बैशाख २४, २०८१ सोमबार

नेपाल प्रहरीकी डिएसपी बसुन्धरा राष्ट्र संघको उच्च पदमा !



डिएसपी बसुन्धरा खड्का

काठमाडौ-नेपाल प्रहरीकी डिएसपी बसुन्धरा खड्का संयुक्त राष्ट्र संघको उच्च पदमा मनोनयन भएकी थिइन् । इटालीस्थित राष्ट्रसंघको ग्लोबल सर्भिस सेन्टरको प्रि थ्री तहको पदमा उनी छनोट भएकी हुन् ।पि थ्री तहको पदमा थोरै मात्र प्रहरी अधिकारीहरु पुगेका छन् ।

इटालीमा उनी ट्रान्जिसनल क्राइम अफिसरका रुपमा काम गर्ने छिन् ।विश्वभरीका प्रहरीबाट उनी सो पदका लागि छनोट भएकी हुन् । यसअघि राष्ट्रसंघीय शान्ति मिसनमा देखाएको क्षमता र अन्र्तवार्ताका आधारमा उनी सो पदमा छनोट भएकी हुन् ।

डिएसपी खड्का नेपाल प्रहरीकी क्षमतावान प्रहरी अधिकृतका रुपमा चिनिन्छिन् । उनका श्रीमान दिलिप घिमिरे पनि नेपाल प्रहरीमा डिएसपी छन् । म्याग्दी जिल्लामा समेत डिएसपीको भूमिका निर्वाह गरेकी खड्काले स्थानीय तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेकी थिईन् ।

२०६१ साल जेठ १५ गते नेपाल प्रहरीमा नियुक्त भएकी उनी भर्ना हुँदा ३६ जना निरीक्षक मध्ये एक्ली थिइन । ‘सहभागीमध्ये म एक्ली छोरी मान्छे थिएँ, सुरुमा त एलियन जस्तै, अर्कै ग्रहबाट आएको जस्तो महसुस हुने’, बशुन्धराले भनिन्, ‘तर, एकाध महिनापछि मैले चुज गरेको प्रोफेसन हो, एडजस गर्नुपर्छ, सिस्टम चेन्ज गर्न सक्दिनँ, आफूलाई चेन्ज गर्नुपर्छ, किनभने म पुलिस हुन आएकी हुँ भन्ने सेल्फ रियालइजेसन भयो।’

प्रहरी निरीक्षक (इन्स्पेक्टर)को तालिम पश्चात बशुन्धरा खड्काको पहिलो असाइन्मेन्ट नेपाल प्रहरीको केन्द्रीय महिला तथा बालबालिका सेवा केन्द्र (महिला सेल) मा भयो। त्यहाँ उनले करिब २ वर्ष काम गरिन्।

‘वुमन सेलमा विशेषतः महिला तथा बालबालिकाको इस्यूमा काम गर्नुपर्यो, साथै प्रहरीको क्षमता विकासजस्ता कुराहरुमा पनि काम गर्ने अवसर मिल्यो’ उनले भनिन्।

सन् २०१० को जनवरीमा खटिने राष्ट्र संघीय शान्ति स्थापक मिसनका लागिसुडान गएकी
बशुन्धरा पृथक धार्मिक र संस्कृतिलाई अनुभूत गर्ने अवसर पाएको बताउँछिन्।

वि.सं. २०७१ फागुनमा खड्का प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवा भएपछि उनी प्रहरी मुख्यालय अन्तरगत इन्टरपोल सेक्सन इञ्चार्जको जिम्मेवारीमा २ वर्ष काम गरेकी थिइन् । त्यहि इन्टरपोलको जिम्मेवारी नै उनका लागि प्रहरी जीवनको उत्कृष्ट समय बताउँछिन। उक्त जिम्मेवारीमा रहँदा उनले नेपाल प्रहरीसँगै इन्टरपोलबाट पनि सम्मान प्राप्त गरेकी थिइन्।

जिल्लाका ग्रामिण क्षेत्रसम्म पुगेर महिला तथा बालबालिकाको क्षेत्रमा समेत काम गरेकी खड्काले म्याग्दीबाट आफ्नो सेवामा धेरै सिक्ने अवसर पाएको बताईन् ।