बैशाख ३, २०८१ सोमबार

८ जना महिला मन्त्रिपरिषदमा समेट्दै न्युजिल्याण्डकी प्रधानमन्त्रीले लिइन् दोस्रो कार्यकालको शपथ !



एजेन्सी– न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले शुक्रबार आफ्नो दोस्रो कार्यकालका लागि शपथ लिएकी छन् ।

यसअघि न्युजिल्याण्डमा भएको आम निर्वाचनमा बहुमतसहितको जित हात परेसँगै उनले आफ्नो दोस्रो कार्यकाल सुरु गरेकी हुन् ।

अर्डनसँगै उनका मन्त्रीहरुले पनि शुक्रबार विलिङटनको गभर्मेन्ट हाउसमा अंग्रेजी र माओरीमा शपथ लिएका हुन् ।

अर्डनले बनाएको नयाँ २० सदस्यीय मन्त्रिपरिषद्मा धेरै महिला र माओरी समुदायका प्रतिनिधिहरु छन् ।

यसअघि नै उनले आफ्नो टोलीमा महिला र माओरी समुदायलाई प्रथमिकता दिने बताएकी थिइन् । मन्त्रिपरिषद्मा आठजना महिला छन् ।

४० वर्षीया अर्डनले कोरोना भाइरस ९कोभिड–१९० महामारीमा गरेको कार्यका विश्वभर प्रशंसा भएको थियो । सोही कारण गत अक्टोबर १७ मा भएको निर्वाचनमा उनले बहुमतसहितको जित हात पारेकी हुन् ।

उक्त निर्वाचनमा उनको पार्टीले १२० सदस्यीय संसद्मा ६५ सिट हात पारेको हो । अर्डनले आफ्नो प्राथमिकता कोरोना भाइरस महामारी नियन्त्रण र महामारीको कारण प्रभावित बनेको अर्थतन्त्रमा सुधार गर्नु रहेको बताएकी छिन् ।