बैशाख २६, २०८१ बुधबार

आमाको किरिया बसेका संगीता र रमितालाई आर्थिक सहयोग



kiriya_chhori_gulmi

२२ मङ्सिर, काठमाडौं  – आमाको किरिया बसेका गुल्मीको पूर्कोट दह गाविस–१ जुम्लीचौरका दुई बालिकाका लागि थप दुई लाख १२ हजार सहयोग रकम प्राप्त भएको छ । देश तथा विदेशमा रहेका सहयोगी मार्फत सो रकम प्राप्त भएको हो ।

गुल्मीको जोहाङका विष्णु भण्डारीले चीनको ग्वाञ्झाओबाट नेपाली समुदायसँग उठाएर पठाएको एक लाख ८३ हजार र गुल्मीको सिर्सेनीका सुशील भट्टराईले काठमाण्डौमा संकलन गरेको २९ हजार रुपैयाँ ती बालिकालाई सहयोग गरिएको हो ।संकलित रकम मंगलवार काठमाडौंमा एक समारोहकाबीच गुल्मी क्षेत्र नंबर ३ का सांसद गोकर्ण बिष्टले बालिकाका गाउँले एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र कुँवरलाई हस्तान्तरण गरे । ती बालिकाको शिक्षाका लागि सुशील अर्याल, सूर्यकिरण कुँवर, लिला खरेल, बोमबहादुर थापा, कृष्णहरि बरालले जनही पाँच हजार रुपैयाँ दिएको थिए ।

कार्यक्रममा सांसद गोकर्ण बिष्टले बालिकालाई पठन पाठनको व्यवस्था मिलाउने घोषणा गरेका छन् ।
३६ वर्षकी दुर्गाकुमारी भुसालको कमजोर आर्थिक अवस्थाका कारण बेलैमा उपचार नपाएर मंसिर तीन गते मृत्यु भएपछि १३ वर्षीया संगीता र एघार वर्षीया रमिता किरिया बसेका थिए ।
घर परवारको कमजोर आर्थिक अवस्थाका कारण बालिकाहरुको पढाईमा बाधा पुग्ने देखिएपछि सहयोग अभियान चलाईएको  छ ।

बालिकाका पिता दुर्गा भुसाल बेरोजगार छन् भने अरु दुई बहिनी पनि साना छन । कात्तिक २० गते जन्मिएकी बालिकाको स्थानीय विश्व भुसालले जिम्मा लिएका छन् ।

बालिकाका छिमेकी तथा स्थानीय शिक्षक बोमबहादुर कुँवरले उनीहरूको शिक्षामा सघाउन आर्थिक सहयोग संकलनको अभियान चलाएका थिए । कुँवरका अनुसार  अहिले सम्म चार लाख भन्दा बढी रकम संकलन भएको जानकारी दिए ।

कुँवरले अझै केही सहयोगीहरू सम्पर्कमा रहेकोले सात लाख भन्दा बढी रकम संकलन हुने अपेक्षा आफूहरूले गरेको बताए । कुँवरका अनुसार संकलन भएको रकमलाई एउटा कोष निर्माण गरेर राख्ने तयारी भएको छ । कुँवरका अनुसार देश तथा विदेशमा विभिन्न व्यक्ति तथा संस्था मार्फत सहयोग संकलनको काम भइरहेको छ ।