आश्विन २६, २०८१ शनिबार

विदेशमा बेचिएका चेली भन्छन – विदेशमा मर्न चाहन्नौँ, तर बाँच्ने आशा छैन



काठमाडौंँ – आफ्नो नाम मिना कुमारी बुढाक्षेत्री बताउने एक नेपाली चेली सिरीयाको अज्ञात स्थलबाट भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्दै भन्छिन् – अव त जीउँदै फर्किन्छु भन्ने आशा मरीसक्यो ।’  भिडीयोमा २/४ पैसा कमाएर आफ्नो बुढी आमा र सानी छोरीलाई पाल्न बिदेश पसेको बताउने मिना अब जीउँदै घरदेश फर्कने आशा मारेर छटपटाएकी छन् । ‘कहिलेकाहीँ त सोँच्छु जीउँदो फर्किन नपाएपनि मरेपछि त मलाई नेपाल पु¥याउँछकि जस्तो लाग्छ,’ भारतको बाटो हुँदै २८ महिना अघि सिरीयामा पुगेकी बुढाले रुदै भन्छिन ‘कहिले सोच्छु जीउँदो फर्किएँ भने आमा र छोरीलाई भेट्न पाउँछु कि भन्ने पनि लाग्छ ।’ दिनहुँ पुलिसले घर घेरा हालिरहने र घरपनि राम्रो नभएकोले बाँच्न पनि त्रास भएको उनको भनाई छ ।

दुबई भनेर ओमन पु¥याईएकी अर्की चेलीले जनवरी तेश्रो साता फेसबुकमा भिडियो पोष्ट गरीन् – ‘मलाई फेरी अर्को घरमा बेच्न खोज्दै छ, के म गाईगोरु हो र ?’ आफ्नो श्रीमान केहीवर्षदेखि बिराटनगर कारागारमा रहेको बताउने उनले आफ्नो दुई छोरी पाल्नकै लागि बिदेश पसेको भएपनि आफू बेचिएको बताउँछिन । ‘मेरो दुई दुईवटा बच्चा छ, म मर्न त सक्दिन तर बाँँच्ने आशा पनि छैन, म के गरुँ ?’

उनीहरु दुबै जना आफन्त ठानेर विश्वास गरीएकै व्यक्तिबाट बेचिएका चेली हुन् । परीवार पाल्ने बाध्यता आईलागेपछि हार गुहार गरेर धन कमाउन उपाय खोज्ने क्रममा प्रलोभनमा पारेर बेचिएको नेपाली चेलीहरुको भनाई छ । ‘हामी नेपाली चेलीहरु विदेशमा बेचिनकै लागि पठाईन्छौँ’ दुबईमा रहेकी एक लामा थरकी महिला भन्छिन् ‘न हामीलाई परीवार पाल्न पैसा दिईन्छ न घरमा जान दिईन्छ ।’

त्यो मध्ये कोहीले नेपालबाटै बेच्छन कसैले कोही आफन्त नभएको विरानो मुलुकमा विश्वास गरेको नेपालीबाटै बेच्छन् । ‘मलाई दिल्लीबाट बेच्ने पदम पुन मगर हो र सिरीयाको अपिसबाट यो घरसम्म बेच्ने बिमला मगर हो’ सिरीयाबाट मिना भन्छिन् ‘आफ्नै देशकी आफूजस्तै महिला बिमलाको विश्वासमा पर्दा अहिले बेचिएर यो थाहै नभएको ठाउँमा पुगेँ ।’

तलव माग्दा यातना
घरेलु कामदारको रुपमा दुबई भनेर काठमाडौंबाट जहाज चढेकी सविना दिल्ली, दुबई हुँदै सिरीया पु¥याईयो । शुरुमा ठीकै व्यवहार भएपनि जव तलव थाप्ने बेला भयो उनलाई मानसिक र शारीरिक यातना यति भयो कि उनी त्यहाँ बस्न नसक्ने अवस्थामा पुगिन् ।

तर न घरमा फर्कन दिन्छ न तलव । ‘एकसाल सम्म त बोलिन पनि तर एक साल बढी भयो तलव पनि दिँदैन’ उनले रुँदै भन्छिन् ‘बाहिरबाट मान्छे ल्याउने र टर्चर दिदैँ भन्छ तँलाई यति गर्न नपाउने भए किन यहाँ ल्याएको त, यस्तै गर्न त ल्याएको हो ।’

उनी काठमाडौंबाट भक्तपुर निवासी देब थापा नामक व्यक्तिमार्फत दुवई गएकी हुन् । तर त्यहाँबाट उनलाई सिरीयामा पु¥याईएको थियो ।

थाहा नभएर दलालको सम्पर्कमा: आफन्त ठानेकाले नै बेच्छन
परीवार पाल्ने बाध्यता र धन कमाउने आशाले महिलाहरु दलालको सम्पर्कमा पुग्छन् । आफन्त ठानेका ति व्यक्तिहरुले नै बेच्ने गरेको उनीहरुको भनाई छ ।

‘विदेश गएपछि राम्रो कमाई हुन्छ भनेर गाउँकै बैनिले पासपोर्ट बनाएर पठाएकी हुन, दलालकहाँ पु¥याएको थाहा भएन’ मोरङ्गकी बुधि पासबासन भन्छिन ‘यहाँ आउने बित्तिकै तातोपानी सम्म खन्याएर यातना दिए, तीनमहिनाको तलव नदिएपछि भागेँ ।’

आँखै अगाडी साथीको बलात्कार 
बेचिएका चेलीले मानसिक यातना देखि बलात्कारसम्मको पिडा भोग्नु पर्छ । बेचिएका चेलीको कतै सम्पर्क नहुने भएपछि तलव नदिने, तलवभत्ता माग्दा कुट्ने पिट्ने देखि बलात्कारसम्मका घटना हुने गरेको उनीहरुको गुनासो छ ।

‘कुट्ने, पिट्ने, तातोपानी खन्याउने, पैसा नदिने त कति सहियो कति’ कुबेती दुतावासमा नेपाल फर्कने पर्खाईमा बसेका महिलाहरु भन्छन् ।

बिरामी पर्दा त बाँच्ने आशै मर्ने गरेको उनीहरुको भनाई छ । ‘म सिकिस्त बिरामी हुँदा पनि औषधी गर्न लैजाँदैन’ ईराकमा बेचिएकी कबिता भन्छिन् ‘यस्तो अवस्थामा त बाँचिएला भन्ने आश हुँदैन ।’

सामान्य घटनादेखि बलात्कारसम्म हुने गरेका कारण आफूहरु बाँच्न नसक्ने अवथा आउने डर लागेको कुवेतमा पुगेका कुबेतबाट आशा लामाले बताईन । ‘आफ्नै आँखा अगाडी सिन्धुपाल्चोकको दिदीलाई बलात्कार गरेको देख्यौँ, त्यसपछि भाग्यौँ’ – उनले भनिन् ।

बाँच्ने प्रयास गर्छौँ तर उद्धार हुँदैन
पर्वतकी रुपा क्षेत्री कुवेतमा घरमालिकले कुटेर खप्न नसकेपछि भागेर हिँडिन । सामान्य लेखपढ गर्न मात्र जानेकी उनको बारेमा नेपालमा रहेका दाजुले दुतावासमा जानकारी गराएपनि उनको दुतावासले उद्धार गर्न सकेन् ।

बेचिएकी चेलीको गुनासो छ ओमनमा मात्र होईन धेरैजसो देशमा नेपाली दुतावासले उद्धारमा प्रभावकारीता देखाउँदैनन् । ‘यातना पाएपछि दुतावासमा फोन गरेँ तर उहाँहरु भागेर आईजा भन्नुहुन्छ’ उनी रुँदै भन्छिन् ‘यहाँ घरबाट निस्कने अवस्था छैन, दुतावास पुग्न २ घण्टा लाग्छ भन्छन्, कसरी पत्ता लगाएर जानु ?’

घरेलु कामदारको रुपमा कुवेत पुगेपनि यातना पाएपछि भागेर दुतावासको शरणमा पुगेकी उदयपुर गाईघाटकी एक महिला दुतावासले टिकट काट्ने पैसा नभएकोले दुतावासले नेपाल नपठाएको गुनासो गरीन् । ‘दुतावास पुगेपछि टिकट काट्ने पैसा छ भनेर सोध्नुभयो तर पैसा दिएको छैन भनेपछि त्यसो भए त कसरी जाने नेपाल भनेर रोकिएकी छु’ उनले भनिन् ‘ज्यान त बल्लबल्ल जोगाईयो, कसरी नेपाल घर जाने भनेर दुतावासले सहयोग गर्नुहुन्न ।’ उलाई भक्तपुरका मौसम विकले नेपालबाट जाने भनेर झुक्याएर भारत हुँदै कुवेत पु¥याएका हुन् ।

नेपालमा बसेर धम्की दिन्छन दलालहरु :
आफूहरुलाई विदेशमा बेचेर नारकिय जीवन बिताउन बाध्य बनाउने दलालहरु बेचिएका चेलीलाई उल्टो मानसिक यातना दिन्छन् । नेपाल फर्किन चाहेपनि नफर्काउने, ठाउँ छाडेर अन्यत्र नजान चेतावनी दिने देखि मार्नेसम्मका धम्की उनीहरुले दिने गरेका छन् ।

‘मलाई अपिसबाट यो घरमा बेच्ने बिमला मगरले फोन पनि नउठाउने र नेपाल पनि नफर्काउने गरेपछि लाईभ भिडियो बनाईर पोष्ट गर्छु भनेँ तर भिडियो बनाईस भने मार्छु भनेर धम्कि दिईन’ सिरीयामा रहेकी मिनाले भनिन् ।

पिडितलाई न्याय दिलाउन नसक्ने कानुन
नेपालमा खासगरी बिकट ठाउँका महिलाहरु शिक्षाको कमी, अर्थिक बिपन्नता, रोजगारीको कमी, गरिबी, खुल्ला सीमाना जस्ता कुराका कारण मानव बेचबिखनमा पर्ने गरेका छन् । बेचबिखनमा परेकाहरुलाई न्याया दिन सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ र नियमावली, २०६५ को व्यवस्था गरेको छ ।

तर बेचबिखनमा परेका महिलाहरुलाई न्याय दिन नसक्ने कानुनी व्यवस्थाको कारण बेचबिखनमा पर्नेहरु झन बढी पिडीत हुने गरेको सरोकारवालाहरुको भनाई छ । ‘विदेशमा लगेर महिलाहरु बेच्नेलाई मानव बेचविखन तथा ओसारपसार सम्बन्धी मुद्दा चलाउनुपर्ने हो तर नेपालमा भने कानूनी अस्पष्टताका कारण वैदेशिक रोजगार ऐनअन्तर्गत मुद्धा चलाईन्छ’ यूएन वुमनकी सरु जोशी श्रेष्ठ भन्छिन् ‘नेपालको कानून पीडितलाई न्याय दिलाउने भन्दा पनि पीडकमैत्री छ ।’

नेपालमा गतवर्षसम्म ६ हजार १ सय महिला तथा बालबालिका बेचबिखनमा परेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले जनाएको छ । समाज कल्याण परिषदमा आबद्ध ३० बढी गैरसरकारी सँस्थाहरुले बेचविखन तथा ओसारपसार रोकथाम, नियन्त्रण लगायतका क्षेत्रहरुमा करिब ५० करोड रुपैयाँ बराबरका ५ दर्जनभन्दा बढी परियोजनाहरु मार्फत कार्यक्रमहरु भैरहेका छन् । जसमा ९७ प्रतिशत रकम बाह्य दातृ निकायबाट प्राप्त भएको रकम छ । यसबाहेक सरकारले आफै पनि प्रत्यक्ष रुपमा विभीन्न कार्यक्रम चलाएको छ । तर पनि महिला बेचबिखन नरोकिनु बिडम्बनापूर्ण भएको नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीको भनाई छ ।