आश्विन २०, २०८१ आईतबार

पुरुष खराब हुँदैनन्, मन सुनौं



sarala-gautam-300x0सरला गौतम 

‘म नारीवादी हुँ। नारीवादी हुनु भनेको असमानताको विरोधी हुनु हो। आखिर हामीले चाहेको समाज यस्तै त हो।’ अमेरिकी राष्ट्रपति ओबामाको भर्खरैको चर्चित भनाइ हो यो। उनले महिलाको जीवन नजिकबाट बुझेर नियाल्नुले निर्धक्कसँग यसो भन्न सकेको पनि भनेका छन्। खासगरी ह्वाइटहाउसमा हुर्कंदै गरेका आफ्ना साना छोरीहरुको सामिप्यताको कारण।

एक वर्षअघि चैतन्य मिश्र सरसँग पहिलो भेटमा पहिलो प्रश्न गरेँ, ‘सर हिजो पार्टीबाट फर्कंदा म पछाडि कोचिएर बसेँ। किन अगाडि बस्नुस् भन्नु भएन?’

उनले यसो पनि भनेका छन्, ‘केटा रुनु हुन्न। केटीले खुलेर बोल्न–हाँस्न हुन्न। केटीको यौनिकता सजायको विषय, केटाको पुरस्कारको विषय, यसो हुनुहुँदैन। हामी केटाहरु नै यो विभेदको विरुद्धमा उभिनुपर्छ।’

उनको भनाइ पढेपछि केहि वर्ष पहिले हिमालमा छापिएको नम्रताको भिडियोबारेको मेरो लेखको प्रतिक्रिया सम्झेँ। लेख त छापियो तर घरकाले नपढे हुने, यही थियो मेरो चाहना। खासगरी एकजना मेरा काकाले। पत्रिका बजारमा पुग्दानपुग्दै फोन आयो। नाम नक्कली स्वर सक्कली। प्रसंशाका शब्दहरु उस्तै आवाजमा थिए जस्तो मेरो पहिलो कविता छाँपिदा पाएको प्रतिक्रियाको स्वरमा थियो।

फोनमा उनै काका हुनुहुन्थ्यो जसलाई मैले पुरातनको बिल्ला मनमनै भिराइरहेकी थिएँ। घरका मान्छेको मन नसुनी संसार बदल्न हिँडेको आफ्नो मुर्खतासँग खिस्स हाँसे म। नम्रताको लेखको सवालमा सकारात्मक टिप्पणि दिने जानेमाने महिला अधिकारकर्मी भन्दा धेरै अपरिचित पुरुषहरुकै संख्या भेटेँ। सबैको मनोकामना यही थियो, उनको जीवन पहिलो हो बाँकी कुरा तपसिल।

अहिले यतिबेला जनकपुरमा भेटिएका अधिकारकर्मी रोशन ढकाललाई सम्झिरहेछु। उनी मेरै लागि अन्तर्वार्ता दिन बरमजियाबाट आएका थिए। मैले सँगै गाउँ जान्छु भनेँ। सरक्क मोटरसाइलमा चढेँ। एउटै चिया पसल नछाडि कुरा गर्दै हामी गाउँ पुग्यौँ। पुगेपछि मेरो अन्तर्वार्ता सुरु भयो। राम्रोसँग नचिनेको मान्छेसँग एकैपटक किन आउनुभयो?

मैले भने, ‘संसारका हरेक लोग्ने मानिस बलात्कारी हुँदैनन्। भेटिएका हरेक मान्छेसँग मेरो प्रेम हुँदैन। रह्यो सुरक्षाको कुरा। सबै केटाहरु बाहुबलीमा तगडा हुँदैनन्, उनीहरु आफ्नो सुरक्षा आफूले बनाएको सञ्जालबाट गर्छन्। काम गर्दै जाँदा मेरो पनि त सञ्जाल बनेको छ।

एकछिन सोचेर उहाँले भन्नुभयो, ‘मेरी सानी छोरी छ। जहिले चिन्ता लाग्छ। यो खतरनाक समाजसँग कसरी भिड्ली भनेर। अधिकारकर्मीकी छोरी घरमा बाँधेर राख्नु भएन। आज म धेरै हदसम्म शान्त भएँ।’

केही दिनअघि नजिकैको स्कुलमा तालिम चलाइरहेका महिलाहरुलाई उनले आफ्नो घरमा बस्न बोलाएका रहेछन्। सुविधा होस भनेर। उल्टै उनको नियत खराब हुन सक्छ भन्दै कोही आएनन् रे। उनले चित्त दुखाए। धत् ! हामी कति सजिलै आक्षेप लगाइदिन्छौँ।

अनि फेरि घुम्दै काम गर्ने मजस्ती छोरीको बाउ सम्झेँ। कुराउनी भन्न नपाउँदै आफैँ तम्सेर घोट्न बस्ने मेरा बा ! बाउ–छोरीले आगोको रापमा पसिना पुछ्दै एक दिन निकैबेर एक अर्कालाई सुन्यौँ। पत्रकार छोरी र व्यापारी बाबुबीचका सुख–दुःखका कुरा। त्यही बेला लाग्यो, आमासँगै बसेर भाइहरुले यसरी नै मन साटासाट गरे हुने।

बा–आमाकै करले एक महिने दक्षिण भारत भ्रमण जान राजी भएँ। साथमा फेरि काका पनि। फेरि लाग्यो काका नभए पनि हुने। भ्रमणका क्रममा मलाई काकाले एकसे एक जिग्री जोस्त बिर्साइदिनुभयो। काका र म आफ्नो सिट ढुकेर एकअर्कालाई हेर्दै बस्थ्यौँ। नाइके बुबाले कुरा बुझेर माथिमाथिको सिट देखाइदिनुहुन्थ्यो। बाँदरजस्तो आफ्ना सिटमा फुत्त चढेर हामी गफिन थाल्थ्यौँ।

मैले अद्वैतआत्माको ठूलो गफ दिएँ एकदिन। काकाले जोगीले ढाँटेर प्रेमिका राखेको प्रसंग सुनाउनु भयो। मैले के जोगीले प्रेम गर्न नपाउने भनेर एड्भोकेसी छाँट्नै आँटेको। काकाले आफ्नै तालमा भन्नुभयो, ‘जोगीको पनि जैविक आवश्यकता हुन्छ। दबाउन हुन्न। तर उसले ढोँग नगरी भनेरै राख्नुपर्दथ्यो।’

आफूलाई ठग्नेलाई उल्टै ठगेर रल्लिँदै हिँड्नु, पहेँलो लुगामा नक्कली जोगी बनेर स्वागत खाँदै मन्दिर छिर्नु लगायतका चटक त हामीले कति गर्यौ कति। जगनाथ पुरीको मन्दिरमा नेपाली तीर्थयात्रीलाई बाटो छेकेर पैसा माग्ने पन्ना अनि मेरो रिस। मैले डायलग मारेँ, ‘पुलिसले समातोस् वा मिडियाले खिचेर मेरो बदनाम होस् आज पन्ना नकुटी छोड्दिनँ।’ यति भनेर पन्ना कुट्न हिँडेको मलाई काकाकै ब्याक सपोर्ट थियो। थर्काइमै ऊ साइजमा आयो कुट्न परेन। अनि काकाले ‘सही नियतको क्रोधमा धर्म हुन सक्छ बद्नियतको विनयीपनामा पाप पनि हुन सक्छ, ठिक गरिस्’ भन्नुभयो। एक महिने घुमाइमा भएका संवाद र मित्रताले काकाप्रतिका धेरै भ्रम चिरिए।

रामेछापबाट पूर्वन्यायाधीश सूर्यनाथ उपाध्याको टिममा म काठमाडौँ फर्कंदै थिएँ। पछाडिको सिटमा बसेर। उहाँले आफ्नो अगाडिको सिट मलाई दिन खोज्नु भयो। मैले एडजस्ट गर्न सक्छु भन्दै सम्झाएँ। अनि हामी पछाडिका मान्छेहरु समावेशी लगाएतका विषयमा निकै छलफल गर्दै, कैले चुट्किला पनि भन्दै बाटो काट्यौँ। उपाध्याय सरले चिया पिउने बेला भन्नुभयो, ‘हाम्रो पालामा केटाकेटीको संगत भनेको त प्रेमी–प्रेमिका मात्र बुझिन्थ्यो। तपाईंहरु कस्तो गजबले गफिनु भयो। यो कस्तो मित्रता। समय फेरिएछ है।’

मन सौराहा पुग्यो। आठ वर्ष पहिले महिला हिंसामा पुरुष र महिलाको समान खबरदारी चाहिन्छ भन्ने विषयमा तालिम थियो। घुम्न जाने दिन आयो हात्तीमा चढेर। म अलि ढिलो पुगेँ। केटाहरु मात्र भएको हात्ती तयार थियो। एउटा सिट खालि राखेर। सरासर चढेँ। जंगल सवार भयौँ। बिच जंगलमा यात्री मध्ये एकले भने, धन्यवाद सरलाजी हामीलाई विश्वास गर्नु भयो। मैले कुरा बुझिनँ। उनले बुझाए। एउटा मात्र सिट खालि किन रहेछ भने अरु कोही केटी चढ्नै नमानेर। केटा–केटा छन् भनेर डराएर।

अनि अर्काले थपे, ‘यति दिन हामीले सँगै समानताको कुरा गरेका छौँ। अनि एकछिन सँगै हिँड्दा उही शंका र अविश्वास।’ मैले सुनिरहेँ। उनीहरुले निकैबेर चित्त दुखाए। पहिलो पटक नै सायद मैले पनि थाहा पाएँ केटाहरुको पनि चित्त दुख्दो रैछ। अविश्वास पनि एकखालको सजाय रहेछ। रेडियोमा लैङ्गिक समानताको कार्यक्रम चलाउँदा पुरुषहरुको मनका कुरा सिरिज नै चलाएँ। उनीहरु प्रेम र करुणा कम अभिव्यक्त किन गरिरहेछन्, किन हिंस्रक भइरहेछन् आदि धेरै विषयमा। संवादले यसै पनि धेरै कुराको समाधान निकाल्छ।

एक वर्षअघि चैतन्य मिश्र सरसँग पहिलो भेटमा पहिलो प्रश्न गरेँ, ‘सर हिजो पार्टीबाट फर्कंदा म पछाडि कोचिएर बसेँ। किन अगाडि बस्नुस् भन्नु भएन?’ उहाँले सहजै जवाफ दिनु भयो, ‘अब केटीहरु भिड्न सक्ने भइसकेका छन्। अप्ठेरोमा त कुरा अलग छ।’ अनि हामीले नेपाली समाजको चरित्रबारे निकैबेर संवाद गर्यौँ। सेन्स अफ ह्युमरदेखि राजनीति सम्मका।

भारतीय अधिकारकर्मी कमला भासिनसँग केही वर्ष पहिला कुराकानी गर्दा सोधेँ, ‘कमला के साँच्चै सबै पुरुष खराब छन्, सारा गल्ती पुरुषको मात्र हो?’

उनले उदाहरणबाटै सम्झाइन्, एकजना पुरुष मित्र उनीसँग निकै रोएछन् एकदिन। किन त?

उनकी श्रीमती बिरामी पर्दा छोराछोरी अस्पतालमा आएर आमालाई अँगालेर बसे रे। उनी पनि त्यस्तै बिरामी परे। अपेक्षा गरे त्यस्तै मायाको अँगालो। छोराछारी आए ढोकामा बसिरहे। उनले अँगालो पर्खिरहे। तर उनीहरु ढोकैबाट फर्केर गए।

‘रातदिन नभनी छोराछोरीको सम्वृद्धिका लागि मेसिनजस्तो दौडिएँ । कुन बेला थाहै नपाई एउटा कठोर अनुशासित बाबुमा परिणत भएँ। आफ्नै सन्तानसमेत नजिक आएनन्’ कठोर स्वभावका देखिने उनी मन कँुडाएर रोएछन्। कमलाले मलाई भनिन्,‘खराब हुँदैनन् पुरुष। खराब हुन्छ दोषि सोच। कठोर आक्षेपले होइन एक अर्काको मन सुनेर मित्र बनेर लड्नुपर्छ असमानतको लडाइँ।’

हृदय खराब कसको पो हुन्छ र!