बैशाख २८, २०८१ शुक्रबार

राष्ट्रपति छान्‍न अन्तरिक्षबाटै मतदान गर्ने महिला



नेपालको निर्वाचनमा गैर आवासीय नेपालीलाई मतदान गर्न दिने अवस्था छैन । तर अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा एक महिलाले अन्तरिक्षबाट मत खासालेकी छन् ।

अमेरिकी नागरिक केट रुबिन्सले पृ्थ्वीको तल्लो कक्षमा घुमिरहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) बाट रुबिन्सले मत खसालेकी हुन् । अघिल्लो साता उनले पृथ्वीभन्दा २ सय माइलमाथि रहेको अन्तरिक्ष केन्द्रबाट भोट खसालेको अमेरिकी अन्तरिक्ष संस्था नासाले जनाएको छ ।

अमेरिकी नागरिकहरुले विश्वको जुनसुकै ठाउँबाट पनि मत खसाल्न पाउँछन् ।

नोभेम्बर ३ मा हुने अमेरिकाको राष्ट्रपतीय निर्वाचनका लागि यस वर्ष ८ करोडभन्दा बढी अमेरिकी नागरिकहरुले अर्ली भटिङ अन्तर्गत चुनावअघि मत खसालिसकेका छन् ।

रुबिन्सले सन् २०१६ मा पनि उनले अन्तरिक्षबाटै मत खसालेको सीएनएनले जनाएको छ । त्यसबेला उनी अनुसन्धानको सिलसिलामा अन्तरिक्ष केन्द्रमा थिइन् ।

भविष्यका क्वान्टम सेन्सरका लागि लेजर कुल्ड एटम्स र कार्डियो भास्कुलरसम्बन्धी अनुसन्धान गर्नका लागि रुबिन्स सहित अन्य दुई जना रुसी अन्तरिक्षयात्रीहरु अक्टोबरमा अन्तरिक्षमा पुगेकी हुन् । ६ महिनाका लागि त्यहाँ पुगेकी उनीसँग अन्य दुई जना रुसी अन्तरिक्षयात्रीहरु आईएसएसमा बस्दैछन् ।

अमेरिकाको टेक्सास राज्यले सन् १९९७ देखि मतदानका बेला अन्तरिक्षयात्रीहरु अन्तरिक्ष केन्द्र वा कुनै अन्तरिक्ष यानमा भए उनीहरुलाई मत खसाल्न दिने व्यवस्थासम्बन्धी कानुन बनाएको थियो ।

नासाका अन्तरिक्ष यात्रीहरुले उक्त ब्यालेटमा आफ्नो परिचयअनुसार मत खसाल्छन् र काउन्टीको आधिकारिक इमेलमार्फत पठाउने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।