चैत्र ६, २०८० मंगलबार

नेपालमै लामो दूरीको गाडी हाँक्दै महिला



laxmi-photo-lamo-duri

१५ कार्तिक, काठमाडौं – सामान्यतया लामो दूरीको यात्रामा महिला चालक रहँदैन तर मोरङ्गको मधुमल्ला–३ तोरी बारीकी लक्ष्मी पाण्डेले असोज २४ गतेदेखि टाटा सुमो चलाएर काठमाडौँदेखि दमकसम्मको यातायात सेवा दिन थालेकी छन् । पछिल्लो समय दमक–१३ मा बस्दै आएकी पाण्डेले १२ जना अट्ने सवारी साधनको पूर्णकालीन चालकको कठिन भूमिका निर्वाह गरेकी छन् ।

दुईवर्ष अघि साना तथा मध्यम सवारी साधन चालक अनुमति पत्र लिई छोटो दूरीको साधन चलाएर सेवा दिँदै आएकी उनले दशैंदेखि लामो दूरीको सवारीमा हात हालेकी हुन् । करिब तीन साता उता पाण्डेले मे १ ज २०६३ नम्बरको गाडीबाट दमकदेखि काठमाडौँ र काठमाडौँदेखि दमकसम्म यात्रु ओसार्न थालेकी छन् ।

पाण्डेले चलाउँदै आएको गाडीमा चढ्न सुरुमा डराउने, हिच्किच्याउने र लजाउनेहरु महिला पुरुष दुबैले अहिले निर्धक्कसँग गाडी चढ्न थालेका छन् । महिला भएर लामो दूरीमा सवारी साधन चलाउन पाएकामा खुसी देखिने पाण्डे लामो दूरीको गाडी चलाउँदा आफूमा कुनै त्रास नरहेको बताउँछिन् ।

यसअघि आफ्नै दिदीको छोराले चलाउने गाडी चलाउन थालेकी उनले भनेकी छन्, ‘सुरुमा त यो गाडी उकालोमा चलाउँछु भन्दा छोराले पनि पत्याएन । उसले चलाउन दिएकै थिएन । जबरजस्ती आफै चलाउन थालें, पछि त राम्ररी चलाएको देखेर छोरो नै छक्क पर्‍यो।’ ‘अहिले त कतिपय यात्रुले मलाई बाँदरको जस्तो मुटु भएकी भन्छन् ।’ लक्ष्मीले थपिन्, ‘तपाईको ढाडमा मुटु छ कि क्या हो भनेर सोध्छन् । पनि !’

राति, बिहान वा दिउँसो जुनसुकै समय ट्राफिक नियम पालना गर्दै यात्रुहरुलाई गन्तव्यमा पुर्‍याउन पाएकामा उनी सन्तुष्ट छिन् । लामो दूरीको यात्रामा एक्लैले ७–८ घण्टासम्म लगातार गाडी कुदाउने गरेको र आवश्यकता परे २४ घण्टामा २ पटक सम्म दमक–काठमाडौँबीच ओहोरदोहोर गर्ने साहस आफूसँग रहेको उनले बताइन् ।

उनलाई गाडी चलाउने जिम्मा दिएका गाडी धनी रामेछापका मोहन गुरुङ पनि लक्ष्मीको क्षमतामा ढुक्क छन् ।  लक्ष्मीको साहसबारे उनी भन्छन्, ‘लक्ष्मीको ड्राइभिङ राम्रो छ । यात्रुहरु पनि उनीबाट खुशी भएको प्रतिक्रिया आउँछ ।’