बैशाख १२, २०८१ बुधबार

हिन्दी फिल्म निर्देशन गर्दै नेपाली महिला



नमिन ढकाल-

suchitra-shrestha_yznffl3ftt२ असाेस, इलाम : नेपालकै पहिलो महिला निर्देशकको पहिचान बनाएकी सुचित्रा श्रेष्ठले  अब हिन्दी फिल्म पनि निर्देशन गर्दैछिन्। नेपाल र भारत दुवै देशमा छायांकन गरिने तथा नेपाली र हिन्दी दुवै भाषामा निर्माण हुने फिल्म ‘चक्र’ को निर्देशनको जिम्मा उनले पाएकी छन्।

दुवै मुलुकका दर्शकलाई लक्षित गरी दुई भाषामा निर्माण गरिने फिल्मको निर्देशकमा श्रेष्ठसँगै भारतीय निर्देशक राजेशराज पनि रहनेछन्। नेपाल र भारतको फरक भाषा र समुदायमा फिल्म छायांकन गरिने भएकाले निर्माण सहजताका लागि नेपाली र भारतीय  निर्देशक राखेको निर्माण पक्षले बताएको छ। निर्देशक सुचित्राले फिल्म निर्माणमा पनि साझेदारी गरेकी छन्।

मुख्य निर्माता अनवर राज र कथा लेखक शशिकुमारसँग केही वर्ष अघि नै फिल्म निर्देशनको विषयमा कुरा भएपनि बल्ल काम सुरु हुन लागेको जानकारी दिइन्। नेपाली फिल्म बजारमा बढ्दो हिन्दी फिल्मको प्रभाव नियाल्दै हिन्दी भाषाको फिल्म निर्देशनमा लागेको र उक्त फिल्मका लागि प्राविधिक र प्रविधि भने नेपालकै प्रयोग गर्ने सुचित्राले जानकारी दिइन्। उनका अनुसार फिल्मको ७५ प्रतिशत भारतको बिहारमा र २५ प्रतिशत नेपालमा छायाङ्कन हुनेछ।

फिल्ममा नेपाल र भारत दुवै देशका कलाकार मुख्य भूमिकामा रहनेछन् भने मुख्य नायक नेपाली रहे हिरोइन भारतीय र मुख्य हिरोइन भारतीय रहेमा नेपालका हिरोलाई मौका दिइने सुचित्राको भनाइ छ। कलाकार छनोट छिट्टै गरिने पनि उनले जानकारी दिइन्। १२ करोड भारतीय रुपैयाँ बजेट बताइएको सो फिल्म आगामी लक्ष्मीपूजाको दिनबाट छायांकन सुरु हुनेछ।

को हुन् सुचित्रा ?

२०२८ सालमा इलाम नगरपालिका १ स्थित प्रकाशपथमा जन्मिएकी सुचित्रा श्रेष्ठले इलामकै विद्यालयहरु आदर्श प्रावि र आदर्श मावि विद्यालय शिक्षा पूरा गरिन्। उच्च शिक्षाका लागि २०४६ सालमा काठमाडौं गएकी उनले पाटन क्याम्पसबाट आइएस्सीको अध्ययन सकिएपछि रत्न राज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता अध्ययन गरिन्। उनको फिल्मी करियरको ढोका तब खुल्यो जब उनको भेट निर्देशक रमेश शाहीसँग भयो। काठमाडौं बसेर रङ्ग पत्रकारिता गर्दै गरेकी सुचित्राको त्यतिनै बेला पढाईबाट फरक करियरको लागि बाटो मोडियो। बाल्यकालका स्मृतिहरु कसको लागि प्यारो नहोला र? सुचित्रा पनि आफ्नो बाल्यकाल बितेको इलामका बुट्टा र पाखाहरु अझै पनि स्मृतिमा रहेको बताउँछिन्। उनले भनिन्, ‘इलाम प्रतिको माया झल्काउन मसँग कुनै शब्द नै छैन। त्यही स्मृतिलाई ताजा गराउन म बर्षमा एकपटक इलाम आउछु।’

२०४८ सालमै नेपाल टेलिभिजनको लागि स्मृति, अकल्पित जस्ता चर्चित टेलिचलचित्र बनाएर उदीयमान  निर्देशकमा आफुलाई दर्ज गरेकी सुचित्राले आफ्नै लेखन तथा निर्देशनमा भाइटीका टेलिफिल्म बनाएपछि आफुलाई अब्बल लेखक पनि सावित गरिन्। उनले २०५५ सालमा काठमाडौंका तीर्थ श्रेष्ठसँग लगनगाँठो कसिन्। शिक्षासेवी तीर्थको रुचि फरक क्षेत्रमा भएपनि आफ्नो पतिबाट उनले चलचित्र क्षेत्रमा राम्रो सपोर्ट पाइरहेको बताइन्। उनका छोरा शाश्वत श्रेष्ठले पनि हालसम्म ३ वटा चलचित्रमा बाल कलाकारको रुपमा अभिनय गरेका छन्। सुचित्राले २०५८ सालमा निर्देशन गरेको ‘प्रेमयुद्ध’ नै पहिलो नेपाली महिलाले निर्देशन गरेको हो।