जेष्ठ ६, २०८१ आईतबार

तिजमा कस्ताे पहिरन ?



teej-2रचना श्रेष्ठ

रिमन कस्मेटिक्स, कौशलटार

तिजमा विवाहित महिलाले आफ्नो रुचिअनुसार फरक–फरक शृंगारका गहना प्रयोग गर्छन् । अघिल्ला वर्षहरूमा जस्तै योपटक पनि घाँटीमा लगाइने गहनामा पोते, छड्के तिलहरी, नेक्लेस, जन्तर, नौगेडी, मंगलसुत्रलाई रातो, हरियो वा पहेँलो पोते वा मिश्रित पोतेसँग मिलाएर लगाइन्छ । तिजमा अविवाहित युवतीले भने विभिन्न डिजाइनका मोती सेट, पत्थर सेट र चेन लगाउँछन् ।

कानमा विभिन्न डिजाइनका टप, इयररिङ, झुम्का तथा मुन्द्रा लगाउन सकिन्छ । निधारमा विभिन्न डिजाइनका स्टोनजडित वा सादा टीका प्रयोग हुन्छ । विवाहितले हातमा स्टोनका सेट बाला, काँचका चुरा तथा पोतेको बाला रुचाएको देखिन्छ ।

आफूले लगाएको कपडाअनुसार नेलपोलिस गर्दा सुहाउँछ । पोलिसले नङको सौन्दर्य झल्काउने मात्र होइन, नङको सुरक्षा पनि गर्छ । तिजमा रातो नेलपोलिस नै सुन्दर देखिन्छ ।

रातो सारीमा रातो नेलपोलिस नै राम्रो हुन्छ । हरियो र पहेँलो सारीमा हरियो र पहेँलो नै नेलपोलिस प्रयोग गर्दा सुहाउँछ ।  तिजको अवसरमा धेरै डिजाइन एवं रङका टीका उपलब्ध छन् । बजारमा हिजोआज गोलो तथा लाम्चो डिजाइनका स्टोन, पोते, मोती तथा मुगाजडित टीका पाइन्छन् । यस्ता टीका सारी र कुर्ता–सुरुवालमा इच्छाअनुसार लगाउन सकिन्छ ।