जेष्ठ ७, २०८१ सोमबार

कित्ली देख्दा पहिलो कमाइ याद आउँछ



neeta dhungana
नीता ढ‌ुंगाना, अभिनेत्री

मलाई मेरो जीवनको पहिलो कमाइ राम्ररी याद छ । त्यतिवेला म जम्मा ६ वर्षकी थिएँ । मलाई बच्चैदेखि नाच्न, अभिनय गर्न खुब मन पथ्र्याे । त्यसकारण मन त्यसमै मात्र जान्थ्यो । सोही क्रममा मैले ‘चेतना’ नामक टेलिसिरियलमा अभिनय गरेँ । त्यसमा अभिनय गरेबापत मैले पाँच सय रुपैयाँ पारिश्रमिक पाएकी थिएँ । त्यो नै मेरो जीवनको पहिलो कमाइ हो । त्यो पारिश्रमिक मैले आमालाई दिएकी थिएँ । छोरीले अभिनय गरेर पारिश्रमिक पाएकोमा आमा साह्रै खुसी हुनुभएको थियो । त्यतिवेला उहाँले मलाई ‘धेरै प्रगति गरे’ भनेर आशिर्वाद दिनुभएको थियो । छोरीको पहिलो कमाइ सधैँ याद होस् भनेर आमाले चिया पकाउने कित्ली किन्नुभएको थियो । त्यो कित्ली अहिलेसम्म पनि छ । केही पैसाले मलाई जामा किनिदिनुभएको थियो भने केही रकम मैले चक्लेट खाएर सिध्याएकी थिएँ । त्यसपछि पनि मैले बालकलाकार भई अभिनय गर्दै गएँ । एकातिर पढाइ थियो, अर्काेतिर अभिनयमा रुचि । पढाइ नबिग्रिने गरी अभिनय गर्दै गएँ । ठूली भएपछि भने पहिलोचोटि हिरोइनका रूपमा ‘चाँडै आउ है’ फिल्ममा अनुबन्धित भएँ । दीपक रायमाझीको निर्देशनमा बनेको सो फिल्मबाट मैले पारिश्रमिकस्वरूप पचास हजार रुपैयाँ पाएकी थिएँ । त्यतिवेला काठमाडौंमा स्थापित हुन नै गाह्रो अवस्था थियो । त्यो पारिश्रमिकमध्ये केही रकमले रुम सेटल गरेँ । केही रकम  ड्रेसमा खर्च गरेँ अनि केही भने आमालाई दिएँ । त्यसपछि मैले निरन्तर काम पाउँदै गए । आफूलाई पुग्दो पैसा कमाउँदै गए । तर, अहिले  लाखलाखका हिसाबले कमाइ हुने भए पनि मलाई मेरो जीवनको त्यो पहिलो कमाइ नै प्यारो लाग्छ । कित्ली देख्दा त्यो पाँच सयको याद आउँछ ।