बैशाख २७, २०८१ बिहीबार

चुपचाप विद्रोह



Chup Chap Bidroha

भदौ महिनाको दबदबे हिलो । हिलोमा पलाएको हरियो घाँस । लैनो भैँसीलाई त्योभन्दा गतिलो खुराक अर्थाेक थिएन । स्कुले झोलाको भारी बिसाएर घाँसको भारीका लागि अर्काे डोको बोक्दै गर्दा, त्यो १३ वर्षकी किशोरीले सोचेकी थिइन्, उसको मनभित्र विद्रोहको राँको बलिरहेको छ भनेर । आज झन्डै १३ वर्षपछि सोच्दा लाग्छ, विद्रोह त जन्मजात बोकेर ल्याउने चीज रहेछ ।

२०५८ को भदौ महिना, शुक्रबार थियो सम्भवत: । अरू नियमित स्कुल नजाने साथीहरू बिहानै खरबारीमा गईवरी घाँसको भारी पुर्‍याइसकेका थिए । त्यसैले म एक्लै भएँ त्यो दिन । आफ्नै बारीमा गएँ, आफूभन्दा ठूलो डोको बोकेर । आमाले भनेकी थिइन्, मैले जति धेरै घाँस ल्याउँछु, भर्खरै ब्याएको भैँसीले त्यति नै धेरै खान पाउँछ, त्यसकारण मेरो पिठ्युँमा चढेको डोको मभन्दा दोब्बर देखिन्छ, उचाइमा पनि चौडाइमा पनि ।
दबदबे हिलोमाथिको हरियो घाँसका कारण उमेरभन्दा पहिल्यै बैंस फुलेर ढकमक्क भएकी किशोरीजस्तै देखियो पाखो । पहिरोले लछारपछार पारेपछि कोदो रोप्न छोडेर बर्खामा घाँस काट्ने र हिउँदमा भैंसी चराउने पाखो बनेको धेरै भइसकेको थियो उक्त पुख्र्यौली बारी । बान्नामाथि उभिएर सोच्छु म, त्यो घाँस काट्नु भनेको बारीको बैंस निमोठ्नुजस्तै हो, अनि घाँस नकाट्नु भैँसीको भोक निमोठ्नु बराबर ।
भर्खरै धार हालेको आँसी कलकलाउँदो दुवोको फेदमा चलाउँदै गर्दा बेस्सरी दुख्यो मेरो कम्मर । आधा पाँजो घाँस भुइँमै फालेर छटपटिएँ । पेटमा केही चले–चलेझैँ गर्‍यो । पिसाबथैलीबाट केही खस्ला–खस्लाझैँ भयो । पेट यसरी हुँडलियो नि, मानौं दाबिलोले घोटेर पेटमा ढिँडो पकाउन थालिएको छ । निधार पसिनाले निथ्रुक्क भो, गालाहरूमा आगो बल्न थाल्यो, यसरी कि एकै छिनमा त्यही आगोमा खान्की पकाएर कसैले आफ्नो भोक मेटाउँदै छ । र, पश्चिमको सूर्य ढल्दै गर्दा फुत्त खस्यो एउटा रगतको डल्लो भुइँमा । अनि विधिवत् रूपमा म पर सरेँ । दिनजस्तै मन पनि अँध्यारो भो । साँझै नपरी रात पर्‍यो त्यो बेला कस्सम ! म सबैले पुज्ने कन्याबाट अब कर्मै नचल्ने छोरीमा बदलिएँ । त्यति बेलै हो मैले, एक थोपा रगतको महत्त्व महसुस गरेको हो । त्यति बेलै हो मैले एक थोपा रगतले मान्छेलाई कसरी बचाउँछ र कसरी मार्छ छिनको छिनमै भनेर थाहा पाएको । त्यसकारण रगतसँग डराउँछु अहिले पनि, रगतसँग मात्रै होइन, रगत रंगको गुलाबसँग पनि डराउँछु म ।
हाम्रो सामाजिक मान्यताले भन्छ पहिलोचोटि पर सर्दा घरको धुरीसम्म पनि हेर्न हुन्न, दाजुभाइ, बाउ र काकाहरूलाई देख्ने–छुने त कल्पनाबाहिरको कुरा । तर खै के सोच्यो त्यति खेर मनले एक्कासि बुवाको यादले मुटु हुँडल्यो, दाइलाई देख्ने मन दोब्बर भयो, भाइसँग खेल्ने हुटहुटी तेब्बर । पर सर्ने सिलसिला त जारी नै रहला तर दाइ–भाइ र बाउसँग उसैगरी लाडिने व्यग्रताले मलाई रोक्न सकेन । साँचो बोलेर अरू १५ दिन त्यसरी छटपटिने स्थितिमा रहने आँट त गर्नै सकिनँ मैले । महिनावारी बार्न अरूको घरको आँगनमा सुतिरहेकै बेला फ्याट्टै मरेँ भने आज भाइसँग एउटै थालमा भात खाने मेरो इच्छाको पनि हत्या हुनेछ । बा, दाइ र भाइसँग अरू १५ दिन छुट्टिन नसक्ने आँटले मलाई पापी बनायो, मलाई वागी बनायो, मलाई विद्रोही बनायो । एउटा नियमितता क्रमभंग भो अनायसै ! यति बेलै मैले महसुस गरेँ मान्यताभन्दा मनको उचाइ कता हो कता अग्लो हुँदो रैछ, त्यसकारण त मान्यताका निम्ति मन मार्न सकिनँ । र त, घाँसले आधा नभरिएको डोको र त्रासले आधा भरिएको मन बोकेर घरमा फर्किई एक अछुत छोरी, मान्यताहरूलाई चुनौती दिँदै, परम्पराहरूलाई औँला उठाउँदै !
भैँसी ड्वाँ–ड्वाँ कराइरहेको छ, भोकले । भाइ खेल्ने साथी नपाएर आमासित गनगन गरिरहेको छ । मेरो पालो त्यत्रो दुई घण्टामा एउटा डोको पनि नभरी घर फर्किएको छु । मेरो पारा देखेर आमाको पारो तात्नु स्वाभाविक नै हो । त्यही चढिरहेको पारोको फलस्वरूप एउटा चिरुवा दाउरो मेरो ढाडमा मज्जाले बजारियो र फेरि अर्काे रगतको डल्लो फुत्त खस्यो, भुइँमा होइन, मैले अस्थायी रूपमा बनाएको एउटा पर्खालमाथि अर्थात् धुर्सुलको पातमाथि, जसलाई मैले भरपर्दाे बाँध बनाएको थिएँ त्यति खेर ।
कहाँ ‘आमा, मेरो कम्मर खुब नाजुक छ यति बेला एक मुठ्ठी तेलले मालिस गर्देऊ न बरु’ भन्न सक्दो हुँ त मैले ! आज चार वर्षकी छोरीलाई काखमा राखेर त्यो दिन सम्झिँदै गर्दा, मेरी छोरीले पक्कै त्यसो भन्न सक्छे भन्ने विश्वासले धपक्कै बलेका छन् मेरा आँखा र मुस्काउँछु उसैलाई अँगालो हालेर । फेरि अर्काे मनले प्रश्न गर्छ के मेरै उमेरका आमाहरूले भोलि आफ्नाप्रति र छोरीका प्रति यही भरोसा राख्न सक्लान् ? या चलिआएको परम्पराको ठूलो भारी बोकाउलान् आफ्ना छोरीको थाप्लोमा ? मन बेचैन हुन्छ । किनकि महिनावारीबारे मेरा धेरै साथीहरूको धारणा अहिले पनि बदलिएको छैन । महिनावारी हुनु, अछुत हुनु नै होजस्तो लाग्छ उनीहरूलाई ।
रात त यसैउसै बित्यो, शनिबार दिनभरि घरमा गुजार्नुथ्यो, आमाको कडा खटनपटनका साथमा । सँगसँगै लुकाउनुथ्यो, मलाई अछुत बनाउने एउटा धब्बा । जिन्दगीमा अनेकन पहेलीको निर्माण र विनिर्माण हुन्छ भन्ने सिद्धान्तको सूत्रधार थियो सम्भवत: त्यो दिन । आमाबाले लाज छोपिदिनका लागि कपडा किनिएका थिए, तर हामी छोरीहरूले लाज छिपाउनुभन्दा ठूलो संघर्ष गर्न पर्दाेरहेछ यस्ता कुराका लागि, त्यसैले घरी धुर्सुलको पात, घरी केराको पात, घरी रफ कापीका पानाहरूको सहारामा बाँध बाँधियो, अन्जानवश, यस्ता अपत्यारिला सामग्रीको सहारामा मान्यता नमान्न सम्भव छैन भन्ने जान्दाजान्दै पनि, कतै आफूले गलत गरिरहेको त छैन भन्ने ठान्दाठान्दै पनि ।
पत्रपत्र कपडाहरू छिचोलेर बगेको रगत तिहारमा दैलोमा हालेको तेलको धाराझैँ सरर बगेर कुर्कुच्चामा पुगेर रोकियो, चप्पल लतपतियो, मनमा फेरि हुन्डरी चल्न थाल्यो । त्यत्रो स्कुलको टिफिन टाइममा चौरभरि छन् साथीहरू । जिउँदै मरेझैँ भयो मलाई, उभिँदाउभिँदै सासै जान्छझैँ भो । थ्याच्चै बसुम् भने पनि अर्काे रमिता हुन्छ कि भन्ठान्छु एक मनले । के गरौँ र कसो गरौँको अवस्थामा, चौरमा ठिंग उभिँदाउभिँदैको अवस्थामा पछाडिबाट कसैले भन्यो, ‘ओइ तँलाई त जुकाले टोकेछ, पूरै रगतैरगत भइराछ पछाडिपट्टि ।’ यो आवाज कसको थियो, अहिले पनि ठम्याउन खोज्छु सक्दिनँ, तर यो आवाज मेरा लागि प्राण थियो त्यति खेर । धन्न, लेकको स्कुल र बर्खाको मौसमको संयोग मिलेको छ । त्यो घानमा जुका मिसिँदा पनि बाहना त्यति अप्राकृतिक देखिएको छैन । अहिले सोच्दा लाग्छ, यस्तै–यस्तै कारण त होला नि संयोग भन्ने शब्दको उत्पत्ति भएको ! अनि फेरि छोरीको अनुहार हेर्छु, मुसुक्क हाँस्छे, छिनको छिनमै उसको मुहारमा सूर्यमुखी फक्रिन्छ, यो तथाकथित पर सराइमा पनि नअस्ताउने गरी ।
त्यो पहिलो महिनावारी, त्यो रगतसँगको लुकामारी ! बिनाकुनै उद्घोष, बिनाकुनै जानकारी चुपचाप बित्यो । त्यो पहिलो अनुभूति, त्यो अनौठो अनुभूति आफ्नी आमासँग साट्न नसक्दा एउटी छोरीको मनमा के बित्यो, महसुस गर्न सक्नेका लागि कल्पना नै काफी छ । यति खेरै हो मैले महसुस गरेको आवाज ननिकाली पनि विद्रोह गर्छ मान्छेले भनेर । हो यतिखेरै हो मेरो चेतना बोलेको मान्यता चुपचाप तोड्न सक्छ मान्छेले भनेर । त्यसपछि पनि मैले महिनावारी भएको कुरा कसैलाई भनिन । मलाई मन नलागेसम्म महिनावारी वार्दा पनि बारिनँ । र एक दिन खुन सम्हाल्न नसकेर कम्मरमुनिको शरीर रगतपिच्छे भएपछि आफैं सार्वजनिक भो यो खबर एउटा ‘ब्रेकिङ न्युज’ बनेर ।
अहिले पनि छाउगोठका अनगिन्ती खबरहरू सुन्छु । छाउगोठमा सर्पले डसेर एउटी किशोरीको ज्यान जाँदा ऊसँगै कति धेरै सपनाहरू, कति धेरै चाहनाहरू र कति आकांक्षाहरूको हत्या भयो होला भन्ने कुराले पिरोल्छ मलाई । सायद उनीहरूलाई म जत्तिकै ‘पापी’ बन्ने वातावरण पनि छैन । बैनीहरूको महिनावारी हुँदा काकीहरूले गरेको दौडधुप देख्छु । उनीहरूको कट्टरता यति बिघ्न छ कि महिनावारीका बेला स्कुल गयो भने भगवान् सरस्वती रिसाउँछिन्, महिनावारीका बेला पूजा गर्दा लक्ष्मी रिसाएर भाग्छिन्, दुर्गाको दैवी शक्ति छिनको छिनमै नास हुन्छ ?
त्यसो भए यी देवीहरूको महिनावारी कहिल्यै हुँदैन ? हुन्छ भने कहिले, यिनीहरूले बारे कि बारेनन् ? यस्ता प्रश्नहरू बारम्बार नउठेका होइनन् । तर खै त जवाफ ? खै त हामीले भन्न सकेको महिनावारी शरीरको विकासबाहेक केही पनि होइन भनेर ? आँट छ, छोरीहरूलाई त्यो हौसला दिने ? जसका कारण उनीहरू थप असुरक्षित हुन नपरोस् ? आँट छ हामी स्वयम्लाई सम्झाउने हामीले पुज्ने भगवान् पनि मासिक चक्रकै उपज हुन् भनेर ? मसित त त्यो भन्ने साहस छ कि मेरी छोरी कहिल्यै पनि पर सर्ने छैने । महिनावारीले शरीर फतक्कै गलेको बेला मम्मी मलाई यहाँ दुख्यो भन्न सक्छे । मनमा अनेक तर्कना गरेको बेला मसित सबै पीडा पोख्न सक्छे । हो हिजो छोरी भएर आफैंले त्यत्रो विधि सहेपछि आज आमा भइसकेपछि छोरीहरूलाई पनि त्यही बाटोमा हिँडाउनु र ? र यत्ति गरेँ भन्ने मलाई विश्वास छ मेरो घरमा त जन्मिन्न विद्रोह, न चुपचाप न घोषित ! लौ न सुदूरपश्चिमका छाउगोठ भत्काउनुपर्छ भन्नुअघि, आफ्नो मनभित्रका यस्ता गोठहरू भत्काऔँ कम्तीमा आमाले, आफ्नी छोरीका लागि । र, चुपचाप तोडौँ त्यो मान्यतालाई बिनाकुनै ‘प्रोजेक्ट’ को सहारामा ।