बैशाख १, २०८१ शनिबार

पाटन अस्पत्तालमा जन्मेकी नेपालकी छोरी अष्ट्रेलियन दुतावासमा प्रथम सचिव



Natasha-Hamal

सिड्नी – अष्ट्रेलिया बस्ने नेपालीकी छोरी जापानमा रहेको अष्ट्रेलियन दुतावासको प्रथम सचिव भएकी छन् । अष्ट्रेलियाको केन्द्रीय राजधानी क्यानवेरामा रहेका नेपाली अर्थशास्त्री कृष्ण हमालकी छोरी नताशा हमाल उक्त उच्च पदमा पुगेकी हुन् ।
नताशाका बुवा डा. कृष्ण हमाल अष्ट्रेलियाको केन्द्रीय सरकारको पूर्वाधार तथा क्षेत्रीय विकास विभागमा वरिष्ठ अर्थशास्त्रीको रुपमा कार्यरत छन् । उनले छोरीको यो सफलता नेपालीको गौरव रहेको बताए । ‘यो हाम्रो परिवार र अष्ट्रेलियन नेपाली सबैका लागि गौरवको कुरा हो’, उनले भने ‘राम्रो काम र मेहेनत र्गयो भने अष्ट्रेलियाले सबैलाई सुनौलो अवसर दिन्छ ।’
आठ वर्ष अघि यहाँको अर्थमन्त्रालयको वित्त बिभागबाट अष्ट्रेलियाको सरकारी सेवामा प्रवेश गरेकी नताशाले अष्ट्रेलियन नेशनल युनिभर्सिटीबाट अर्थशास्त्र र बजारशास्त्रमा स्नातक तथा सर्टिफाइड पब्लिक अकाउन्टेन्ट (सीपीए) अध्ययन पूरा गरेकी छन् । उनले अष्ट्रेलियन एडको सेवामा हुँदा सर्विया, भानुवाटु, पपुवा न्युगिनी, सिंगापुर लगायतका देशमा पुगेर अष्ट्रेलियन सरकारको प्रतिनिधिका रुपमा काम गरीसकेकी छन् ।
अष्ट्रेलियाको परराष्ट्र मन्त्रालयले केही महिना अघि कुटनीतिक सेवाका लागि लिएको परीक्षामा सहभागी चार दर्जन अष्ट्रेलियन कर्मचारीहरुमध्ये चुनिने ६ जनामा नेपाली मुलकी एकमात्र कर्मचारी नताशा थिइन् । अष्ट्रेलियाको केन्द्रीय सरकारले प्राय कुटनीतिक सेवामा ‘करिअर डिप्लोम्याट’हरुलाई मात्रै पठाउँछ । नेपालमा जस्तो राजनीतिक वा अन्य सेवाका व्यक्तिहरुलाई राजदूत बनाएर पठाउने प्रचलन बिरलै हुन्छ । अष्ट्रेलियन लेबर पार्टीका पूर्व नेता किम ब्रिज्ली र लेबर पार्टीका पूर्व कोषाध्यक्ष जोइ हकीले मात्र अमेरिकी राजदूतको रुपमा काम गरेको पाइएको छ ।
नताशाले कुटनीतिक सेवामा राम्रो प्रगति गर्दै गएमा उनी भविष्यमा नेपाली मूलको पहिलो अष्ट्रेलियन राजदूत बन्ने उनका पिता डा. कृष्ण हमालले बताए ।
सन् १९८४ मा नेपालको पाटन अस्पतालमा जन्मिएकी नताशा चार वर्षको उमेरमा उनका माता पितासँगै क्यानडा गइन् । १९९१ मा अविभावकहरु अष्ट्रेलिया गएपछि उनी त्यहीँ हुर्केकी थिईन ।
उनले भारतीय मूलका अष्ट्रेलियन नागरिक तथा सफ्टवेयर इन्जिनियर दीपक डोर्वीसँग विवाह गरेकी उनी नेपाली सँस्कृति र कलालाई निकै माया गर्छिन् । उनी जहिल्यै क्यानवेरामा हुने नेपाली जमघटहरुमा नेपाली गीत संगीतमा राम्रो नृत्य गर्ने गरेको त्यहाँ रहेका नेपालीहरुले बताए ।
नताशालाई शनिवार हमाल परीवारले नेपाली सँस्कृति अनुसार टीका लगाइदिएर तथा दही र फलफूल खुवाएर विदाई गरेका थिए । उनले आफू जहाँ भएपनि नेपाली कला र सँस्कृतिको जगेर्ना गर्न लागिरहने विदाईमा आफ्ना अविभावकहरुलाई बताइन् । उनी तीन वर्ष टोकियो बस्नेछिन् ।