बैशाख १६, २०८१ आईतबार

राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश ज्यू : गर्भ देखि चिहान सम्म नेपाली नारी पिडित छन्



सम्माननीय राष्ट्रपति बिद्या भण्डारी ज्यू

सभामुख ओनसरी घर्ती ज्यू

प्रधानन्यायाधीश शुसीला कार्की ज्यू ,

सर्वप्रथम त हार्दिक बधाई छ यो देशको गरिमामय प्रमुख उच्च पदमा आसन गर्नु भएकोमा !!

गौरबको कुरा यो छ कि हाम्रो नेपाल जस्तो छोरीलाइ सन्तान होइन भन्ने देशमा जन्मिएर पनि उच्च स्थान मानिने व्यबस्थापिका, कार्यपालिका र न्यायपालिका तिनै उच्च पद सम्हालेर छोरीले घरमात्र होइन राष्ट्र पनि चलाउन सक्छन भन्ने प्रमाणित गरेर देखाउनु भएको छ। नारीको उन्नतिमा हरेक नारि खुशी हुनुपर्छ भन्ने मान्यता छ मेरो।

नारी उच्च ओहोदामा पुग्दा नारीहरुका हक हित र अधिकारका लागि कुनै राम्रो अनि नयाँ कानुन बानिएला कि भनेर धेरै अबला नारीहरु ठुलो आशा बोकेर बसेका छन् ।

सम्माननीय व्यबस्थापिका, कार्यपालिका र न्यायपालिका प्रमुख ज्यू तपाईहरुलाई मेरो एउटा प्रश्न छ :

तपाईहरु तिनै जना देशको उच्चा पदमा रहेको बेला नेपाली नारिको हक हितको लागी के गर्दै हुनुहुन्छ ?? कस्तो कानुन बनाउदै हुनुहुन्छ ??

पत्रपत्रिकाको मुख्य पेजमा देखिनु उद्घाटनमा रिबन काटेर टिभीको समाचार बन्नु र दुई चार जना बडीगार्ड अघि पछी लगाएर हिड्नु मात्र देशको प्रमुख पदमा रहेको उपलब्धी होइन । सक्नुहुन्छ भने यो देशबाट महिला हिंशाको अन्त्य गर्ने कदम चाल्नुस् सक्नुहुन्न भने बुढो गोरुले गाई ओगटे जस्तो गरि पद ओगटेर नबस्नुस् ।

यो देशमा तपाइँ हामीहरु जस्ता छोरीहरुलाइ जन्मिनु पहिले नै भ्रुण हत्या गरेर जन्मिने अधिकारबाट बन्चित गराइन्छ। जन्मिए पछी पनि सधै कर्कलाको पातमा पानीको ढिक्का डराय जस्तो डराइ डराई जिउन बाध्य छन् नेपाली नारीहरु।   यति मात्र कहाँ हो र ! कतिबेला शोषण हुन्छिन, बलात्कृत हुन्छिन अनि बलात्कार पछी हत्या हुन्छिन, बिहे गरे लगत्तै लोग्ने मरे अलछिनीको उपनाम बोकेर घर निकाला हुन्छिन। दाइजोको कारण जिउदै जलाइन्छिन्, बोक्सीको नाममा कुटीइन्छीन मलमूत्र बिकार खुवाइन्छिन् यो हरेक दिनको अत्याचारको समाचार तपाइहरुको कान सम्म पनि पुगेको होला तर किन चुप लगेर कानमा तेल राखेर बस्नु हुन्छ ?

के यस्ता घटनाले तपाईहरुको मन दुख्दैन ? मन छिया छिया हुदैन ? आफु देशको जिम्मेवार पदमा रहेको बेला नारी हक हित र अधिकारको लागी एउटा विरुवा रोपि दिउँ जस्तो लाग्दैन ?

केहि समय अघि नेहा पूनको बलात्कार गरि हत्या गरियो त्यसबेला निकै ठुलो हंगामा मचियो पत्रिका, टिभी र रेडियोको मुख्य समाचार बन्यो कतिपय अनलाइन न्युज हरुले बिभिन्न चाहिने नचाहिने शिर्सक राखेर आफ्नो व्यापार गरे तर अहिले कुरा सेलायो. बलात्कारी हत्यारा सरकारको ढुकुटीको भात खाएर बसेको छ केहि वर्ष जेल सजाय भोगेर रिहा हुनेछ अनि छत्ती फुलाएर यहि समाजमा हिड्ने छ के  नारिको मूल्य यति नै हो त ?

नेहा त एक पात्र मात्र हुन् यहाँ धेरै नेहाहरु यौन पिसाचुको सिकार बनेर ज्यान गुमाएका छन् । ६ बर्षीय बालिका वर्षा दर्लामी स्कुलबाट घर आउदा बलात्कार पछी मारिइन । हत्यारालाई जेल राखियो होला तर जेल बस्नु मात्र सजाय होइन। त्यस्तै फुटबलर बिमल घर्तीकी बाहिनीको हत्या पनि समाचारमा मात्र सिमित भयो ।

दिन दिनै बढ्दो महिला हिंशाका कुराहरु सुन्दा र देख्दा यस्तो लाग्छ कि कहिले आउछ नारीका ति दिन जुन दिन नारीले आफुलाई सुरक्षित महसुस गर्न सकून् नारीलाइ यो समाजले सम्मान गर्न सकोस् ।

नारी धर्ती हुन् आमा हुन् नारी बिनाको संसार कल्पना गर्न पनि सम्भब छैन । तर यिनै नारीलाइ किन यति धेरै दुर्व्यवहार ?? बाटोमा एक्लै देखे जिस्काउने देखि सर्बजनिक यात्रामा गर्ने घिनलाग्दो व्यवहार लगायत नारी असुरक्षाका कैयौं उदाहरणहरु छन्। हुन त नारीहरु पुरुषबाट मात्र पिडित छैनन् नारीबाट नै पनि पिडित छन् । सबै नारी सहि र पुरुष सबै गलत भन्ने होइन नारीहरु पनि खराब छन् । तर देशमा दरिलो कानुन बनियो भने त्यस्ता खराब नारीहरु पनि ठिक लाग्ने छन् ।

देशको मुख्य तिनै पदमा आश्रित महिला सम्माननीय ज्युहरु घटना हेरेर कारबाही र बलात्कार पछी हत्या गर्ने यौन पिपासु हत्यारालाइ फासीको कानुन बनाइयोस् । कमसेकम तपाईहरु उच्च पदमा भएको बेला सबै काम एकै चोटी गर्न नसके पनि कुनै एउटा कानुन बनाएर सुरुवात त गरिदिनुस । बुरुवा नै नरोपी कसरी फलको आशा गर्ने ? तपाईहरु उच्च पदमा भएको बेला बिरुवा त रोपी दिनुस् । रोपिएको बिरुवालाइ तपाइँहरु पछी त्यो पद आसन गर्ने हरेकले मलजल गरेर हुर्काउने छन् ।

नेपाली नारीहरुले अति नै सहेका छन् । अत्याचार सहेका छन् गर्भ देखि चिहान सम्म नारी पिडित छन्। तपाईहरुको कार्यकालमा नारी सुरक्ष्याको कानुन बनाउने सुरुवात मात्र गरिदिनु भयो भने सारा नेपाली नारीहरुले तपाईहरुको सधै सम्मान गर्ने छन्।

यो मेरो मात्र अनुरोध होइन सारा नेपाली नारी अनि नारी हकहितको पक्षमा बोल्ने पुरुषको पनि अनुरोध हो।

सक्नुहुन्छ भने नारीको पक्षमा दरिलो कानुन बनाउने कोशिस गर्नुस सक्नुहुन्न भने त्यो उच्च कुर्सीमा बस्नुको कुनै औचित्य हुदैन ।

जस्मीन श्रेष्ठ