चैत्र १५, २०८० बिहीबार

नेतृ निरुदेवी पालकाे चेतावनी : नेता कमरेडहरु नाटक बन्द गर्नुस्, सच्चिनुस्, नत्र महङ्गो पर्ला !



नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ तथा संसदको महिला तथा सामाजिक समितिकी सभापति निरु देवी पालले नेताहरुले पार्टि फुट्न लाग्यो बचाउनुपर्यो भनेर सामाजिक सञ्जलमा देखाएको नाटक बन्द गर्न नेताहरुलाई आग्रह गरेकी छन् ।

माथिल्लो तहका नेताहरुले नै सामाजिक सञ्जालमा पार्टी फुट्न लाग्यो बचाउनुपर्यो हारगुहार गरेको देख्दा दया लागेर आएको भन्दै उनले नाटक बन्द गर्न आग्रह गरेकी हुन् ।

‘पार्टी फुट्नलाग्यो बचाउनुपर्यो भनेर सिनियर नेताहरुले सामाजिक संजाल हरुमा हारगुहार गरेको देख्दा दया लागेर आयो’, उनले फेसबुकमा लेखेकी छन्, ‘के पार्टी कार्यकर्ताले फोड्न लागेकाहुन र ? यो नाटक अब बन्द गर्नुस् ।

नेतृ पालले देश र जनताको बारेमा ठण्डा दिमागले सोच्न आग्रह गर्दै नेताहरु एउटा प्रधानमन्त्रीलाई हटाएर अर्कोलाई ल्याउने खेल नखेल्न पनि आग्रह गरेकी छन् । ‘सोच्नुस जनता रोग, भोक, शोक र महामारीसँग जुधिराखेका छन्,’ उनले भनेकी छन्, ‘कोरोनाबाट जनतालाई कसरी बँचाउने, कसरी राहत दिने भनेर कोठे बैठक गर्नुस् तर केपि ओलीलाई फाल्न अर्को कसैलाई ल्याउन होइन ।’

जनताले जोगाएको पार्टी भएकोले कार्यकर्ता आवेशमा आएमा सामना गर्न महंगो पर्ने चेतावनी पनि उनले नेताहरुलाई दिएकी छन् । ‘जनताले तपाईं हामिलाई किमार्थ माफ गर्ने छैनन्, नेता कमरेडहरु सच्चिनुस्’, नेतृ पालको भनाई छ, ‘अन्यथा कार्यकर्ता ले जोगाएको पार्टी हो, कार्यकर्ताको आवेगको सामना गर्न निकै महङ्गो पर्ला ।’