चैत्र १६, २०८० शुक्रबार

प्रचण्डलाई झल्को ‘जनयुद्धका महिला कमाण्डरको’



काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सभामा महिला, दलित लगायतका वर्ग र समुदायको उपस्थितिले जनयुद्धको कमाण्ड गरेका महिलाहरुको झल्को दिएको बताएका छन् । आफ्नो पार्टीको तर्फबाट प्रदेश सभामा निर्वाचित समानुपातिक सांसदहरुलाई बधाई ज्ञापन गर्न पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा आयोजित कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

सांसदलाई बधाई दिँदै प्रचण्डले भने, ‘हिजो युद्धको बेला थुप्रै महिला कमाण्डरहरु जन्मिए । आज प्रदेश सभाका समानुपातिक सांसदहरुमा तपाईहरु अधिकांश महिलाहरु आउनु भएको छ । यो दृश्य हेर्दा मलाई जनयुद्धका महिला कमाण्डरहरुकै स्मरण भएको छ ।’

माओवादी र जनयुद्धकै कारण संसदमा महिला, दलित, जनजाति, मधेशी, अपाङ्गहरु संसदमा पुगेको भन्दै प्रचण्डले यसले आफूलाई गौरवको महसुस भएको बताए । उनले भने, ‘चाहे तिनीहरु एमालेको कोटाबाट पुगुन्, चाहे कांग्रेस वा अरु दलको कोटाबाट, तिनीहरु माओवादी नै हुन् जस्तो लाग्छ, जनयुद्धले जन्माएका सांसद हुन जस्तो लाग्छ ।’

‘तपाईहरु संघर्षको नयाँ मोर्चामा आउनु भएको छ, यो मोर्चा पनि निकै पेचिलो छ’ अध्यक्ष प्रचण्डले भने, ‘यो मोर्चामा तपाईहरुले जनताप्रति उत्तरदायी भएर आफ्नो भूमिका निर्वाह गर्नुपर्नेछ । एमाले र माओवादीबीच पार्टी एकता हुँदैछ, एकताको भावसहित तपाईहरुले जनताको काम गर्नुहुनेछ, यसमा तपाईहरुलाई सफलता मिल्नेछ, म शुभकामना दिन चाहन्छु ।’