उहाँलाई नै, उहाँहरुले २ जनालाई अहिलेसम्मै निर्विबाद सिफारीस गरेर पठाउनुहुन्छ’ उनी भन्छिन् । भट्टराई जिल्लामा २०३६ सालदेखी विद्यार्थी आन्दोलनमा लागेर केन्द्रिय सचिवालय सदस्य हुदै पन्ध्र बर्ष सम्म रौतहटको पार्टी प्रमुख भएर काम गरिसकेका छन् ।

समस्या लिएर आउनेलाई समाधान पनि लिएर आउनुस भनेर पठाउँछु
अहिले उनी संसदको विकास समिति सभापति छन् । एक त मिनि संसद, एउटा पद्धति र प्रकृयामा चल्ने । त्यसमाथी राजनीतिमा पूरै खारीएकी महिला भएकोले उनलाई काम गर्न कुनै गाह्रो लागेको छैन । उनको समितिमा २ जना पूर्व प्रधानमन्त्रीहरु पनि छन् । पार्टीमा उनीहरुलाई नेता मानेपनि संसदिय पद्धतीमा उनलाई सभापति मानेर काम गर्ने भएकोले केही समस्या लाग्छ भन्ने लाग्दैन ।
समितिमा निर्वाचित भएको चार महिना भयो तर काम गर्ने क्रममा केही समस्या आएको छैन ।

सामुहिक रुपमा निर्माण व्यवसायी, गैर सरकारी संस्था, सरकारी निकायहरुबाट केही गाह्रो सारोका कुरा आएपनि उनले समस्या संगै समाधान पनि लिएर आउन भन्दै सुझाव दिएर पठाउने गरेकी छन् । ‘व्यक्तिगत रुपमा केही कुरा आएको छैन, आयो भने पनि म स्विकार गर्दिन’ उनी भन्छिन् – ‘म एउटा महिला भएकोले पनि त्यो च्यालेन्चलाई फेस गरेर अगाडी बढ्नुपर्छ भनेर दृढता लिएको छु । कोही अधिकार खोज्न आउँदा कर्तव्य सहित आउनुहोस, समस्या लिएर आउँदा समाधानको उपाय सहित आउनुहोस भनेकी छु ।’

हिँजोको कार्यशैलीमा परीवर्तन गर्न जरुरी
अहिले स्थायी प्रकृतिको सरकार भएपनि जनअपेक्षा अनुसार काम हुन नसकेकोले त्यसलाई रोक्नु चुनौतीपूर्ण रहेको उनको भनाई छ । त्यसको लागि राजनीतिकर्मी र कर्मचारीतन्त्रले कार्यशैलीमा परीवर्तन गर्न जरुरी रहेको उनले बताईन् । ‘हिँजोको प्रबृत्ति, कार्यशैली र कर्मचारीतन्त्रको मनोबृत्तिको कारण विकास निर्माणका कामले गति लिननसक्दा अनियमितता, समृद्ध नेपाल र सुखि नेपाली अभियान सबै लगालिंग छ’, उनले भनिन उनी भन्छिन् ‘सरकारको तर्फबाट पनि प्रयास त भएका छन यद्यपि समितिले त्यसलाई नियमन गर्ने कुरा, ढिलासुस्ती रोक्ने कुरा, भर्खर भर्खरै जिम्मेबारी पाएकोले ब्रिफिङ्ग लिने र अध्ययन गर्ने काम भईरहेको छ ।’