चैत्र ३०, २०८० शुक्रबार

‘नेता कमरेडहरु! नयाँ पुस्ताको भविष्यमाथी आगो नझोंस्नुहोस्’



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा प्रतिनिधि सभाकी सचेतक शान्ता चौधरीले नयाँ पुस्ताको भविष्यमाथि आगो नझोंस्न शिर्ष नेताहरुलाई खबरदारी गरेकी छन् ।

पार्टीमा दुई पक्षको तिब्र विवाद चर्किएर फुटको अवस्थामा पुग्न लागेको बेला नेतृ चौधरीले बेलैमा बुद्धि पुर्‍याएर उपयुक्त निकास निकाल्न सुझाएकी हुन् ।

‘नेता कमरेडहरुलाई अनुरोध छ , बेलैमा बुद्धि पुर्‍याउनुहोस् , नयाँ पुस्ताको भविष्यमाथि आगो नझोस्नुहोस्, सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छन्, ‘सबै मिलेर उपयुक्त निकास निकाल्नुहोस ।’

नेतृ चौधरीले नेताहरुको व्यवहारका कारण देशभरका कार्यकर्ता यतिबेला निकै चिन्तित रहेको भन्दै पार्टी नेतृत्वलाई पद र कुर्सिको होईन देश , जनता र पार्टीको चिन्ता गर्न समेत भनेकी छन् ।

पार्टी फुटेमा शहीदको रगतले सराप्ने र , कार्यकर्ताको आँशुले धिकार्ने उनको भनाई छ ।

‘नेतृत्वमा रहनु भएका आदरणीय नेता कमरेडहरुले पद र कुर्सिको होईन देश , जनता र पार्टीको चिन्ता गर्दिनु होस्’, उनले लेखेकी छन्, ‘यदि पार्टी दुर्घटनामा गयो भने शहीदको रगतले सराप्ने छ , कार्यकर्ताको आँशुले धिकार्ने छ , जनताको मतले प्रश्न गर्नेछ , नेपाली जनतामा निराशा छाउने छ ।